• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाचेभको निधन




पूर्वसोभियत नेता मिखाइल गोर्भाचेभको निधन भएको छ । रुसी अधिकारीहरूका अनुसार मस्कोस्थित अस्पतालमा उनको मंगलबार निधन भएको हो । उनी ९१ वर्षका थिए । गोर्भाचेभको निधनको पुष्टि गर्दै रुसको सेन्ट्रल क्लिनिकल हस्पिटलले भनेको छ, ‘गम्भीर र लामो समयदेखि बिरामी रहनुभएका मिखाइल गोर्भाचेभको मंगलबार राति निधन भएको छ ।’

गोर्भाचेभ तत्कालीन सोभियत युनियनका अन्तिम राष्ट्रपति हुन् । जसले अमेरिकासँगको शीतयुद्ध अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निभाएकासमेत थिए । तर उनले सोभियत युनियन ढल्नबाट बचाउन भने सकेनन् ।

सन् १९८५ मा तत्कालीन सोभियत सत्ता सम्हालेका गोर्भाचेभले सुधारका प्रयास गरेका थिए । उनी सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको कम्युनिस्ट पार्टीका महासचिव थिए । सोभियत युनियनको पतनसँगै नै आधुनिक रुसको उदय भएको मानिन्छ ।

स्टालिनको शासनकालमा हुर्कंदै गरेका गोर्भाचेभले दोस्रो विश्वयुद्धको असरसमेत प्रत्यक्ष देखे । युद्धपछि मस्कोमा कानुनको पढाइ गरेका उनले कम्युनिस्ट पार्टीमा आफ्नो भविष्य खोजे । साम्यवादमा सुधारको आवश्यक रहेको बताउने गोर्भाचेभ खुलापन र परिवर्तनको पक्षपातीसमेत रहेको बताइन्छ । केही कम्युनिस्ट नेताले पश्चिमसँगको घनिष्ठ सम्बन्धकै कारण उनलाई अमेरिकाको एजेन्टसम्म भन्ने गर्थे ।

उनलाई सन् १९९० मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । पूर्व र पश्चिमबीच सम्बन्ध चिसिइरहेका बेला नाटकीय रूपमा सम्बन्ध सुधार भएको बताउँदै उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

सोभियत संघलाई बचाउन नसकेकोमा भने उनी दु:खी थिए । सन् १९९१ को डिसेम्बर २५ मा गोर्भाचेभले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका थिए । त्यसको भोलिपल्ट सोभियत संघ औपचारिक रूपमा विघटन भएको थियो । उनले आफ्नो संस्मरणमा लेखेका छन्, ‘मलाई आज पनि यो कुराको दु:ख छ कि मैले आफ्नो जहाज शान्त समुद्रसम्म ल्याउन सकिनँ र देशमा सुधार ल्याउने कुरालाई सफल बनाउन सकिनँ।’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले गोर्भाचेभले ‘इतिहासको बाटो बदलेको’ बताएका छन् । उनले भनेका छन्, ‘मिखाइल गोर्भाचेभ एक जना असल राजनीतिज्ञ थिए । विश्वले एक विश्वनेतालाई गुमाएको छ जसले बहुलवाद र शान्तिको निरन्तर वकालत गरे ।’

Facebook Comments