घोराही, १० फागुन । अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश सीले विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने थलोको रुपमा विकास भइरहेको बताएका छन् । मंगलबार घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा भएको अखिल (क्रान्तिकारी) संयुक्त दाङ जिल्ला समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
` विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने थलोको रुपमा विकास भइरहेको छ´, केन्द्रीय अध्यक्ष प्रकाशले भने `क्याम्पस बिगत २०४६ सालदेखि यता निरन्तर रुपमा अहिलेसम्म कम्जोर हुँदै आएको छ । विश्वविद्यालय निकम्मा मानिस उत्पादन गर्ने ठाउँ होईन यो सक्षम, योग्य र दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विकास गरिनु पर्छ । त्यसका लागि हामीले स्ववियुमा भाग लिनुपर्छ ।´
बैठकलाई सम्बोधन गर्न दाङ आएका अध्यक्ष प्रकाश सीले आगामी चैत ५ गते देशभरका टियू र त्यसका सबै आंगिक क्याम्पसहरुमा स्ववियु निर्वाचन हुने बताउदै स्ववियु निर्वाचनका लागि संगठनको संख्या ठूलो वा सानो कुरा होईन्, तर हामी विद्यार्थी माझ के लिएर जाँदै छौँ भन्ने मुख्य कुरा हुने उद्घोष गरे ।
स्ववियु सम्पूर्ण विद्यार्थीको साझा संगठन भएको भन्दै अध्यक्ष प्रकाशले करिब १५ वर्षदेखि टियूहरु स्ववियुविहिन भएको र राज्यले आफ्नै क्याम्पसहरु धराशायी बनाइरहेको उनको भनाइ छ । क्याम्पसलाई कुनै अमुख पार्टीका क्याम्पस प्रमुख बनाउने र क्याम्पसलाई दलिय भागभण्डाको आधार बनाएर विकृती र विसंगति भित्र्याइरहेको हुँदा त्यसको विरुद्धमा आफ्नो संगठन सधैं खबरदारीको रूपमा अगाडि रहेको अध्यक्ष शाहीले स्पष्ट पारे।
संगठन विद्यार्थीका बीचमा जान अप्ठ्यारो मान्नु नहुने र विद्यार्थीका प्रश्नको जवाफ दिन तयार हुनुपर्ने भन्दै अध्यक्ष शाहीले क्याम्पस प्रमुख, व्यवस्थापन र पाठयक्रका यी तीन कुरा उठान गर्न सके क्याम्पसलाई नयाँ ठाउँमा लैजान सकिने विषयलाई मध्यनजर गर्दै स्ववियु निर्वाचन नै वैज्ञानिक शिक्षा प्रणालीका लागि निर्णायक बन्न सक्ने हुँदा अब स्ववियुको नेतृत्व अखिल क्रान्तिकारीले गर्नुपर्ने बताए ।
क्याम्पसमा भएका खराबीको विरुद्ध बोल्ने र विद्यार्थीका समस्यासँग प्रत्यक्ष रुपामा संगठन जोडिनुपर्ने औल्याउँदै स्ववियुको तयारीमा अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरोका इन्चार्ज सविन सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश सी, नेकपा पूर्वी दाङ जिल्लाका सेक्रेटरी जनक सी, जनपत्रकार संगठनका केन्द्रीय सदस्य हेमन्त प्रकाश आतिथ्यता रहेको थियो ।
संगठनका उपाध्यक्ष दीपक सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता तथा संचालन संगठनका अध्यक्ष खुमन सीले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
