सल्यान, २० पौस । लघु घरेलु उद्योग, कृषि, पशु, पर्यटन र संस्कृती प्रवद्र्धनका लागि भन्दै सल्यानमा सञ्चालन गरिएको महोत्सव विक्रि भएको आरोप लागेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ सल्यानको आयोजनामा जारी महोत्सव विवादित बन्दै गएको हो । आयोजकले अरु नै व्यक्तिलाई महोत्सव ठेक्कामा दिएर विक्रि गरेको स्थानीयहरुले आरोप लगाएका छन् । आयोजकले समेत स्टल निर्माण, महोत्सवको सामग्री व्यवस्थापन देखी कलाकार सम्मको जिम्मा अरुलाई नै दिइएको स्वीकार गरेको छ । महासंघका जिल्ला उपाध्यक्ष सुमननाथ योगीले भने, ‘सामान देखि कलाकार उपलब्ध गराउने छुट्टै व्यक्ति छन् । उनीहरुले नेपाल अधिराज्यभर कलाकार लैजान्छन् । कलाकारलाई पैसा दिन्छन्,दिन्नन् त्यो हामीलाई थाहा छैन ।’
जिल्लाको कृषि, लघु उत्पादन प्रवद्र्धन र कला संस्कृति संरक्षण भनेर नारा बनाउने तर महोत्सवलाई ठेक्कामा विक्री गरेर लाखौं रकम कमाउने धन्दा जिल्लाको लागि गैर जिम्मेवारीपन भएको उद्योगीहरुको गुनासो छ ।
महोत्सवमा जुवा खेलाइएको, स्थानीय कलाकारहरुलाई वेवास्ता गरिएको, कलाकारलाई थाहा नै नदिएर उनीहरुको नाम प्रचार प्रसार गरिएको पाइएको हो । सल्यान जिल्लामा जन्मीएर, हुर्किएर लोक कला संस्कृतीमा निरन्तर लागिरहेका वरिष्ट लोक दोहोरी गायक तथा बाध्यवादक खर्क बहादुर बुढाको समेत नाम बेचेर आयोजकले कलाकारको अपमान गरेको पाइएको छ । वरिष्ट गायक बुढाले भने, ‘मलाई आजको दिनसम्म कसैले पनि कार्यक्रममा आउनुपर्याे भनेको छैन । आयोजक मध्येका कुनै व्यक्तिले हेलो समेत भनेको छैन । तर मेरो फोटो र नाम प्रचारप्रसार गरेका छन् भन्ने अरु नै व्यक्तिबाट थाहा पाएं । निकै दुःख लागेको छ ।’ पर्चा पम्पलेटमा नाम राख्दा समेत उनलाई जानकारी गराइएको थिएन । देश विदेशमा ख्याती कमाइसकेका सल्यानी गायत भागिरथ चलाउने लगाएत जिल्लाका दर्जनौ कलाकारहरुलाई महोत्सव आयोजकले वेवास्था गरेको हो ।
आयोजक संस्था घरेलु तथा साना उद्योग महासंघ सल्यानका अध्यक्ष तथा बागचौर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम डाँगीले आफेहरुले स्टल निर्माण गर्दा बढी नै खर्च लाग्ने भएकाले अरुलाई जिम्मा दिइएको स्वीकार गरे । कलाकारहरुले पनि आफुहरुसंग धेरै पैसा माग्ने भएकाले उनीहरुलाई ल्याउने जिम्मा पनि अरुलाई नै दिइएको उनले बताए । ‘कलाकारहरुको विषय बुझ्नै सकिएन । यहाँका कलाकार हामीले भन्दा १५ हजार माग्छन्, तर उनीहरुले भन्दा पाँच हजारमै आउदोरहेछन् । त्यसैले यो जिम्मा अरुलाई दिइएको छ । अरु विभिन्न समितीहरु त हाम्रै छ’,उनले भने । तथापी आयोजकले बनाएका समिति जिम्मेवारीविहिन जस्तै छन् । महोत्सवमा जुवा खेलाइएको, कलाकारहरुको नाम प्रचार गरेर नबोलाइएको विषयमा आफुलाई पनि कुरा आएको बताउदै अध्यक्ष डाँगीले यसलाई सच्याउने बताए ।
गाउँबाट आएका सोझा नागरिकहरुलाई विभिन्न खेल खेलाएर हजारौं रकम लुट्ने काम भएको प्रति स्थानीयहरु आक्रोशित देखिएका छन् । सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष कुमार बुढाथोकी पनि सल्यानमा जारि महोत्सव उद्देश्य भन्दा वाहिर गएको र यसको प्रभाव नकारात्मक रहेको बताए । ‘यो महोत्सव ठेक्कामा दिइएको छ । कतिमा ठेक्का दिइयो भन्ने कुरा केही दिनमा आउला । तर जिल्लाको रकम सबै वाहिर जानु, वाहिरका मानिसहरुको नियन्त्रणमा हुनु चिन्ताजनक अवस्था हो । महोत्सवमा जुवा खेलाउनु आपत्तिजनक छ,’ उनले भने । यस विषयमा आफुले स्थानीय प्रशासन, शारदा नगरपालिका लगाएतका सरोकारवालालाई जानकारी गराएर नियन्त्रणका लागि अनुरोध गरेको समेत अध्यक्ष बुढाथोकीले बताए ।
उद्योग वाणिज्य संघको यस अघिको नेतृत्वले सल्यानमा सञ्चालन गरेको महोत्सव पनि विवादित भएको थियो । महोत्सव ठेक्कामा लगाउने प्रचलनलाई रोक्नका लागि आफुहरुले महोत्सव नलगाएको बताए । घरेलु महासंघले उद्योग वाणिज्य संघ संग कुनै पनि समन्वय नगरेर महोत्सवको तयारी गर्नेबेला नै आफुहरुले आपत्ति जनाउदै प्रशासन, स्थानीय सरकार, वडा कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको पनि उनले जानकारी गराए । ‘हामीले ध्यानाकर्षण संगै महोत्सवमा जिल्ला भित्रका व्यवसायीहरुलाई ६५ प्रतिशतस्टल उपलब्ध गराउनुपर्ने, यहाँका उद्योगी, व्यवसायीलाई स्टल भाडामा ५० प्रतिशत छुट हुनुपर्ने माग गरेका थियौँ । त्यो केही पनि आयोजकले पालना गरेन,’ बुढाथोकीले भने ।
सल्यानको श्रीनगरमा जारी महोत्सव यहि पुस २३ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।