• १२ आश्विन २०७९, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
त्याग, सर्मपण र इमान्दारिताको प्रतिक बन्दै ‘लाल जोडी’




दाङ। आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र निर्वाचन क्षेत्र समन्वय समिति दाङ क्षेत्र नं २ (ख)  को बैठक बस्यो। बैठकमा सहभागि हुनका लागि निर्वाचन क्षेत्र समन्वय समितिका सदस्यहरु तथा नेताहरुलाई बोलाउने जिम्मा लिए अजयदीप शर्माले। पार्टीका लुम्बिनी प्रदेश समिति सदस्य एवं निर्वाचन क्षेत्र समन्वय समितिका इञ्चार्ज रहेका शर्माले बोलाएको बैठकमा नेता तथा सदस्यहरु सहभागि भए।

बैठकको एउटा मात्र एजेण्डा थियो मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेश सभामा उम्मेदवार सिफारिस गर्ने। बैठकमा इञ्चार्जको हैसियतमा शर्माले आंकाक्षी उम्मेदवारहरुको नाम प्रस्तुत गरे। बैठकमा सबैले आ–आफना धारणा राख्न थाले। धेरैले उम्मेदवार बन्ने इच्छा पनि व्यक्त गरे। बैठकमा सहभागि धेरैको अनुमान थियो। प्रदेश सभा सदस्यका लागि शर्माले पनि आफनो इच्छा व्यक्त गर्ने छन् र पार्टीकै प्रदेश कमिटी सदस्य रहेकी उनकी श्रीमति सुशीला शर्माले पनि सिफारिसमा पर्ने चाहना व्यक्त गर्ने छन्। तर, शर्माले बैठकमा आफू र आफ्नो श्रीमती उम्मेदवार नबन्ने र कमिटिले निर्णय गरेर टिकट दिएको जो सुकै उम्मेदवार भएपनि दृढताका साथ विजयी गराउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे।ajay-sushila

उक्त निर्वाचन क्षेत्रमा माओवादी भित्रका सिनियर लिडर हुन अजयदीप र सुशीला। तर, यसपटक उनीहरु दुबैले जन प्रतिनिधिका लागि चासो देखाएनन्। ‘अहिले पार्टी भित्र टिकटका लागि हानथाप छ तर,हामी साथीहरुलाई सहयोग गर्छौं, उम्मेदवार नबन्ने निधो गरेका छौं,’ शर्माले भने– ‘आन्दोलनमा कुनै चिज प्राप्तीका लागि लागिएको थिएन,हिजो आन्दोलनमा सामुहिकताको भाव थियो तर अहिले मान्छेहरु पदलोलुप र व्यक्ति केन्द्रित भएका छन्।’ आफूहरु अहिलेको फोहरी राजनीतिक संस्कार र सिस्टमसँग त्यति धेरै सन्तुष्ट हुन नसकेको शर्माले बताए। २०५४ सालमा विद्यार्थी संगठनमा क्याम्पस इकाई हुँदै जिल्ला समितिमा काम गरेका शर्मा २०५६ सालको शुरु तिरै भूमिगत भएका थिए। भूमिगत हुँदा उनले सञ्चार, सेना, सेना भित्रको कलाकार, पार्टी संगठन र प्रवासमा रहेर काम गरे।

प्रवासमा रहँदा उनले पार्टीका प्रचार सामाग्रीहरुको प्रचार पम्पलेट छापेर आधार इलाका रोल्पा रुकुम पुर्‍याउने काम गर्थे।उनले जनयुद्धको क्रममा हाम्रो आव्ह्वान नाम हस्तलिखित पत्रिका समेत निकाले।‘म आन्दोलनमा निरन्तर इमान्दारीपूर्वक लागिरहेको छु, अझैं पार्टीमा निरन्तर रुपमा काम गरिरहने मेरो सोँच रहेकोछ,’ शर्माले भने– ‘वर्गसंघर्षका वेला हामी आन्दोलनमा फिट आएका थियौं, अहिलेको टिकडमवाजी, चाकडी, चाप्लुसी र पैसाको खोलो बगाउने राजनीतिमा हामी त्यति धेरै फिट भएनौ कि भन्ने लाग्छ।’

