• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सम्पादकीयः संविधान दिवसको शुभकामना




नेपाली इतिहासमा पहिलोपटक संविधानसभाबाट संविधान जारी भएको आज सात बर्ष पूरा भएको छ । यो केवल मसीले कागजमा लेखिएको संविधान मात्र होइन, यो त नेपाली जनताको रगत, पसिना र आँसुको मूल्य जाडेर बनेको दस्तावेज हो । सयौं बर्षदेखि दोस्रो दर्जाका नागरिकको रुपमा बाँच्न विवश महिला, दलित, जनजाति, मधेशी, पिछडिएका क्षेत्रसहित तमाम् जाति, भाषा र संस्कृतिलाई राष्ट्रिय मूलधारमा ल्याउँदै समानताको महासमगरमा यात्रा गर्ने एउटा प्रारम्भिक विन्दु हो यो संविधान ।

२००७ सालदेखि आजसम्मका तमात् आन्दोलनमा ज्यान गुमाउने ज्ञात अज्ञात सपुतहरु र त्यसमा पनि गणतन्त्र स्थापना लागि भएको दश बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका महान् सहिदहरु यो परिवर्तनका पहिलो हिस्सेदार हुन् । संविधान दिवसको अवसरमा सम्पूर्ण सहिदहरुप्रति उच्च श्रद्धासुमन व्यक्त गरौं ।

यो संविधानले राजनीतिक परिवर्तनको बिशाल ढोका खोलेको छ तर संविधान कार्यान्वायनको सात बर्षे यात्रामा केही प्रश्न जरुर उठेका छन् । यो संविधानले सुनिश्चित गरेको राजनीतिक परिवर्तनको किरण अझै पनि सबै नेपाली जनताको घरघरसम्म पुगिसकेको छैन । यो बीचमा नेपाली राजनीति केही पहुँचवालाहरुको वरिपरि मात्रै घुमिरह्यो । जसले गर्दा केही दल र केही थान नेताहरुले मात्रै राजनीतिक परिवर्तनको अनुभूति गर्न पाए ।

यो महान् परिवर्तनका लागि जुन वर्गले आफ्नो आँसु पसिना मात्र होइन, सर्वोत्तम छोराछोरीको समेत बलिदान गर्यो, त्यो वर्ग अझै परिवर्तनको पारिलो घामबाट वञ्चित छ । हुँदाहुँदा कतिपय सवालमा हिजोका यथास्थितिवादी र प्रतिगामी तप्काबाट परिवर्तनका लागि अगुवाई र बलिदान गर्ने वर्गमाथि खिसिट्यूरी गर्ने जुन प्रकारको बिडम्बनापूर्ण अवस्था बेलाबेलामा देखिने गर्दछ, यो गौरवशाली इतिहासमाथिको भद्दा मजाक मात्रै हो ।

राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै यसको उपलब्धिलाई जनताको घरघरसम्म पुर्याउनु र यसबीचमा देखिएका राजनीतिक विकृतिमाथि खरो प्रहार गर्दै रुपान्तरणका लागि बाध्य पार्नु आजको प्रमुख सवाल हो । राजनीति गर्नेहरु या सच्चिएर जनताको बलिदानबाट बनेको संविधान कार्यान्वयनका लागि प्रतिबद्ध हुनुपर्छ होइन भने नयाँ पुस्ता वा विचारलाई संविधान कार्यान्वयनका लागि ठाउँ खाली गरिदिनुपर्छ ।

संविधानले हामीलाई अगाडि बढ्नका लागि जतिसुकै ठाउँ पनि खुला छाडिदिएको छ तर पछि फर्कने छूट दिएको छैन किनकि हजारौं सहिदको रगतले पछि फर्कने ढोका सम्पूर्णरुपमा बन्द गरिदिएको छ ।

आउनुस्, संविधानको सही कार्यान्वय, यसबाट जनताको जीवनमा परिवर्तन, यसबाट संभव नभए थप राजनीतिक आन्दोलनका जुनसुकै बाटो पनि प्रयोग गरेर थप अग्रगामी यात्रामा अघि बढ्ने प्रण गरौं । पछाडि फर्कने वा यथास्थितिमा रमाउनेका विरुद्ध जो जहाँ छौं, सशक्त ढंगले आवाज उठाऔं ।

संविधानका उपलब्धि जनताको घरघरमा पुर्याऔं र राजनीतिक विकृतिका विरुद्ध आफ्नो अर्को नभनेर सशक्त खबरदारी गरौं, संविधान दिवसको अवसरमा हार्दिक शुभकामना ।

Facebook Comments