• २३ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सभापति देउवालाई संसदीय दलको नेतामा उमेदवारी फिर्ता लिएर परिवर्तनको बहाव खोलिदिन महामन्त्री थापाको आग्रह




काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा उमेदवारी फिर्ता लिएर परिवर्तनको बहाव खोलिदिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

मंगलबार संसदीय दलको नेताका लागि उमेदवारी दर्तापछि थापाले डा. शेखर कोइरालाले आफूलाई समर्थन गर्दै परिवर्तनको चाहनाको सम्बोधन गरेको बताए । देउवाले पनि परिवर्तनको आकांक्षाको सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

“मेरो उमेदवारीको प्रस्ताव गर्नुभएका डा. शेखर कोइराला र समर्थन गर्ने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र मित्र प्रदीप पौडेलप्रति आभार प्रकट गर्दछु,” थापाले भने, “सम्माननीय प्रधानमन्त्री तथा आदरणीय सभापति श्रद्धेय शेरबहादुर देउवाले उमेदवारी दर्ता गराइसक्नुभएको छ । अबको दुई घण्टापछि उमेदवारी फिर्ता लिने समय छ । शान्त मनले मनन गरेर उमेदवारी फिर्ता लिने कुरा नेपाली कांग्रेसको जीवनमा ऐतिहासिक निर्णय हुनेछ ।”

उनले देउवाको प्रस्ताव बसेका नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यका निम्ति उनको समर्थन फिर्ता लिन आग्रह गरे । देउवाको उमेदवारीमा समर्थक बसेका नेता प्रकाशमान सिंह र उपसभापति पूर्णबहादुर खड्कालाई पनि उमेदवारीमा गरेको समर्थन फिर्ता लिँदै परिवर्तनको प्रक्रियामा सहयोगी बन्न थापाले आग्रह गरे ।

महामन्त्री थापाले संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक प्रतिस्पर्धा मात्र नभएको भन्दै सांसदहरूलाई जनमतको सम्मान गर्न आग्रह गरे । उनले पार्टीको नेतृत्वमा को छ, कसको नजिक जाँदा लाभ हुन्छ भन्ने भन्दा सांसदहरूको कर्तव्य आफ्ना मतदाताको आवाज सुन्ने भएको भन्दै मतदानका क्रममा जनभावनाका सम्मान गर्न आह्वान गरे ।

“यो पार्टीको आन्तरिक निर्वाचन होइन, सांसदले पार्टीको सभापतिको होइन, आम मतदाताको आवाजको प्रतिनिधित्व गर्नुपर्छ,” थापाले भने, “त्यो प्रतिनिधित्व भोलिको निर्वाचनमा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । सांसदहरूलाई ब्रह्मलाई सोधेर मतदान गर्न आह्वान गर्दछु ।”

Facebook Comments