रोल्पा लगायत देशका विभिन्न ठाउँहरुमा पुर्ब जनमुक्ति सेना बसेका ब्यारेकहरुको केही मुख्य शिविरहरु बाहेकका शिविरहरुको स्थिति दयनीय बन्दै गई रहेकोछ, यो परिवर्तनका बाहक ती मान्छे र ती बस्तिहरूको स्थितिमा तात्विक फरक केही देखिएन् ।
जनयुद्ध र जनसेनाको आवश्यकता किन थियो ?
२०५२ साल फागुन १ गते नेकपा माओवादीले जनयुद्धको संखघोष गर्यो । जनयुद्ध एउटा खाली युद्ध मात्र नभएर उत्पीडित बर्गको आवाजमा मुखरित सशक्त बिद्रोह थियो । त्यतिखेरको निरंकुश राजतन्त्रले दबाएर राखिएको मानव अधिकारलाई स्थापित गर्न देशभर संघर्षको आँधी उर्लियो । हरेक नागरिकले आफ्नो स्वतन्त्र मौलिक अधिकार पाउनुपर्छ भनी जात, भाषा, धर्म, लिंग, क्षेत्र अल्पसंख्यक न्यून बर्गको समान अधिकारका निम्ति संघर्षमा सामेल भए । त्यसैको नाम थियो जनयुद्ध ।
संघर्षका विभिन्न सिलसिला पार गर्दै गर्दा तत्कालीन शाही सत्ताले उक्त आन्दोलनलाई दबाउन विभिन्न शक्ति प्रयोग गर्न थाल्यो । प्रहरी, सेना गुप्तचर लगाई उक्त आन्दोलनलाई रोक्न बन्दुक मार्फत कयौंको हत्या, आतंक, लुटपाट, बलात्कार, आगजनी जस्ता क्रूर दानबी शैली अपनाउदै गयो । त्यसकै प्रतिकारमा आन्दोलनको स्वरुप बदलियो । जब माओवादीले हतियारका विरुद्ध हतियार उठाउने, सेनाको विरुद्ध जनसेना निर्माण गर्ने निर्णय गर्याे त्यसपछि साच्चिकै जनयुद्ध शुरु भयो ।
युद्धको पहिलो निशानीमा प्रहरी बन्यो, प्रहरी क्षणभरमै ब्याक हुने स्थिति आएकोले तत्कालीन सरकारका गृहमन्त्री गोबिन्दराज जोसिले सशस्त्र प्रहरी नामको दल खडा गरे । जुन शक्तिले बिद्रोहलाई दबाउन सकिन्छ भन्ने विश्वास राख्यो । अन्तत त्यो कांचो शक्ति पनि सफल हुन सकेन् । अन्तिम अस्त्र उसंग बचेको शाही नेपाली सेना थियो, भने यता जनमुक्ति सेनाको संगठन र शक्तीपनि मजबुत हुँदै थियो ।
तत्कालीन समयमा पहिलो पहलकदमी जनमुक्ति सेनाले लियो र २०५८ साल दाङको घोराहीमा शाही नेपाली सेनाको ब्यारेकमा हमला गर्यो । पुर्ण रुपले सफल भयो । त्यसपश्चात एकपछि अर्को अनगिन्ती युद्ध हुँदै गए । जनमुक्ति सेनाले आफ्नो सामथ्र्य मजबुत बनाउदै गयो, रक्षा, सन्तुलन हुँदै प्रत्याक्रमण संघारमा उक्लिदै गयो । सरकारको मनोबल गिर्दै थियो । एक समय देश माओवादीमय बन्यो । र हर मान्छेका चेहराहरु उज्यालिदै थिए । आन्दोलनका बीचमा थुप्रै धन जनको क्षति भयतापनि यो देशमा गणतन्त्र आउछ र सबैको बन्धनहरु फुकिन्छ्न् । खोसिएका र दबिएका मुक्त हुन्छन् । त्यसपछि देशले समाजबादको बाटो पकड्छ । सबैले चाहेको समान अधिकार भेटिन्छ भन्ने ठुलो अपेक्षा थियो ।
फलस्वरूप बन्दुकले टिकेको राज्यसत्ता बन्दुकबाटै खोस्नुपर्छ भन्ने चिनिया नेता माओको भनाइ यहाँ पुर्नरुले लागू भने भएन् । किनकि यो नेपाली क्रान्तिको फरक बिशेषता पनि हुन सक्छ । अब यो गृहयुद्ध नेपालले धेरै समय सामना गर्न नसक्ने ठहर गर्दै शान्तिपुर्ण रुपले पनि गणतन्त्र स्थापना गर्न सकिन्छ भन्ने निर्णयमा जब माओवादी पुग्यो र तत्कालीन सातदल र माओवादीबीच १२ बुँदे शान्तिसम्झौता भयो ।
