सुगम सरोबर
‘तिम्रै निम्ति बरु यो ज्यान गए गइजाला , तिमीसँग गहिरो माया बस्यो जलजला’
कुनैदिन माओबादी जनयुद्धको रापतापभित्र यस्तै गीतहरु गाउदै जनताको घरदैलोमा पुग्ने एक क्रान्तिकारी योद्धा हुन्, सांसद यमुना रोका मगर। जलजलाको काखमा रहेको रोल्पाको ऐतिहासिक थबाङ गाउँमा जन्मिएकी यमुना दशवर्षे माओबादी जनयुद्धकी एक सांस्कृतिक मोर्चा सम्हाल्दै हाल लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी छन्। कुशल संगठक एवं इमान्दार परिचय बोकेकी सांसद यमुना अचेल जत्ति खुसी देखिन्छन् त्यो भन्दापनि कयौ गुणा पीडाहरु उनिभित्र लुकेका छन्।
राज्यको दमनविरुद्ध यमुनाको बिद्रोह
नेपालको हरेक राजनीतिक परिवर्तनमा बलिदानिपूर्ण इतिहास रचेको रोल्पाको थवाङमा जन्मेकी यमुना सानैदेखि निडर र विद्रोहि स्वभावकी थिइन्।पन्चायतदेखि राज्यसत्ताको विरुद्ध लडिरहेको थवाङलाई २०५२ सालेखि शुरु भएको माओबादीले पनि जनयुद्वको आधार क्षेत्र घोषणा गर्यो। निम्न वर्गिय परिवारमा जन्मियकी यमुनाको गाउँमा पढ्न सक्ने समेत वातावरण थिएन् ।
किलोशेरा– २ लगाएत राज्यले अपनाएको कठोर सैनिक अपरेशनमा थवाङले निकै धनजनको क्षति व्यहोर्यो। गाउँमा सेना प्रहरीहरु प्रवेश गर्दा सिंगो थवाङीहरु गाउँ नै छाडेर जंगलतिर जान्थे। गाउँमा छिरेका सेनाहरुद्वारा कहिले बस्ति नै खरानी हुने गरि आगजनि गरिन्थ्यो, कहिले हलो जोत्दै गरेका किसानहरुलाई गोलि हानेर ढालिन्थ्यो अनि कहिले गोठालो गएका चेलिहरुमाथि सामुहिक बलात्कार हुने गर्थ्यो। आफ्नै गाउँमा पनि ज्वार लगाएत सयौ जनाहरु माओबादीमा भुमिगत भैसकेका थिए।आफ्नै घरमा प्रहरीहरुले बुबाआमालाई दिएका चरम यातनाका कारुणिक दृष्यहरु र सोझा गाउँलेहरुलाई राज्यद्वारा लगाइएको झुठा मुद्धाहरुले यमुनाभित्र पनि विद्रोहको ज्वाला दन्किरहेको थियो।
यमुनासँग पनि दुईवटा विकल्प मात्रै बाँकी थियो, कि सेना प्रहरीमा जागिर खान जानुपर्थ्यो, कि त माओबादी नै बनेर हिड्नु पर्थ्यो। त्यतिन्जेलसम्म रोल्पा रुकुमका युवायुवतीहरु सदरमुकाम समेत आउन सक्ने अवस्था थिएन् । घरमा घासँ दाउरा काट्दै गर्दा माओवादीको आरोपमा राज्यको गोलीले मर्नुभन्दा बरु युद्धमै लडेर मर्छु भन्ने निष्कर्षमा पुगेपछि यमुनाले पनि माओबादीभित्र भूमिगत यात्रा सुरु गरिन् ।
मृत्युलाई पनि जितेका युद्धभित्रका दिनहरु
राज्यसत्ता विरुद्ध बन्दुक बोकेकी यमुनाको भुमिगत जीबन निकै कहालिलाग्दो छ। पार्टीमा आएपछि उनी सांस्कृतिक मोर्चामा आबद्ध भइन्। मादल, बाँसुरी र सारङ्गिहरुको साहरामा रोल्पा रुकुमका बस्तीहरुमा पुग्दै जनताहरुलाई नाचगान मार्फत सचेत र जागरुक बनाउने अभियानमा यमुना पनि लामद्द बनिन्।प्रायः गाउँलेहरुलाई बेलुकिपख भेला गराएर रातभरि सांस्कृतिक कार्यक्रम प्रस्तुतगरी दिउँसोतिर जंगलमै आराम गरिन्थ्यो।