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका शर्माले २०६४ साल देखिका हरेक निर्वाचनमा दाङमा प्रचारको नेतृत्व गर्दै आएका छन्। यात्राका क्रममा ‘खोलो तरेर लौरो’ विर्से जस्तै जब,जब पार्टी होस या प्रचारको काम आउँछ तब शर्मालाई जिम्मेवारी दिइन्छ। जब ती कामहरु पूरा हुन्छन अथवा निर्वाचन सकिन्छ तब शर्मा पाँच बर्ष सम्म ओझेलमा जस्तै पर्छन्। ‘म खासै आफनो प्रचार र अवसर खोज्दै हिड्ने मान्छे होइन, मलाई पार्टीमा कोही, कसैप्रति कुनै गुनासो छैन,’ उनले भने– ‘माक्र्सवादको क्लासबाट हुर्किएको म अहिले बुद्धको दर्शनबाट पनि प्रभावित छु, माक्र्सवाद र बुद्धको दर्शननै अब मेरो जीवनको जिउने सबै भन्दा उत्तम कला हो।’ शर्मा आन्दोलनमा उतारचढाव हुँदा कहिल्यै पनि बिचलित भएनन्।

उनकी श्रीमति सुशीला शर्मा पनि २०५८ सालमा माओवादीमा लागेर भूमिगत भइन्। त्यहीँ साल उनी सुरक्षाकर्मीबाट पक्राउ परिन्। हिरासतमा चरम यातना भोगेकी शर्माले करिब एक वर्ष जेल जीवन विताउनु पर्‍‍‍यो। जनयुद्धकै कारण उनका दाई विकास शर्मा २०५६ सालमा सुरक्षाकर्मीबाट वेपत्ता पारिए। अर्का दाई प्रकाश शर्मा २०५९ सालमा सहिद भए। ‘मेरा वेपत्ता तथा सहिद दाइहरु तथा आम सहिदहरुको सपना पूरा गर्न म निरन्तर आन्दोलनमा छु’ उनले भनिन– ‘सत्ता, शक्ति र पैसाको बलमा सहिदका सपनाहरुलाई खेर फाल्नु हुँदैन भन्ने मेरो मान्यता छ।’

जनयुद्धकै क्रममा २०६१ सालमा अजयदीप र सुशीलाको जनवादी विहे भयो। शान्ति प्रकृया शुरु भएपछि माओवादीका नेता कार्यकर्ताहरुलाई स्थानीय समाज र परिवारसँग अन्तर घुलित हुन निकै समस्या परेको थियो। तर, सुशीला भने छिटै समाज र परिवासँग अन्तरघुलित भइन्। घरमा वृद्ध सासुको स्यारसुसार गर्ने र राजनीतिमा समय दिने उनको दैनिकीनै वित्यो। उनी स्थानीयस्तरमा सहकारी संस्था,खानेपानी संस्था, विद्यालय व्यवस्थापन समिति लगायतका सामाजिक काममा जोडिन्। एसएलसी उत्र्तिण गरेर राजनीतिमा होमिएकी सुशीलाले त्यतिबेला पढ्ने अवसर पाइनन्।

