• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
थारू कल्याणकारिणी सभा दाङको १७ औं अधिवेशन




दाङ, २२ माघ । थारू कल्याणकारिणी सभा दाङ देउखुरीको १७ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला अध्यक्ष भुवन चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा शनिवार घोराहीमा सम्पन्न भएको हो ।

कार्यक्रममा नगर प्रमुख चौधरीले थारू जाति कला, संस्कृतिमा धनी भएपनि यसको उचित व्यवस्थापन हुन नसक्दा पछि परेको बताए । आफूसँग भएको कला संस्कृतिको जगेर्ना गर्दै सकारात्मक पक्षलाई व्यवस्थापन गर्न सकेमा आर्थिक समृद्धि सम्भव रहेको उनको भनाइ थियो । आदिवासीका रूपमा रहेको थारू समुदायभित्र धेरै सम्भावना हुँदा–हुँदै पनि सामाजिक, आर्थिक र राजनीतिक रूपमा निकै पछि परेको हुँदा अब यसको प्राप्तिका लागि थारू समुदाय एक ठाउँमा उभिन आवश्यक रहेको चर्चा गरे । यसको प्राप्तिका लागि थारू कल्याणकारिणी सभा जस्ता संस्थाले पैरवी गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘थारू समुदायभित्र सबथोक छ तर यसको व्यवस्थापन हुनसकेको छैन, त्यसैले सामाजिक, आर्थिक र राजनीतिक रूपमा पछि परेका छन् । अब यो विषय प्राप्तिका लागि न्यायिक आन्दोलनमा लाग्नुपर्छ । यसको नेतृत्व थारू कल्याणकारिणी सभाजस्ता संस्थाले गर्नुपर्छ ।’

नेपालको संविधानले थारू जातिका हकअधिकारका बारेमा बोले पनि कार्यान्वयन पक्ष कमजोर भएको हुँदा अधिकार प्राप्तिका लागि युवा सशक्तिकरणमा जोड दिन आवश्यक रहेको बताए । ज्ञान, सीप र उद्यमशीलताको माध्यमबाट सशक्तिकरण सम्भव रहेको बताउँदै उनले सामाजिक, आर्थिक र राजनीतिक न्यायका लागि आफू नै अग्रसर हुनुपर्ने बेला आएको जिकिर गरे । ‘थारू समुदायमा हिजोभन्दा आज परिवर्तन भएको छ तर यो पर्याप्त छैन, यसका लागि सचेतना वृद्धिसँगै आत्मनिर्भरको बाटोमा अग्रसर हुनुपर्ने बेला छ’, उनले भने, ‘थारू समुदायको बारेमा अरुले बोलेर हुँदैन, आफै लाग्नुपर्छ । यसका लागि अब जाग्ने बेला भएको छ ।’

यसैगरी स्थानीय सरकारको रूपमा रहेको घोराही उपमहानगरपालिकाले थारू भाषाको उत्थानका लागि शिक्षा क्षेत्रबाट प्रयास थालनी गरेको बताउँदै पाठ्यक्रम निर्माण गरी तल्लो तहबाट लागू गर्ने तयारी गरेको बताए । थारू कल्याणकारिणी सभाले संस्थाको अवस्थाको समीक्षा गर्दै प्रशासनिक अवस्था, राज्यको पुनर्संरचना, २०७२ को संविधानले निर्दिष्ट गरेको व्यवस्थालाई केलाउँदै संगठन निर्माण, जागरण अभियानमा केन्द्रित हुनुपर्ने वक्ताहरूको तर्क थियो । आर्थिक, सामाजिक, सांस्कृतिक, रूपान्तरण र राजनीतिक सचेतना बढाउँदै समुदायमा सदियौँदेखि रहेको बरघर, महटावाँजस्ता सकारात्मक प्रथाको जीवन्तताका लागि पैरवी गरिनुपर्ने आवाज उठाएका छन् ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीको प्रदेश प्रमुख शान्ता चौधरी, राष्ट्रिय थारू कलाकार मञ्चको कार्यक्रम संयोजक श्री चौधरी, जिल्ला सल्लाहकार रामबहादुर दहित, क्षेत्र नं। १ का सभापति प्रकाशकुमार चौधरी, नेवार समाजको सचिव विवेक श्रेष्ठ, थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य यशोदा चौधरी, पूर्व केन्द्रीय सदस्य सौगतवीर चौधरी, पूर्व सांसद गंगा सत्गौवाँ, ग्रामीण महिला उत्थान केन्द्रकि अध्यक्ष आशमानी चौधरी, थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चुुर्णबहादुर चौधरीलगायतले संस्थाले विगतदेखि उठाउँदै आएको मुद्दा सार्थक बनाउन मन वचनले लाग्ने बताए । जिल्ला सदस्य शालिकराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव प्रकाश चौधरी सहसचिव प्रकाश चौधरीले गरेका थिए । संस्थाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व पनि चयन गर्दैछ ।

Facebook Comments