जनसेनाहरुसँग जहिल्यै हतियारहरु हुने गर्थ्यो तर कलाकारहरुसँग आत्मरक्षाको लागि समेत मादल बासुरी बाहेक केहि हुने थिएन् । राज्यको नजर छल्दै जनताहरुलाई नाजगान मार्फत माओबादीप्रति आकर्षित बनाउनु पनि युद्ध लडेको जत्तिकै चुनौतीपूर्ण थियो। कहिले एकमुठ्ठी मकैको भरमा दिन कटाउनुपर्थ्यो, कहिले कयौ दिनहरु अनिद्रामै जंगलतिरै बिताउनुपर्थ्यो। एकदिन राति करिब १० बजेतिर गाउँमा सांस्कृतिक कार्यक्रम चल्दै गर्दा नजिकको प्रहरीचौकीले सुराकी पाएछ। पार्टीको आधार क्षेत्र मानियको गाउँमा यमुना लगायतका कलाकारहरु ढुक्कसंग नाचगानमा थिए।
एक्कासी प्रहरीले सिंगो गाउँलाई घेराबन्दी गरेपछि मात्रै थाहाँ भयो। निशस्त्र रहेका यमुनाहरुलाई घेरा तोड्न अप्ठेरो भैसक्यो । अझ निर्दोष गाउँलेहरुलाई कसरी बचाउने भन्ने जिम्मेवारी पनि उत्तिकै थियो। प्रहरीहरुले चौतर्फी हल्लाखल्ला गर्दै घेरा कस्दै आएपछि कलाकारहरुमध्ये दुर्इचारजना गाउँको खोलातर्फी पुगेर ढुङ्गामुढा पल्टाउन शुरु गरे। प्रहरीहरुले माओबादीहरु त्यहाँ छ भन्दै खोलातिर लागे त्यसपछि गाउँमै रहेका यमुना लगायतका कलाकारहरुले गाउँलेहरुलाई सुरक्षित घरमा पठाउदै आफु पनि उम्कन सफल बने।
व्यवस्था परिवर्तनको सुनौला सपनाहरु बोकेर मुक्तियुद्धमा लागेकी यमुना गाउँबस्तिहरुमा पुग्दा जनताहरुसंग तुरुन्त नजिक बनिहाल्ने स्वभावकी थिइन्। छिट्टै गाउलेहरुको मन जितिहाल्ने क्षमताकी उनलाई कयौ पटक उनै जनताहरुले कहिले गोठमा,कहिले भकारीमा अनि कहिले घास परालभित्र लुकाएर सेना प्रहरीसंग बचाएका छन्। सँगै हिडेका साथिसंगीहरु युद्धमोर्चामा सहादत हुदाँको पीडाहरु अनि तिनै सहिदहरुको खबर परिवारसंग पुगाइ दिँदाका ति कारुणिक क्षणहरुले आज पनि यमुनालाई झस्काइ रहन्छ।
आफ्नै जीवनसाथि सहादत भएको खबर सुन्दा
यमुनासँगै यमुनाका जीवनसाथि बिर रोका मगर (अमित) पनि जनयुद्धमा सहभागी थिए। रोल्पामा जनमुक्ति सेना गठनदेखि नै सैन्य क्षेत्रमा खटेका अमितले थुप्रै लडाईहरुको सफल नेतृत्व गरिसकेका थिए। अत्यन्तै साहस र चतुर स्वभावका अमित सबैका प्रिय कमाण्डर थिए। अमित र यमुना पछिल्लो समय फरक–फरक जिल्लामा खटेका थिए।
जसको कारण भेटघाट निकै कम हुने गर्थ्यो।कहिलेकाही पार्टीकै संयन्त्र मार्फत चिठी आदानप्रदान भएपनि घरमा दुबैजना एकैपटक परिवारलाई भेत्न जाने अवसर भने कहिल्यै मिलेन् । व्याक्तिगत र पारिवारिक इच्छाहरु भन्दा क्रान्तिप्रतिको जिम्मेवारीमा दुबैजनाको साथ,सहयोग र समर्थन निकै बढेको थियो।२०६१ सालतिर यमुना प्युठानमा खटेकी थिइकी थिइन् ।
