घोराही उपमहानगरपालिकाको १२ औं नगरसभा तथा अधिवेशनले केही योजना र ऐनहरु संशोधन गरेको छ । सोमबार बसेको सभाले चालु आर्थिक वर्ष २०७९/८० का केही योजना तथा कार्यक्रम संशोधन गरेको हो ।
वडा तहबाट परिवर्तन गर्नुपर्ने भनी आएका योजना तथा कार्यक्रमहरु संशोधन भएका छन् । कार्यक्रम सञ्चालन हुन नसक्ने भएको र योजना परिवर्तन गर्नुपर्ने भएका त्यस्ता योजनाहरु संशोधन भएका हुन् । त्यसैगरी नगरसभाले घर नक्सा पास तथा अभिलेखीकरण कार्य खुला गर्ने निर्णयलाई पास गरेको छ । घरनक्सालाई व्यवस्थित गर्ने र भूकम्प प्रतिरोधी भवन बनाउन प्रेरित गर्ने गरी अभिलेखीकरण गर्ने भएको हो ।
भवन निर्माणसंहिता अनुसार सबै घरहरुलाई अभिलेख गरी सुरक्षित गराउने उपमहानगरले जनाएको छ । विधि पुगेका, प्राविधिकरुपले योग्य भएका, नक्सा पासमा छुटेका घरहरुलाई प्रक्रिया पु¥याएर नक्सा पास गरिने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । यो प्रक्रियामा दुईदेखि तीन महिना सम्म आवेदन खुला गरेर सबै घरहरुको अभिलेख राखिने भएको छ । त्यसैगरी, नगरको शिक्षा ऐन २०७५ लाई समेत संशोधन गरिएको छ । जस अनुसार शिक्षा, युवा तथा खेलकूद महाशाखाको सट्टा सामाजिक विकास महाशाखा राख्ने, संघ र प्रदेशबाट छनोट भएका बाहेक नगर कार्यपालिकाबाट नमूना विद्यालय छनोट गर्ने, नगरभित्र हरेक वर्ष शिक्षक, कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताहरुको दरबन्दी मिलान नगर शिक्षा समितिले गर्ने भएको छ ।
यसैगरी, समयमा कर नतिरेका व्यवसायीलाई करमा छुट दिएर करको दायरामा ल्याउने निर्णय पनि पारित भएको छ । यसअघि प्रत्येक चालु आर्थिक वर्षको असार मसान्तसम्म कर नबुझाई बक्यौता कायम हुन आएका बक्यौता कायम हुन आएको आर्थिक वर्षबाट थप १० प्रतिशतका दरले विलम्ब जरिवाना जोडी बक्यौता असुल हुँदै आएकोमा आगामी २०८० साल वैशाख मसान्तभित्र तोकिएको कर तिरे जरिवाना पूर्णरुपमा छुट गर्ने गरी सभाले निर्णय पारित गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।