• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ज्ञानसिन्धु माविको बार्षिकोत्सवः संस्कारयुक्त शिक्षामा जोड




राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति डा. वसन्त लामिछानेले हरेक बालबालिकालाई संस्कारयुक्त शिक्षा दिन सके मात्रै देशको उन्नति हुने बताउनुभएको छ ।

ज्ञानसिन्धु मावि घोराहीको १९ औं बार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले यस्तो धारणा राख्नुभएको हो ।

‘यो विद्यालयले संस्कारयुक्त शिक्षालाई जोड दिएको रहेछ, निकै खुशी लाग्यो’– उहाँले भन्नुभयो– ‘हामी अभिभावकले छोराछोरीले प्राप्त गरेको अंक मात्र हेर्छौं तर हाम्रो बच्चाले सबै विषयमा सँधै ए प्लस ल्याए पनि उसँग संस्कार भएन भने केही काम हुँदैन । हामीले हरेक विद्यालयमा संस्कारयुक्त शिक्षामा जोड दिनुपर्छ ।’

अभिभावकले आफ्ना छोराछोरीलाई अर्काका छोराछोरीसँग तुलना गर्नु नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘हामीले आफ्ना छोराछोरीभन्दा अर्काका छोराछोरी राम्रा भनेर तुलना गर्छौं नि, त्यसो नगरौं । हरेक बालबालिकाको स्वभाव र विशेषता फरक फरक हुने भएकाले त्यसलाई नै प्रोत्साहन गर्नुपर्छ । सबै व्यक्ति सबै कुरामा उत्कृष्ट हुँदैन भन्ने कुरामा अभिभावकले ध्यान दिनैपर्छ ।’

विशिष्ट अतिथि नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अनुसन्धान केन्द्रका निर्देशन डा. जर्मन चौधरीले पनि नयाँ पुस्तामा संस्कारलाई आत्मसात गर्ने र संस्कृतिलाई सम्मान गर्ने भावनाको विकास गराउनुपर्ने बताउनुभयो । नेपाल बहुसांस्कृतिक मुलुक भएकाले हरेक संस्कृतिको संरक्षण र सम्मानका लागि नयाँ पुस्तामा सद्भावयुक्त भावनाको विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

विद्यालयका प्राचार्य हुकुमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा अर्का विशिष्ट अतिथि घोराही नगर प्याब्सनका अध्यक्ष वीरेन्द्र चन्दले सरकारको द्वैध नीतिको सामना गर्दै संस्थागत विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो । कार्यक्रममा राप्ती विद्यार्थीको तर्फबाट हेमन्त थापा, ज्योति रोका, प्राप्ति रोकालगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा कक्षा १० सम्मको शैक्षिक प्रगतिबारे कार्यक्रम संयोजक हेमराज पौडेल तथा कक्षा ११ र १२ को शैक्षिक प्रगतिबारे कार्यक्रम संयोजक तिलक अधिकारीले जानकारी गराउनुभएको थियो ।
सो क्रममा नर्सरीदेखि कक्षा १२ सम्मका विभिन्न तहका परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने विद्यालयमा वृहत सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

बार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी खेलकूद, हाजिरीजवाफ, वादविवादलगायतका प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
सहायक प्राचार्य टंक शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन शिक्षक देवराज भण्डारीले गर्नुभएको थियो ।

Facebook Comments