केही दिनपछि अमित र यमुना रोल्पाको थवाङमा भेट हुने योजना थियो। जसको लागि यमुना रोल्पाकै यात्रामा थिइन् तर बाटोमै एक्कासी यमुनालाई अमितको सहादतको खबर आइपुग्यो।उनी छागाँबाट खसेकी जस्ति भईन्। यमुनालाई विश्वास नै नलागेको त्यो खबर अन्ततः सत्य नै थियो। तत्कालिन जनमुक्ति सेनाक कम्पनी सह–कमाण्डर अमित रोल्पाकै दहवन भाङ्गोबारीमा आन्तरिक दुर्घटनामा परेका थिए। मुलुकमा सुनौला दिनहरु र घरपरिवारमा एकदिन खुसियाली ल्याउने अठोट बोकेका एक कमाण्डर बमसँगै दहवनमा जल्दा सिंगो पार्टी नै स्तब्ध बन्यो। युद्ध यसरी भिषण बन्दै थियो कि यमुनाले जीवनसाथिको अन्तिम दाहसंस्कारमा समेत सहभागी बन्न सकिनिन्। यदि दुर्इजनामध्ये कोहि एक युद्धमा सहिद भएमा विचलित नबनि निरन्तर क्रान्तिमा रहिरहनेछौ भनेर यमुमा र अमितको बीचमा युद्धमैदानमै बाचा भएको थियो।
त्यसकारण पनि यमुनाले कमाण्डर अमितले देखेका सपनाहरु पुरा गर्न आफुभित्र आत्मबल बढाउनै पर्थ्यो। भर्खरै आफ्नो गर्वमा ६ महिनाको सन्तान हुर्कदै थियो तर पनि यमुनाले शोकलाई शक्तिमा रुपान्तरण गर्दै निरन्तर युद्धमोर्चामै सहभागी बनिन्।
शान्तिपछि शहरको यात्रा अनि नेतृत्वको अपहेलना
बन्दुकको भरमा टिकेको राज्यसत्ता बन्दुककै नालबाट ध्वस्त हुन्छ भन्दै ०५२ सालबाट सशस्त्र जनयुद्धको घोषणा गरेको तत्कालीन माओबादीले २०६२/६३ को जन आन्दोलनसंगै पार्टीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गर्यो। वृहत शान्ति सम्झौता अनुसार जनमुक्ति सेनाहरु संयुक्त राष्ट्र संघको निगरानीमा अस्थायी क्याटोमेन्टमा बस्न थाले।
यमुना पनि घरबाटसंगै युद्धमा निस्केका जीवनसाथि गुमाउदै गाउँघरतिर फर्किन्। घर फर्किदा खेतबारीहरुमा रूखहरु उम्रिसकेका थिए । घरहरु भत्किनै आँटेका थिए। युद्धबाट बचेका बाँकी परिवारका सदस्यसहित यमुना कृषि पेशा गर्दै परिवार पाल्न थालिन्। पार्टीको निर्देशन अनुसार जिम्मेवारी सम्हाल्दै गरेका उनलाई गाउँमा बसेर छोरी पढाउन नसक्ने अवस्था सिर्जना भयो। त्यसपछि परिवारको गुजरा केही सहज बनाउने सपनाहरु बोक्दै उनी काठमाण्डौ छिरिन्।
भर्खरै युद्धबाट फर्केकी यमुनालाई काठमाण्डौंले चिन्ने कुरै थिएन। उनी शहर छिरेपछि दिनहरु थप कष्टकर बन्दै गयो। दैनिक ३०० रुपैयाको लागि १० घण्टा मजदुरी गर्दाका अनेक पीडादायी अनुभूतिहरु छन् यमुनासंग। कहिलेकाही काम नचल्दा चिउरा मात्रै खाएर दिन कटाउथिन्, एकसरो कपडा किन्न महिनौ पैसा जम्मा गर्नुपर्थ्यो। घरतिर फोन गर्नको लागि पनि पैसा नभएर लामो समय परिवारसंग टाढिनु पर्दाका नमिठा क्षणहरु सम्झिदा आज पनि यमुनाले गहभरि आशु लिन्छिन्।
उता देशैभरी भने माओबादीको चहपहल बढेको थियो। सात वटा डिभिजनमा जनसेना, २१ डिभिजन बराबर वाइसियलहरु अनि गाउँदेखि शहरसम्म माओबादीकै चर्चाहरु। यमुना जस्ता योद्धाहरुले रोल्पाबाट बचाएर काठमाण्डौं पठाएका माओबादीका नेताहरु पनि कम थिएनन्। कृष्ण बहादुर महरा,पासाङ,अनन्त,विप्लव लगायतका कमाण्डरको नाम खुबै सुनिन्थ्यो त्यो समयमा। यमुनाले एकपटक महरालाई भेटिन् जुनबेला महरा सरकारमा सहभागी थिए।