युद्ध समाप्त भयो, निसश्त्र जनआन्दोलन मार्फत राजतन्त्रको खिलापमा गणतन्त्र पक्षधर हरु मैदानमा उत्रिने निर्णय गर्यो । जुन निर्णय स्वागत योग्य थियो । तथापि निरंकुश राजतन्त्रको विरुद्धमा १२ बुँदेले सशस्त्र शक्तिमाथि निसश्त्र एकीकृत शक्तिले बिषण धावा बोल्यो, अन्त त राजतन्त्रले घुँडा टेकि छाड्यो । राजतन्त्र समुल नस्ट भयो । गणतन्त्र आयो, युद्ध सकियो, शान्ति स्थापना भयो, संबिधान सभाको निर्वाचन भयो, संविधान बन्यो ।
जनमुक्ति सेना र शिविरको अवस्था :
बाँकी रहेको सेना समायोजन प्रक्रिया शुरु भइरहँदा जनमुक्ति सेनालाई क्याम्पिङ्ग होल्ड गराईयो, नेपालका विभिन्न ठाउँहरुमा ७ मुख्य र २८ सहायक शिविरको स्थापना गरियो । जुन शिविरहरुको अवस्था आज अभिभावक बिहिन बन्दै गएका छन् । संरक्षण नपाएका ती बस्तिहरु भग्नावशेष रूपमा परिणत हुँदैछन् । हुनत जसलाई आफ्नो बासको प्यारो लाग्यो उसले मात्र स्याहार गर्न भ्यायो । जब जनमुक्ति सेना समायोजन र अवकाशको बाटोबाट बाहिर निस्किए त्यस दिनदेखि यी बस्तिमा कसैले फर्र्की हेरेनन् ।
जनमुक्ति सेनाका सुप्रीम कमान्डर प्रचण्ड, प्रधानमन्त्री बनिसक्नु भयो, डेपुटी कमान्डरहरु नन्दकिशोर पुन (पासाङ) उपराष्ट्रपति, जनार्दन शर्मा (प्रभाकर) बर्षमान पुन (अनन्त) चन्द्र प्रकाश खनाल (बलदेव) धेरैचोटी मन्त्री भइसके , डिभिजन कमान्डर हरुपनी राज्यको विभिन्न जिम्मेवारी ग्रहण गरिसक्दापनि यी ऐतिहासिक ठाउँहरुको संरक्षण भएको पाँइदैन् । ध्यान गएन या दिइएन, त्यो मेरो नजरले भ्याएन् ।
बदलिएको परिस्थितिले खुम्चिएको मनस्थितिहरु फुकाउन गाह्रै हुन्छ । आज कैयौं मान्छेहरुको जीवनले त संरक्षण पाइरहेको छैन्, यी कुरा त सामान्य भैहाले, अब यहि तर्क काफी हुनेवाला छ । बोकेको बन्दुक कहाँ छ थाहा छैन्, तर बसेको बस्ती त थोरै निसाना राखिदिए हुने हो । भोलि ती योद्धा ती सहिदका सन्ततिहरुले त्यहीँ ठाउँमा उभिएर स्मरण गरून् ।
आफ्नो परिवारमाथि गर्ब गर्न पाओस् । मान्छेको दुरि टाढा हुँदापनि यो माटोले सामीप्यता कायम गरिदियोस् । यस्तै अपेक्षामाथि उपेक्षा बारम्बार नदोहोरियोस् । जनले साथ दियो, भूगोलले साथ दियो, बस्तीले साथ दिएर त आज यो परिवर्तन संभव भएको हो ।
नेपाली कम्युनिस्टको इतिहास, जनयुद्धको सिनारीलाई संरक्षण गर्दै पर्यटन प्रबद्र्धनका लागि महत्व बोकेका कला, कौशल, धर्म, बिज्ञान, युद्धस्थल शान्ति स्मारक सबैको संरक्षण गर्न जरुरी छ । मान्छेहरु शेष भएर जाँदापनि ती चिजहरुले अमरत्व प्राप्त गरून् । इतिहासमा लेखिएका कुरा भन्दा देकिएका कुराले निकै महत्व राख्ने गर्दछ । भाबी पुस्ताले एउटा फोटो खिचोस, सिरानी मुनी च्यापेर सुतोस सपना भरी उसको अभिभावकको साथमा भुलोस् । महसुस गरोस कि उ परिवारबाट छुट्टिएको छैन् ।
दुनियाँमा आँखालाई लोभ्याउने धेरै दृश्यहरु छन्, तर मन लोभ्याउने र मन भुलाउने चिजहरु कमै हुने गर्दछन् । टावरमा चढेर मान्छेका चर्तीकला त हेर्न सकिएला तर सुरुङ्गमा पसेर हेर्ने कोसिस गरियो भने बास्तबिकताको दियो बलिरहेको देखिनेछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।