केन्याविरुद्धको एकदिवसीय अभ्यास सिरिज नेपालले क्लिन स्विप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले तीन म्याचको सिरिज ३–० ले क्लिन स्विप गरेको हो । योसँगै नेपालले इतिहास रचेको छ । पहिलोपटक केन्याविरुद्धको एकदिवसीय सिरिज क्लिन स्विप गर्दै नेपालले इतिहास रचेको हो ।
तेस्रो खेलमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि अर्जुन साउँदले ५८, आसिफ शेखले ५६, बसिर अहमदले अविजित ५२, कप्तान रोहित पौडेलले अविजित ४६, ज्ञानेन्द्र मल्लले ३३ र देव खनालले एक रनको योगदान दिए ।
त्यसअघि नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनायो । उसका लागि ४१ वर्षीय कोलिन्स ओबुयाले उत्कृष्ट पारी खेले । १११ बलको सामना गरेका उनले सात चौका र दुई छक्काको मद्दतमा ८४ रन बनाए । यो सिरिजमा कोलिन्सको यो दोस्रो अर्धशतकीय पारी हो । त्यस्तै, लुकास ओलुओचले आक्रामक पारी खेले ।
२६ बलको मात्र सामना गरेका उनले पाँच छक्का र पाँच चौकाको मद्दतमा अविजित ५९ रन बनाए । लुकास खासमा बलर हुन् । तर, आज भने उनले स्तरीय ब्याटरको जसरी ब्याटिङ गरे । त्यस्तै, सुकदीप सिंहले ३७, इमानुएल बुन्डीले २४ र शेम न्गोचेले १७ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी, मोहम्मद आदिल आलमले दुई/दुई, बसिर अहमद र शाहब आलमले एक/एक विकेट लिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।