आफ्नो जीविकोपार्जनको लागि सहज बाटो देखाइदिन आग्रह गर्न पुगेकी यमुनाको महराले निकै मन दु:खाइ दिए।उनले यमुनाको शैक्षिक योग्यता मागे, कामको अनुभवपत्रहरु मागे जो यमुनासंग छदै थिएन। सानै उमेरमा लिदै गरेको शिक्षालाई बुर्जुवा शिक्षा भन्दै तिनै महराहरुले यमुनालाई किताब जलाउन लगाउदै स्कुलबाट पार्टीको सदस्यता दिएका थिए।
तर युद्ध सकिसकेपछि तिनै नेताहरुले शैक्षिक योग्यता खोजेपछि केहि नबोली उनी कोठामा फर्किन्, त्यो रात यमुना निदाउन सकिनिन् महराको व्यवहारले। अनेक दुःखहरु झेल्दै उनले रोल्पाका थुप्रै नेताहरुलाई भेट्न पुगिन् तर कसैले पनि काठमाण्डौंभित्र यमुनाको पीडा बुझिदिएन। आफ्नै जिल्लाका नेताहरुसँग उनले राखेका केहि अपेक्षाहरु नेताको परिवार र नाता आफन्तभित्र मात्रै सिमित रह्यो। त्यसपछि यमुनाले पार्टी नेतृत्वसंगको सम्बन्ध घटाउदै जेनतेन काठमाण्डौंमै मजदुरी गरेर परिवारको गुजरा चलाउन थालिन्।
नेकपा एमाले हुँदै सांसदसम्मको यात्रा
दशवर्षसम्मको जनयुद्धको यात्रा र शान्ति प्रक्रियापछिको पार्टीको अपहेलानाले लगभग यमुनालाई राजनीतिबाट टाढा बनाइसकेको थियो। पहिलो संविधानसभाको निर्वाचनमा मुलुककै ठुलो दल बनेको तत्कालीन माओबादीभित्र धेरै उतारचढाबहरु उत्पन्न भयो। किरण,बाबुराम र विप्लव जस्ता नेताहरुले पार्टी बिभाजन गरे एकपछि अर्को क्षति व्यहोर्दै गरेको माओबादीले अन्तत नेकपा एमालेसँग पार्टी एकता गर्यो। नेकपा एमाले र माओबादीबिचको त्यो एकता पनि लामो समय टिक्न सकेन् ।
त्यसपछि फेरि पार्टी बिभाजनतिर गयो। त्यतिबेला माओबादीका प्रभावशाली नेताहरु राम बहादुर थापा,टोप बहादुर रायमाझी,,लेखराज भट्ट लगायत रोल्पाका नबिन रोकाहरु एमालेमै रहने निर्णय गरे। जुनबेला कयौ शुभचिन्तक र पार्टी संगठनबाट यमुनालाई राजनीतिमा सक्रिय हुन आग्रह भयो। सामान्यतया मजदुरी गरेर जीबन गुजरा गरिरहेकी यमुना पनि रोल्पाको ठुलो माओबादी समुहसहित एमालेमा प्रवेश गरिन्। त्यसपछि उनको सक्रियता निकै बढेर गयो।
रोल्पाको गाउँबस्तिहरुमा पुगेर यमुनाले फेरि राजनीतिमै स्थापित हुने दृढ़ संकल्प बोकिन्। अन्ततः गत प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि यमुनालाई नेकपा यमालेले लुम्बिनी प्रदेशमा समानुपातिक सांसदमा पठाएको छ। सांसद यमुनाले आफ्नो ५ वर्षे कार्यकालमा रोल्पा लगायत सिंगो लुम्बिनी प्रदेशको विकास र समृद्धिको लागि थुप्रै सपनाहरु बोकेकी छन्। थुप्रै त्याग र बलिदानबाट जन्मेकी रोल्पाली सांसद यमुना रोका मगरको अगामी राजनीतिक यात्रा कम चुनौतीपूर्ण भने अवश्य छैन।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।