• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये ६ मन्त्रालय र संसद भवन एकै थलोमा स्थापना हुँदै




भालुवाङ, २५ मंसिर । लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये ६ वटा मन्त्रालय र संसद भवन एकै परिसरभित्र धमाधम स्थापना हुँदै छन् । संसद भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मुख्यमन्त्री कार्यालय स्थापना गरिएको छ । साविकको राप्ती प्राविधिक शिक्षालय भित्रै संसद भवन, मुख्यमन्त्री कार्यालय सहित ६ वटा मन्त्रालय रहनेछन् । बाँकी मन्त्रालयलाई परिसर बाहिर व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

राजधानी कार्यान्वयन प्रक्रिया तीब्र गति हुँदा मन्त्रालयको व्यवस्थापनको काम समेत धमाधम भइरहेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए । साविकको शिक्षालय परिसर भित्र प्रदेशसभा भवन पनि छ । जहाँ प्रदेशका ८७ जना प्रदेशसभा सदस्यले बैठकमा भाग लिनेछन् । अहिले प्रदेशसभा भवनको तयारी अन्तिम चरणमा छ । दोस्रो कार्यकालको पहिलो बैठक यहीं राख्ने योजना सरकारको छ ।

यस्तै साविक राप्ती प्राविधिक शिक्षालयले प्रयोग गरेका संरचना मर्मत गरेर मन्त्रालयहरु स्थापना गर्ने तयारी अघि बढेको छ । जसअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय व्यवस्थापन गर्ने काम सकिएको छ भने बाँकी आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय एकै परिसरभित्र स्थापना गर्न अहिले भवन मर्मतको काम चलिरहेको हो । बाँकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि भवन स्टिमेट गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले जानकारी दिए । राजधानीसँग जोडिएका पूर्वाधार तयार पार्ने काम भइरहेको छ ।

‘हामीलाई प्राप्त भएको जिम्मेवारी अनुसार मुख्यमन्त्री कार्यालय तयार भइसक्यो । तालिम हललाई मुख्यमन्त्री कार्यालय, हेल्थ डिपार्टमेन्ट भवनलाई आर्थिक मामिला तथा सहकारी मन्त्रालय, साइन्स ल्यावलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय बनाइएको छ । नेपाल सरकार मातहतमा रहेको राप्ती प्राविधिक शिक्षालय प्रदेश सरकारको स्वामित्वमा आएको छ । शिक्षालयलाई गोवरडिहा स्थित सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ ।

पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रालय यसअघि नै यहाँ स्थापना भइसकेको छ । स्वास्थ्य मन्त्रालय राप्ती गाउँपालिका–५ सिसहनियामा छ। यो परिसरभन्दा बाहिर रहेको मन्त्रालयमा स्वास्थ्य मन्त्रालय पर्छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकूद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको लागि पूर्वाधार आवश्यक छ ।

Facebook Comments