• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने, राष्ट्रपतिको निर्वाचन समयमै गर्न सरकारसँग माग




काठमाडौं, ९ माघ । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । सोमबार विहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले सबै दलको सहयोग लिएर राष्ट्रपतिमा उम्मेदवारी दिन निर्णय गरेको हो ।

नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचन समयमै हुनेगरी आवश्यक कानुनी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

सोमबार बिहान धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी बैठकले ५ वर्षे कार्यकाल पूरा भएको दिन नयाँ राष्ट्रपति पदबहाली हुने गरी राष्ट्रपति निर्वाचनको तयारी गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

संविधान र ऐनमा सो निर्वाचनबारे केही विरोधाभास देखिएकाले त्यसलाई हटाई समयमै राष्ट्रपतिको निर्वाचन हुने गरी आवश्यक तत्परता देखाउन सरकार र निर्वाचन आयोगलाई सचेत गराइएको पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

सहमहामन्त्री पाण्डेले भन्नुभयो, ‘‘राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउनका लागि सम्पूर्ण खालको तागत लगाउने, एकताबद्ध तागत लगाउने आजको बैठकको निचोड यति नै हो । संविधान र ऐनको विषयमा केही विरोधाभास देखिएको छ । मुख्य गरी त संविधानको जे प्रबन्ध छ । संविधानको प्रबन्ध अनुसार राष्ट्रपतिको कार्यकाल ५ वर्ष पुग्दैछ ।’’

बैठकमा पार्टी सभापति देउवाले राष्ट्रपति निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन हुने गरी एकताबद्ध हुन पार्टीका नेताहरूलाई सचेत गराउनु भएको थियो । राष्ट्रपतिमा पार्टीको उम्मेदवारलाई जिताउने गरी पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय पनि बैठकले गरेको सहमहामन्त्री पाण्डेले बताउनु भयो ।

‘‘राष्ट्रपतिको कार्यकाल ५ वर्ष पुग्दै गर्दा त्यो दिन अर्को राष्ट्रपति हामीले पदबहाली गर्न मिल्ने गरी संविधान, कानुन र यसका स्पिरिट अनुसार अर्को राष्ट्रपति त्यो ठाउँमा, त्यो स्थानमा पुर्‍याउने गरी निर्वाचन गर्नुपर्छ भन्ने कुरा हो ।,’’ सहमहामन्त्री पाण्डेले भन्नुभयो, ‘‘फागुन २८ सम्म अर्को राष्ट्रपति तयार भएर पुरानो राष्ट्रपति बिदाइ हुने र नयाँ राष्ट्रपतिलाई बहाली गर्ने अवस्था सृजना गर्नुपर्छ । त्यसका लागि नेपाल सरकार र निर्वाचन आयोगले त्यो तत्परता देखाउनु पर्छ ।’’ नेपाली कांग्रेसले सत्तारुढ नेकपा (माओवादी केन्द्र)को साथ लिएर राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउने रणनीति अख्तियार गरेको छ ।

Facebook Comments