• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
के गर्दैछ कांग्रेसबाट माओवादीले खोसेको रोल्पा लुंग्रीको स्थानीय सरकार ?




(सामान्यतः रोल्पा माओवादी बाहुल्य क्षेत्र भनेर चिनिन्छ । तर २०७४ को स्थानीय निर्वाचनमा रोल्पाको लुङ्ग्री गाउँपालिकामा नेपाली कांग्रेसले जितेको थियो । यसपटकको स्थानीय निर्वाचनमा भने माओवादीले कांग्रेसबाट पालिका अध्यक्ष उपाध्यक्ष मात्रै खोसेको छैन, आफ्नै बहुमतको सरकार बनाएको छ । कांग्रेसबाट माओवादीले खोसेको स्थानीय सरकारले फरकपन दिन के काम गर्दैछ ? लुंग्री गाउँपालिकाका अध्यक्ष भरतकुमार थापासँग सिस्ने अनलाइनका प्रबन्धक प्रेम क्षेत्रीले रोचक कुराकानी गर्नुभएको छ ।

अध्यक्ष ज्यु नमस्कार, सन्चै हुनुहुन्छ ?
–नमस्ते ठीकै छु ।

सर्वप्रथम शुभकामना वडादेखि पालिका सम्म विजयी हुन सफल भएकोमा ।
–धन्यबाद।

लुङ्ग्रीका मतदाताले तपाईंलाई रोजिरहँदा तपाईंप्रतिको अपेक्षा जनताले कसरी लिईराखेका छन ?
–लुङ्ग्रीका बहुमत मतदाताले आफ्नो अमूल्य मतमार्फत जसरी हाम्रो पार्टीलाई र हाम्रो पार्टीका मलगायतका उम्मेदवारहरुलाइ रोज्ने काम भयो । यसलाई मैले साधारण रुपमा बुझेको छैन। यो रोजाई विभिन्न आशा, अपेक्षा, विश्वास र भरोसासहितको रोजाइ हो। जसले लुङग्रीमा शान्ति, सुशासन, विकास र समृद्धि चाहन्छ, ती त्यस्ता मतदाताहरुले मात्र रोजेका हुन।

मलाइ गर्व छ, अधिकांश लुङ्ग्रीबाबासी न्याय र सत्यको पक्षमा उभिएर अन्याय, अत्याचार र भ्रष्टाचारलाई खबरदारी गरेकोमा । न्यायप्रेमी जनताका तमाम आशा र अपेक्षालाई उचित र उपयुक्त ढंगबाट सम्वोधन र व्यवस्थापन गर्ने काम त्यति सहज र सरल नभएको हुदा मेरो मन मस्तिष्कमा चिन्ता पैदा हुनु स्वभाविक नै हो। तर चिन्ता मात्रै गरेर बसिरहनुमा कुनै अर्थ र उपलब्धि हुदैन। चिन्तन, मनन र मन्थन बाट मक्खन निकाल्ने वा समस्या समाधानका उपाय खोजी गर्नेमा कहिल्यै हरेस मान्न हुन्न भन्नेमा पनि म राम्रोसँग सचेत र सतर्क छु ।

अवश्य पनि हामी र हाम्रो पार्टीले लुङ्ग्रीको चुनाव जितेका छौं तर लुङ्ग्रीको चुनौती जितेका छैनौं । चुनाव जित्न भन्दा चुनौती जित्न अझै गाह्रो छ। चुनौतीका चाङ र चङ्गुलहरु समस्याका पहाड र पर्वतहरुलाई क्रमिक र प्राथमिक रुपबाट हटाउने तथा घटाउने प्रयास र प्रयत्न गर्ने मेरो आफ्नो जिम्मेवारीप्रति अत्यन्तै चिन्तित, गम्भिर र संबेदनशील छु।

अब पालिकाको जिम्मेवारी लिसकेपछि जनताको चासो, गुनासो र समस्या बुझ्न फुर्सद कति मिलाउनुभएको छ ?
–२०७४ असार १४ गतेको निर्वाचनबाट प्राप्त भएको एउटा वडा नम्बर ५ को विशेष जिम्मेवारीलाई २०७९ बैशाख ३० को निर्वाचनले विस्तार गरी सिङ्गो लुङ्ग्रीका साटवटै वडाको जिम्मेवारी सुम्पेको छ । उक्त जिम्मेवारी वहन गर्दैगर्दा थप चुनौती र समस्याको महसुस र अनुभूति हुनु स्वभाविक भए पनि चुनौतीलाई अवसरमा र समस्याहरुलाई सम्भावनामा बदल्नाका लागि आम जनताको गुनासो, दुखेसो र समस्या बुझ्ने र उनीहरुबाटै प्राप्त सल्लाह, सुझाव र हामीसँग उपलब्ध स्रोत साधन एवम् क्षमता र दक्षताको भरपुर प्रयोग गर्दै समस्या र चुनौतीलाई न्युनिकरण र अल्पिकरण गर्दै जाने अभियानमा छौं । यद्यपि चुनावी समयमा जस्तो सबै गाउँ र सबै घरमा पुग्न सकेका छैनौं तर समयको उचित व्यवस्थापन गरी सबैको समस्या बुझ्ने र समाधानका विकल्पहरुको खोजी गरी समाधान गर्नेतर्फ म र हामी सबै तत्पर छौं।

