• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टि२० विश्वकपको उपाधि इंग्ल्यान्डलाई




इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको छ । इंग्ल्यान्डले दोस्रो पटक टि२० विश्वकप उपाधि जितेको हो । सन् २०१० पछि इंग्ल्यान्डले दोस्रो पटक टि२० विश्वकप उपाधि जितेको हो ।

जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा बेन स्टोक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनमा अविजित रहे ।

तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरको अन्तिम बलमा ओपनर एलेक्स हेल्सलाई एक रनमा बोल्ड गरे । अर्का तीव्र गतिका बलर हरिस रौफको बलमा फिलिप साल्ट १० रनमा इफ्तिखार अहमदबाट मिड विकेटमा क्याच आउट भए ।

हरिस रौफको छैटौं ओभरको तेस्रो बलमा जस बटलर एज लागेर मोहम्मद रिजवानबाट २६ रनमा क्याच आउट भए । बटलरले १७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । मोईन अली १२ बलमा ३ चौकासहित १९ रनमा मोहम्मद वासिम जुनियरको बलमा बोल्ड आउट भए ।

चौथो विकेटका लागि ह्यारी ब्रुक र बेन स्टोक्सले ४२ बलमा ३९ रनको साझेदारी गरे । स्पिनर शादब खानको बलमा ब्रुक २० रनमा आउट भए । ब्रुकको क्याच शाहिन शाह अफ्रिदीले लङअनमा लिएका थिए । अफ्रिदी उक्त क्याच लिनेक्रममा १३ औं ओभरको तेस्रो बलमा घाइते भएका थिए ।

पाकिस्तानका हरिस रौफले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदीले २।१ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । शादब खानले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो । पाकिस्तानका शान मसुदले २८ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । शादब खानले १४ बलमा २ चौकासहित २० रन जोडे ।

ओपनर तथा विकेटकिपर मोहम्मद रिजवान पाँचौं ओभरको दोस्रो बलमा १५ रनमा बोल्ड भए । युवा तीव्र गतिका बलर साम करनको बलमा ब्याटमा एज लागेर रिजवान बोल्ड हुन पुगेका थिए ।

युवा ब्याटर मोहम्मद हरिस आठौं ओभरको पहिलो बलमा लङअनमा बेन स्टोक्सबाट ८ रनमा क्याच भए । उनी स्पिनर आदिल राशिदको बलमा ठूला सटको चक्करमा आउट भएका थिए ।

कप्तान बाबर आजम स्पिनर आदिल राशिदको १२ औं ओभरको पहिलो बलमा उत्कृष्ट कट एण्ड बोल्ड आउट हुन पुगे । बाबरले २८ बलमा २ चौकासहित ३२ रनमा आउट भए । १२ औं ओभरमा आदिलले विकेट मेडन राखेका थिए । इफ्तिखार अहमद बेन स्टोक्सको बलमा शून्यमा क्याच आउट भए ।

मोहम्मद नवाज ५, मोहम्मद वासिम जुनियर ४ र शाहिन शाह अफ्रिदीले ५ रन बनाए । पाकिस्तानले अन्तिम ५ ओभरमा भने राम्रो ब्याटिङ गर्न सकेन । पाकिस्तान एक समय १५ ओभरमा १०६(४ को अवस्थामा थियो । बाँकी ३० बलमा ३१ रन जोड्दै ४ विकेट गुमाएपछि प्रतिस्पर्धात्मक योगफलबाट चुकेको हो ।

इंग्ल्यान्डका साम करनले ४ ओभरमा मात्रै १२ रन खर्चेर ३ विकेट लिए । स्पिनर आदिल राशिदले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चेर २ विकेट लिए । बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । क्रिस जोर्डनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

Facebook Comments