• १६ मंसिर २०७९, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सम्पादकीय: नेपालमा चाडपर्वसम्बन्धी दार्शनिक मान्यता




पाश्चात्य दर्शनमा चेतना (आत्मा) र पदार्थलाई हेर्ने विपरित दृष्टिकोण छन् । युरोपमा चर्चलाई मान्ने अगष्टिन जस्ता विचारकहरूले यो संसार मूलतः पापमय भएको र ईश्वरको अनुग्रहले मात्र पापबाट उद्धार तथा स्वर्ग मिल्ने प्रचार गरे तर कार्ल माक्र्सले चर्चद्वारा संरक्षित एवम् प्रवर्धित ‘रिलिजन’ लाई लागुपदार्थ अफिमसँग तुलना गरे र पदार्थवादी वा भौतिकवादी विश्व दृष्टिकोणबाट जीवन र जगत्को व्याख्या गरे ।

यसलाई पाश्चात्य दर्शनमा द्विधा विभाजन दृष्टिकोण भन्ने गरिन्छ । तर, पूर्वीय दर्शनमा यस्तो बहस छैन । वैदिक परम्परामा चेतना र पदार्थ दुइटैको संयोग भएपछि मात्र सृष्टि प्रारम्भ हुने मानिएकाले त्यस्तो द्विधा विभाजन मानिँदैन ।

अगस्टिन र मार्क्सभन्दा धेरै शताब्दी पहिलेका दार्शनिक ऋषि कपिलले चेतना र पदार्थको संयोजनलाई सृष्टिको कारण मान्ने साङ्ख्य दर्शनको सूत्र ग्रन्थ लेखेको पाइन्छ । साङ्ख्य दर्शन एवम् योसँग मिल्दो विश्व दृष्टिकोण हुने योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त दर्शनले ज्ञान, भक्ति र कर्मको समन्वयमा जोड दिन्छन् । यसरी हेर्दा ज्ञान र कर्म भौतिकवादी पहलु हुन् भने भक्ति आध्यात्मवादसँग जोडिएको छ ।

विश्व दृष्टिकोण जन्मजात विशेषता होइन । यो त सामाजिकीकरण, संस्कृतीकरण, शिक्षा, जीवनभोगाइ आदिबाट सिकिने र ग्रहण गरिने धारणा हो । कुनै व्यक्तिमा निहित विश्व दृष्टिकोणको निर्माणमा अनेकौँ तत्वहरूले प्रभाव पार्छन् । घरमा शैशवकालदेखि नै देखिएका, भोगिएका, अनुभूति गरिएका आचारविचारको विश्व दृष्टिकोण निर्माणमा महत्वपूर्ण भूमिका हुन्छ ।

सामाजिक मूल्य मान्यता, नैतिकतासम्बन्धी अवधारणा, धार्मिक आस्था, दर्शन, वैज्ञानिक वा अवैज्ञानिक व्यवहार, सामाजिकीकरण आदिले विश्व दृष्टिकोणमा प्रभाव पार्छन् । कुनै पनि व्यक्तिको शिक्षा कस्तो किसिमको छ त्यसले पनि यसमा फरक पर्छ । स्वसंस्कृतीकरण वा परसंस्कृतीकरणले कुनै पनि व्यक्तिमा विश्व दृष्टिकोण कस्तो बन्छ भन्नेमा प्रभाव पार्छ ।

अहिले धर्मनिरपेक्ष मुलुक भएर मात्रै होइन, नेपालमा दार्शनिक कोणबाट हेर्दा पनि पनि सामाजिक संस्कृति समष्टि प्रधान रहेको छ भने आध्यात्मिक प्रयोजनमा यो सदैव वैयक्तिकता प्रधान रहेको छ । सामाजिक व्यवहारमा समाजलाई प्राथमिकता दिने र आध्यात्मिक व्यवहारमा व्यक्तिलाई प्राथमिकता दिने गरिएको छ । एक जनाको कारणले सारा समाजलाई हानि पुग्छ वा फाइदा पनि हुन्छ; किनकि समाजका सदस्यका रूपमा हरेक व्यक्ति व्यक्ति अन्तरनिर्भर र सम्बद्ध छन् । आध्यात्मिक प्रयोजनमा यस्तो हुँदैन ।

प्रत्येक जीवात्मा मोक्ष वा पतनका लागि आफूमात्र जिम्मेवार हुन्छ । परलोकमा आमा बुबा श्रीमान श्रीमती पुत्र वा हितैषी मित्रजनहरू कोही पनि साथमा हुँदैनन्, केवल धर्म मात्र साथमा हुन्छ । त्यसैले आध्यात्मिक सन्दर्भमा व्यक्तिलाई पूर्ण वैयक्तिक स्वतन्त्रता दिइएको हो ।

यो पूर्वीय दार्शनिक मान्यताका कडीबाट हेर्दा तपाइँले कुन चाड कसरी मनाउनुभयो ? दशैं टीका लगाउनुभयो कि लगाउनुभएन वा दक्षिणा कति र कसरी दिनुभयो ? यो नेपालमा सार्वजनिक बहसको बिषय होइन, बरु नितान्त व्यक्तिगत स्वतन्त्रताको सवाल हो । नेपालमा चाडपर्वलाई धर्मभन्दा बढी संस्कृतिको कोणबाट मनाउने प्रचलन बढेको छ । दशैं तिहारजस्ता सतनान परम्परासँग जोडिएका चाडपर्व नेपालमा हिन्दुका मात्र होइनन्, आम नेपालीका बन्न थालेका छन् । यसभित्र गहिरो दार्शनिक मान्यता रहेको छ ।

Facebook Comments