तपाइँ वडाध्यक्ष भएको व्यक्ति, जनताले अध्यक्ष र उपाध्यक्ष एउटै वडाका हुदा विकास पनि वडाकेन्द्रित हुन्छ कि भनेर आशंका गरेका छन्, यो बिषयलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
–गापाको अध्यक्ष र उपाध्यक्ष जस्तो महत्त्वपूर्ण पदमा एउटै वडाबाट मात्र भएकोमा गुनासो गर्नु र विकास पनि वडा केन्द्रित नै हुने होकि भन्ने शंका गर्नु अस्वभाविक होइन किनकि महत्त्वको पद प्राप्ति गर्ने र नेतृत्वमा पुगि सेवामा समर्पित हुने जो कोही सचेत नागरिकको ईच्छा र आकांक्षा हुन्छ र हुनु पनि पर्छ। गुनासो र शंका स्वभाविक र सामान्य जस्तो भए पनि हाम्रा कार्यक्रम नहेरेर शंका मात्र गर्नु पनि उचित होइन। शंकाले लंका जलाउछ र विस्वासले संसार चलाउछ भनेजस्तो शंका र विस्वास हाराहारीमा लानु बढी बुद्धिमानि हुन्छ। हामीमाथि शंका गर्नु भन्दा पहिला त हामी को हौँ र कुन पार्टीको स्कूलिङबाट आएका हौ वा हाम्रो बिचार सिद्धान्त के हो ? राम्रोसँग बुझ्न जरुरी हुन्छ किनकि हामी न्याय र समानताको पक्षपाती एवं विभेद र भेदभावको कट्टर विरोधी हौँ ।

हामीमाथि गरेको शंका निवारणका लागि भर्खरै हामीले सार्वजनिक गरेको विनियोजित बजेट तथा योजनाहरु आफैमा जवाफ हुन् । अध्यक्ष र उपाध्यक्षकेन्द्रित छ या गापाकेन्द्रित छ राम्रोसंग हेर्न, देख्न र बुझ्न विनम्र अनुरोध गर्न चाहान्छुँ। जहाँसम्म नेतृत्व चयनमा भेग नसमेटिनुको समस्या चाहिँ के रहेछ भन्ने प्रश्न हो, यस विषयमा बुझ्न र बुझाउनका लागि अलिकति सकारात्मक र रचनात्मक एवं सिर्जनात्मक र निर्माणात्मक चिन्तन बनाउनु पर्ने हुन्छ। किनकि तत्कालीन चुनावी परिस्थिति अलि विशेष प्रकृतिको बनेको थियो ।

घोषित रुपमा कांग्रेस र एमालेको गठबन्धन नभए पनि अघोषित रुपमा कांग्रेस एमाले गठबन्धन जस्तो थियो ।त्यो अघोषित गठबन्धनको सामना गर्न हामीले पनि विकल्प खोजि गर्नुपर्ने जस्तो भएको र उपाध्यक्ष दिएर भए पनि राप्रपासँग तालमेल गर्नु पर्छकि भन्नेमा पार्टीको र नेतृत्वको सोच थियो । सोहि बमोजिम पछि फिर्ता गर्ने गरी दिलकुमारी गुरुङको उम्मेदवारी दर्ता भएको हो । तर राप्रपासँग अन्तिम दिनसम्म पनि तालमेल नभएपछि हाम्रो नेतृत्वले आवश्यक ठानेन र हाम्रो पार्टीको उम्मेदवार दिलकुमारी गुरुङकै उम्मेदवारलाई आधिकारिक कायम गरेर जित्ने जिताउने अभियानमा खत्नुपर्ने अवस्था आयो ।

