जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। प्रहरीका अनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । सोमबार दिउँसो साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो ।
चालक मान बहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो ।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय दशेराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय दशेराबाट करिब ८ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट ४६ किलोमिटर पश्चिम रहेको छ ।
मृतकको नामावली यसप्रकार छ
१. चालक मानबहादुर रावत –भगवतीमाई गाउँपालिका– २ दैलेख
२. अम्मर बहादुर खड्का – भगवतीमाई गाउँपालिका दैलेख
३. सुरेन्द्र केसी– भगवतीमाई –३ दैलेख
४. वीर बहादुर खत्री –छेडागाड नगरपालिका–६ जाजरकोट
५. जयकुमार बुढा– छेडागाड ५ जाजरकोट
६. नैसरा अधिकारी– छेडागाड ५ जाजरकोट
७. राम बहादुर बुढा – छेडागाड ६ जाजरकोट
८. दीपक अधिकारी– छेडागाड ५ जाजरकोट
९. देवीसरा बुढा –छेडागाड ५ जाजरकोट
१०. अम्मर बहादुर अधिकारी–छेडागाड ५ जाजरकोट
११. निशा अधिकारी –छेडागाड जाजरकोट
घाइते छेडागाड – २ का जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । रातोपाटी

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
