प्रेम क्षेत्री डुब्रिङ, ७ पुस । रोल्पाको रुन्टीगढी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि आफ्नै स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । पालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने उद्देश्यले स्थानीय सरोकारवालाहरुसँग सुझाव संकलन कार्यलाई तीब्रता दिएको छ । सोही क्रममा स्थानीय पाठ्यक्रम निर्माण सुझाव संकलन समितिले बिहीबार पालिकाको ६ नम्बर वडा डुब्रिङमा उक्त कार्य सम्पन्न गरेको हो ।
रुन्टीगढी गाउँपालिका- ६ का वडा अध्यक्ष घनबहादुर घर्तीले शिक्षालाई स्थानीयस्तरका कृषि, उत्पादन र श्रमसँग जोड्नुपर्ने बताए ।उनले विद्यार्थीलाई घोगन्ते शिक्षा होईन अब स्थानीयस्तरका विषयवस्तुको पाठ्यक्रम तयार पारी ब्यबहारिक शिक्षा लागू गर्नुपर्नेमा जोड दिए । रुन्टीगढी गाउँपालिकामा आफ्नो स्थानीय पाठ्यक्रम लागूगर्ने उद्देश्यले स्थानीय सरोकारवालाहरुसँग पालिकाको शिक्षा शाखाले सल्लाह र सुझाव संकलन कार्य अगाडि बढाएको उनको भनाइ छ ।
रुन्टीगढी गाउँपालिकामा कक्षा १-८ काे स्थानीय विषयकाे पाठ्यक्रम निर्माण कार्यका लागि स्थानीय विषयकाे पाठ्यक्रम निर्माण सुझाव संकलन समितिले स्थानीयबासीहरुसँग सल्लाह र सुझाव लिने कार्य जारी राखेको छ ।
रुन्टीगढी गाउँपालिकाकाे वडा नं.६ डुब्रिङका वडा अध्यक्ष घनबहादुर घर्तीकाे अध्यक्षता एवं रुन्टीगढी गाउँपालिका शिक्षा शाखा प्रमुख तथा स्थानीय पाठ्यक्रम निर्माण सुझाव संकलन समितिका संयाेजक अन्जु शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रास तथा स्थानीय पाठ्यक्रम निर्माण सुझाव संकलन समिति सदस्य सचिव घनबहादुर डाँगी, नेपाली कांग्रेस रुन्टीगढी – ६ का वडा सभापति केशर बहादुर बिक,नेकपा एमाले रुन्टीगढी – ६ का वडा अध्यक्ष अर्जुन पुन,नेकपा माओवादी केन्द्र रुन्टीगढी – ६ वडा अध्यक्ष खिमबहादुर घर्ती , वडामा संचालित विद्यालयका विव्यस अध्यक्ष र प्रधानाध्यापक , शिक्षक, राजनीतिक दलका प्रतिनिधि र शिक्षाका सराेकारवालाहरुकाे सहभागिता रहेको थियो ।
सुझाव संकलन समितिका सदस्य तारा बाँठाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण सदस्य महेन्द्र रोकाले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।