• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मगर अगुवा भन्छन्– जातजातिको समान अस्तित्व आजको आवश्यकता (भिडियोसहित)




मगर समुदायका अगुवाहरुले नेपालका सबै जातजातिबीचको समान अस्तित्व कायम गर्नु आजको मुख्य आवश्यकता भएका बताएका छन् । हिजो इतिहासको कालखण्डमा लामो समय शासन गर्ने अवसर पाएका शासक जातिले अन्य जातिमा भेदभाव गर्दा आज डरलाग्दो जातीय असमानताको खाडल रहेको भए पनि अब त्यसको बदलाभावले होइन सबै जातजातिबीच एक भएर अघि बढ्नुपर्ने उनीहरुले बताए ।

नेपाल मगर संघ दाङको ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै संघका बरिष्ठ उपाध्यक्ष एवं रोल्पाको सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन मगरले जनजातिकै कतिपय वृत्तबाट साम्रदायिक भड्काउने खालका अभिव्यक्ति आउने गरेको भन्दै त्यसलाई चिरेर जानुपर्ने बताउनुभयो ।

‘कतिपयले जनजातिहरु बाहुन क्षेत्रीसँग लड्नुपर्छ भन्नेजस्ता अत्यन्त साम्रदायिक अभिव्यक्ति दिने गरेका छन्’– उहाँले भन्नुभयो– ‘हामी जातजातिसँग इतिहासको बदला लिने होइन, सबैसँग सहअस्तित्व कायम गर्दै समान प्रतिष्पर्धाका लागि तयार हुनुपर्छ ।’

एउटा बिशेष परिस्थितिले पछाडि पारिएका समुदायलाई अगाडि ल्याउन नेपालमा समावेशी, समानुपातिक प्रतिनिधित्वको ब्यवस्था गरिएको भए पनि लामो समयसम्म समानुपातिकमा भरपर्दा खुला प्रतिष्पर्धामा पछाडि पर्ने खतरा बढ्ने उहाँले बताउनुभयो । ‘समानुपातिकमा पर्छु भनेर खुला प्रतिष्पर्धा नगर्ने, आरक्षणमा पर्छु भनेर अध्ययन कम गर्नेजस्ता खतरा बढ्ने संभावना छ, यसप्रति मगर समुुदाय सचेत हुनुपर्छ’– उहाँले भन्नुभयो– ‘हरेक मगरहरु खुला प्रतिष्पर्धाका लागि तयार हुनुपर्छ ।’

संघका अर्का उपाध्यक्ष दरजीत रोका मगरले पनि मगरहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिंदै साम्प्रदायिक होइन प्रतिष्पर्धीढंगले अघि बढ्नुपर्ने धारणा राख्नुभयो । १२ औं महाधिवेशनबाट आएको मगर संघको नयाँ केन्द्रीय समितिले सबै जातजातिबीच समानता कायम गर्दै मगरहरुलाई एकताबद्धता र प्रतिष्पर्धी बनाउने बताउनुभयो ।

दाङ बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरले सबै जातजातिको सहअत्तित्व कायम गरेर अघि बढ्न मगर अगुवाहरुलाई आग्रह गर्नुभयो । ‘हामीले आफ्नो अधिकारको कुरा गरिरहँदा अरु जातिका विरुद्ध विद्वैष फैलाउने काम गर्नुहुँदैन’— उहाँले भन्नुभयो– ‘हिजो इतिहासको कालखण्डमा शासक जातिबाट भएको विभेदको अब बदला लिने होइन, उत्पीडनमा परेका जातजातिहरुले आफूलाई विकसित गरेर सबैसँग प्रतिष्पर्धा गर्ने वातावरण बनाउनुपर्छ ।’

मगर समुदायका अगुवाहरु शारदा पुन मगर, बलभद्र कुसारी मगर, लमाकान्त कँवर मगर, सतबहादुर रोका मगर, इराधा झाँक्री मगरलगायतले स्थानीय तहमा निर्वाचित मगर जनप्रतिनिधिहरुलाई आफ्नो पालिका वा वडामा मगर भाषा, संस्कृति संरक्षणका लागि बिशेष कार्यक्रम ल्याउन आग्रह गरे । मगर समुदायको सघन वस्ती रहेको गाउँमा मगर भाषाको पठनपाठन सुरु गर्न पनि उनीहरुले सुझाए ।

Facebook Comments