जनकपुरधाम, २६ मंसिर । धनुषामा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको खुलेको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको गएराति हत्या भएको हो ।
गम्भीर घाइते अवस्थामा रितालाई श्रीमान् विरेन्द्रले जनकपुरको काव्या अस्पताल पुर्याएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको छ ।

घटना पश्चात प्रहरीले थालेको अनुसन्धानमा श्रीमान विरेन्द्रले नै बञ्चरो प्रहार गरी हत्या गरेको र बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेको खुलेको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यसपछि उनी आफैंले श्रीमतीलाई उपचार गर्न भन्दै अस्पताल पुर्याएका थिए ।
श्रीमान माथि नै शंका लागेर सोधपुछ थालेपछि विरेन्द्रले आफूले नै बञ्चरो प्रहार गरी हत्या गरेको स्वीकार गरेको डिएसपी क्षेत्रीले बताए । हत्यामा प्रयोग भएको बञ्चरो बरामद गरी विरेन्द्रलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
आइतबार राति ११ बजेको समयमा घरमा सुतिरहेकी रितामाथि सुतेकै ओछ्यानमा धारिलो हतियार प्रहार भएको थियो ।
उनका चार र ६ वर्षका दुई छोरा छन् । स्थानीयका अनुसार विरेन्द्रले श्रीमतीलाई कुटपिट तथा यातना दिँदै आएका थिए । तीन महिना अघि विरेन्द्रले बिहेमा पाएको फर्निचरसहितका सामानसहित रितालाई उनको माइत (महोत्तरीको भंगहा नगरपालिका ९ अजगेबा) पुर्याएका थिए । ससुराली पक्षकाले स्थानीयले भने उनीहरुलाई फर्काएका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
