• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङको विकासमा मिलेर काम गर्ने नवनिर्वाचित सांसदहरुको प्रतिबद्धता




दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सांसदहरुले जनअपेक्षा अनुरुप विकास निर्माणका काममा सबैसँग हातेमालो गरेर जाने वताउनुभएको छ । दाङको विकास र समृद्धिमा सबैले मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँहरुले यस्तो वताउनुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिवार निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै दाङ क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले जनताका आसा अपेक्षा र भरोसाले गहिरो जिम्मेवारीबोध भएको वताउँदै संसदभित्र कानुन निर्माण र दाङको विकास तथा समृद्धिका लागि अहोरात्र खटेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नवनिर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालको जनगुनासो आउन नदिने गरि काम गर्ने प्रतिवद्धता थियो । त्यस्तै अर्का नवनिर्वाचित प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपानेले प्रदेशको औचित्यमाथि प्रश्न उठाउन थालिएको भन्दै प्रदेशको आवश्यकता पुष्टि गर्ने गरि काम गर्ने आफूहरुको दायित्वबोध गरेको वताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिस कृपासुर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका अर्थमन्त्री कृष्णध्वज खड्काले संविधानको मर्म र जनादेश अनुरुप सबै राजनीतिक दलहरु एकअर्कासँग सहकार्य र समन्वय गरेर बढ्नुपर्ने राजनीतिक परिवेश निर्माण भएको वताउनुभयो । उहाँले संघीयता कार्यान्वयनका सन्दर्भमा कानुन निर्माणमा ढिलाई हुँदा प्रदेश सरकारले जनअपेक्षा अनुरुप कार्यसम्पादनमा गति लिन नसकेको वताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले समग्र दाङको विकासमा सबैले मिलेर काम गर्न आवश्यक रहेको धारणा राख्नुभयो । त्यस्तै घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले तिनै तहका सरकारको सहकार्यले दाङको विकासलाई अग्रगति दिनसकिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम समापन गर्नुअघि मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिस कृपासुर कार्कीले जनचाहना बमोजिम काम गर्न नवनिर्वाचित सांसदहरुलाई सुझाव दिनुभएको थियो । कार्यक्रमको सहजीकरण सहायक निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीले गर्नुभएको थियो ।

Facebook Comments