होलेरी, १९ पुस । रोल्पाको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनलाई नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपाल र नेकपा (माओवादी केन्द्र)निकट वाइसीएल नेपालले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् । पालिका अध्यक्ष जनक पुनले आफ्नी छोरीको दोस्रो जन्मदर्ता बनाएको भन्दै रुन्टीगढी वाइसीएल नेपालका अध्यक्ष छबिलाल पुन (क्षितिज), राष्ट्रिय युबा संघ नेपाल रुन्टीगढीका अध्यक्ष दिनेश बिक तथा सोही संगठनका केन्द्रीय सदस्य मीन बहादुर महराले मंगलबार संयुक्त ज्ञापनपत्र बुझाएका हुन् ।
रुन्टीगढी वाइसीएल नेपालका अध्यक्ष छबिलाल पुन (क्षितिज), राष्ट्रिय युबा संघ नेपाल रुन्टीगढीका अध्यक्ष दिनेश बिक तथा सोही संगठनका केन्द्रीय सदस्य मीन बहादुर महराले संयुक्त रुपमा हस्ताक्षरित गरेको ज्ञापनपत्रमा भनिएको छ –‘रोल्पाको रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुनले पदीय दुरुपयोग गरी आफ्नी छोरीको दोस्रो जन्मदर्ता बनाएकोमा हाम्रो संगठन उक्त कार्यको घोर निन्दा एवम् भत्सर्ना गर्दछ। आफ्नी छोरीको पहिलो जन्मदर्ता नबनाएको भन्दै वडा कार्यालयमा कार्यरत कर्मचारीलाई झुक्याएर दोस्रो जन्मदर्ता बनाउन लगाउने गाउँपालिका अध्यक्ष पुनलाई हदैसम्मको कारवाहीको माग गर्दछौं । साथै, अनेकौं वेथितिका प्रायः मानिने गाउँपालिका किर्ते अध्यक्ष पुनलाई पदबाट राजीनामा दिन समेत आग्रह गर्दछौं। गाउंपालिकाजस्तो जिम्मेवार व्यक्तिले आफ्नै कर्मचारीलाई गर्न लगाएको किर्ते कामको यथासिघ्र छानविन र तत्कालन कानूनी कारवाहीको अपीलसहित ज्ञापनपत्र प्रस्तुत गरेका छौं।’
अध्यक्ष पुनले छोरी झरना पुनको पहिलो जन्मदर्ता २०६४/०३/२३ बनाइसकेको भएतापनि रुन्टीगढी गाउँपालिका वडा नं ७ का सचिव लाल बहादुर केसीलाई झुक्याएर एउटा जिम्मेवार ब्यक्तिले पदको दुरुपयोग गरि २०६६/०३/२३ को मिति परिवर्तन गरी दोस्रो जन्मदर्ता बनाउनु गैरकानुनी काम गरेको भन्दै युवा संगठनहरुले ज्ञापनपत्र बुझाएका थिए ।
राष्ट्रिय युवा संघ नेपाल र वाइसीएल नेपालले स्थानीय तहमा रहेको विभिन्न बिकृती र बिसंगतीको विरुद्ध सँधै आवाज उठाने, स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउने सवालमा संघर्ष गर्दै आएको छ । सत्य र न्यायको पक्षमा स्थानीय सरकारले काम नगरेको उल्टै आफ्नो पदको दुरुपयोग गरि गैरजिम्मेवार बनेकाले युवा संघ नेपाल र वाइसीएल नेपालले निन्दा व्यक्त गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य मीन बहादुर महराले बताए ।
नियम कानुनमै नभएको कुरालाई गलत सूचना दिएर वडासचिवलाई फसाउने नियत राखी किर्ते काम गर्दैआएका अध्यक्ष जनक पुनलाई तत्कालन कारवाही गर्न सम्बन्धित निकायसँग हार्दिक अनुरोध गरेको अन्यथा, आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको ज्ञापनपत्रमा उल्लेख छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