तर, उनले शान्तिप्रकृया शुरु भएपछि आफ्नो अध्ययनलाई अगाडि बढाउन खोजिन्। ‘विद्यालय व्यवस्थापन समितिमा रहेर विद्यालय सुधारको काम गर्दै गर्दा मलाई पुनः पढाईलाई अगाडी बढाउने इच्छा जाग्यो,’ उनले भनिन–‘सामाजिक व्यक्तित्वहरुबाट पनि मलाई अध्ययनमा निरन्रता दिन प्रेरणा प्राप्त भयो।’अहिले उनले स्नातक तहसम्मको अध्ययन पूरा गरेकी छन्। स्नाकोत्तर तहसम्मको अध्ययन पूरा गर्ने आफ्नो लक्ष्य रहेको शर्माले जानकारी दिइन्। उनीहरुको घर चौधरी बस्तीमा छ। जातीय रुपमा फरक भए पनि चौधरी समुदायमा उनीहरु अन्तरघुलितनै भएका छन्। चौधरी परिवारमा पर्ने सानातिना समस्यादेखि झै–झगडा पर्‍यो भनै सबैले सुशीलालाई खोज्ने गर्छन्। ‘मलाई त अहिलेको राजनीति भन्दा सामाजिक क्षेत्रमा रहेर काम गर्नमा बढी आनन्द आउन थालेको छ,’ सुशिलाले भनिन्, ‘किसान तथा आधारभूत वर्गका जनताको सुख,दुःखमा जोडिन पाउँदा निकै सन्तुष्ट लाग्ने गर्छ।’

आन्दोलनमा आफ्नो व्यक्तिगत फाइदाका लागि आफूहरु नलागेको बताउँदै उनले अहिले आफूलाई कुनै गुनासो नभएको बताइन्। तर, आन्दोलनका कठिन अवस्था, पार्टी जीवनका अप्ठयाराहरुमा हामीले पनि यो पार्टीलाई काँध थापेर रगत,पसिना र आफना कलिला बैसहरु खर्च गरेर हुर्काउने र फलाउने काम गरेका हौं, आज पनि इमान्दारीपूर्वक निरन्तरता दिइरहेका छौं। तर यस्ता मान्छेहरु पार्टीमा हजारौंको संख्यामा ओझेलमा छन तिनको संरक्षण होइन पलायन गराउने वातावरण हुर्कदो छ यो चिन्ताले हामीलाई उदेक लाग्ने बनाइराखेको छ।

२०६९ सालको एउटा कुराले भने उनलाई अहिले पनि निकै भावुक बनाउने गर्छ। त्यति बेला माओवादी पार्टी विभाजन भयो। पार्टी सदस्यहरु यत्रतत्र छरिएर रहे। उनी संस्थापन समूहमा लागिन्। पार्टी सदस्यता नविकरणका लागि उनले पार्टीकै जिम्मेवार नेता कहाँ गइन्। तर,जब उनले पार्टी सदस्यता नविकरणका लागि आग्रह गरिन्। उनले निकै हप्की खानु पर्‍यो। ती नेताले पार्टी, नेता र आन्दोलनलाई निकै गाली गर्दै पार्टी सदस्यता नविकरण नगर्ने भन्दै सुशीलालाई हप्काइन्। उनी निराश भएर अन्य सदस्यहरु कहाँ पार्टी सदस्यता नविकरण गर्न गइनन्। ‘पछि तिनै व्यक्तिलाई काखी च्यापि,उनीहरुनै सक्षम र योग्य देख्यो पार्टीले हामी असक्षम जस्ता भयौं’ उनले दुखित हुँदै त्यतिबेलाको घटना सुनाइनन्। तर, पार्टी आन्दोलनमा यस्ता घटना परिघटनलाई स्वभाविक रुपमा लिनुपर्ने सुशीलाको भनाई छ।

‘हामी दुबै जनाले यसपटक पार्टीले निर्णय गरेका उम्मेदवारलाई विजयी गराउन लाग्ने छौं,’ उनले भनिन्, ‘यति मात्र हो पार्टीमा पैसा, शक्ति र नेताको आसेपासेहरुले मात्रै अवसर पाउने र आन्दोलनमा निरन्तर लागिरहेकाहरु ओझेलपर्ने परिपाटीको अन्त्य हुनुपर्छ।’ पद र अवसरका लागि नेताहरुको घर, दैलो चहार्ने, आफूले टिकट नपाए सहयोद्धालाई हराउन लाग्ने र स्वार्थ नमिल्दा वित्तिकै आन्दोलनबाट पलायन हुने संस्कारको अन्त्य हुनुपर्ने उनीहरुको भनाइ छ।

Facebook Comments