• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टेलिकमले देशभरका कार्यालयबाट इ-सिम दिँदै




नेपाल टेलिकमले यही मंसिर ८ गतेदेखि देशका सबै दूरसञ्चार कार्यालयबाट इ–सिम वितरण गरिरहेको जनाएको छ।

कम्पनीले इ–सिम २०७९ भदौ ३१ गतेदेखि काठमाडौंको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट वितरण सुरू गरेको थियो।

हालका लागि पहिलेदेखि नै कम्पनीका सिमकार्ड प्रयोग गरिरहेका पुराना प्रिपेड तथा पोस्टपेडका ग्राहकले सिम परिवर्तन गर्न चाहेमा कम्पनीले निःशुल्क इ–सिम उपलब्ध गराइरहेको छ।

मोबाइल सेटमा इ–सिम इन्स्टल गर्न क्युआर कोडमार्फत स्क्यान गर्नुपर्छ। क्युआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र इ–सिम प्रयोग गर्न सकिन्छ। त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा इ–सिम चल्ने/नचल्ने यकिन गरेर मात्र इ–सिमका लागि ग्राहक सेवा केन्द्रमा जान कम्पनीले अनुरोध गरेको छ।

यसका लागि आफ्नो मोबाइलबाट *#06# डायल गर्नुपर्छ। यसरी डायल गर्दा EID लेखिएको संकेतसहित नम्बरहरू देखियो भने उक्त सेटमा इ–सिम चल्छ भनी थाहा पाउन सकिन्छ।

त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि इ–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ।

आइफोन वा एन्ड्रोइडको सेटिङमा ‘Add Mobile Plan’ वा ‘Add Data Plan’ भन्ने अप्सन देखियो भने पनि त्यसमा सामान्यतः इ–सिम चल्छ भन्ने कुरा थाहा हुन्छ।

सिमकार्ड प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र प्रिपेड ग्राहकले निःशुल्क इ–सिम लिन सक्ने छन् भने नयाँ पोस्टपेड सेवा लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ–सिम उपलब्ध गराइने कम्पनीले जनाएको छ।

इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिन आवश्यक फारम भरेर बुझाउनु पर्छ।

इ–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। इ–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन। यसबाट फोन गर्ने र डाटा चलाउने लगायत फिजिकल सिमबाट सम्पन्न गरिने सम्पूर्ण कार्य गर्न सकिने कम्पनीले जनाएको छ।

मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस (Wearable Device) हरूमा समेत प्रयोग गर्न सकिन्छ।

 

Facebook Comments