अन्तिम समयमा न राप्रपालाई दिन सकिने न त उम्मेदवार बदल्न नै मिल्ने, यो विशेष परिस्थितिको विशेष प्राविधिक समस्याका कारण एकै वडामा नेतृत्व पर्न गएको सत्य हो । यस सन्दर्भमा म विशेष आग्रह र अनुरोध गर्न चाहन्छुकि चाहे जे जस्तो अवस्थामा जो जहाँबाट जे भएपनि हामी सबै जना जनप्रतिनिधिहरुले संविधान प्रदत्त प्रावधान र कानुन निदृष्टि निर्देशनहरुको पालना गर्दै पार्टीको नीति र विचार एवम लुङ्ग्रीवासीको चाहना र भावनालाई राम्रोसँग आत्मसात गरेर समुचित र न्यायोचित विकास तथा समान र सन्तुलित अवसरहरुको वितरण भएको अनुभूति दिलाउने प्रयास र प्रयत्न गर्नु हाम्रो प्रमुख दायित्व र कर्तव्य हुनेछ । आफ्नो दायित्व र कर्तव्य प्रति हामी कहिल्यै पनि थकित र विचलित हुनेछैनौँ।

पालिकाले पहिलो बजेट विनियोजन गरिरहँदा खासै नयाँपन देखिएन, पुरानो शैलीको भयो भन्ने गुनासो छ, खास कुरा के हो ?
–हाम्रो कार्यकालको पहिलो बजेट तथा पहिलो नीति तथा कार्यक्रममा नै केही उत्तम र नविनतम शैली र संकेत देखिने हुनुपर्छ भन्नेमा म पनि सोह्रैआना सहमत छु । तर विशेष विविधताको कारण सोचेको र खोजेको जस्तो पृथक वा फरक शैली आउन र देखिन नसकेकोमा म स्पस्ट नै छु। तर, पूरै पुरानो शैलीको देखियो भन्नेमा म पुर्ण सहमत छैन । सीमित र संक्षिप्त मात्रामा भए पनि दूरगामी र दृघकाकालीन महत्त्वका बजेट र योजनाहरु बनेकै छन् ।

पहिलो कार्यकालका नेतृत्वबाट कुनै छाँटकाट नै नदेखाएको वा कुनै सुरसारै नगरेको गाउँपालिकाको भवन निर्माणका लागि बजेट विनियोजित हुनु, स्वास्थ्य, शिक्षा र कृषि जस्ता क्षेत्रमा साविककोभन्दा दोब्बर मात्रामा बजेट विनियोजन हुनु, ठूला बजेट चाहिने पुर्वाधार निर्माणका लागि डिपिआर गर्नुपर्ने र सोको लागि बजेट विनियोजन हुनु र विपन्न घरपरिवारका खरको छाना हटाएर जस्तापाताले लगाउनेजस्ता कार्यक्रम बन्नु बनाउनु आफैमा महत्त्व राख्ने योजना तथा कार्यक्रम हुन् ।

कुनै पनि दृश्य हेर्न र बुझ्नका लागि उस्को सोँच र चिन्तनमा निर्भर हुन्छ। फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार भनेझैं फूलको आँखाबाट हेर्ने बानीको विकास गर्नुपर्दछ। बजेट कार्यक्रम राम्रो देखिएर मात्र पनि हुदैन, कार्यन्वयन पक्षलाई पनि हेर्नुपर्छ। मलाई लाग्छ यही विनियोजित बजेटलाई पनि मितव्ययी, पारदर्शी र प्रभावकारी ढंगबाट कार्यान्वयन हुने हो भने पनि धेरै राम्रो प्रतिफल र नतिजा प्राप्त हुनेछ। आगामी बजेट सम्भव भएसम्म नयाँपन महसुस हुने गरी विनियोजन गर्ने बिश्वास दिलाउन चाहन्छु।

विकास रकम विनियोजित गरिरहँदा कर्मचारीको सेवा सुविधामा बढीभयो भन्ने सुनिन्छ, यसलाई कम गर्ने आधारहरु नभएका हुन कि ? सोंच नै नराखेको हो ?
–विनियोजित बजेटमा कर्मचारीहरुको सेवासुविधा अलि बढी नै जस्तो लागे पनि नियमले पाउने सेवा सुविधा बाहेक थप सुविधा लिनबाट रोक्न र नियन्त्रण गर्न सकिने भएको र बाँकी रहेको बजेट पुनः विकासको काममा खर्च गर्न मिल्ने भएकोले तत्कालका लागि ठीकै छ भनेको हो । खर्चामा पार्दर्शिता जवाफदेहिता एवं् मितव्ययिताको नीति अवलम्बन गरिनेछ ।

यसअघि कांग्रेसले नेतृत्व गरेको लुङ्ग्री गाउँपालिकामा अहिले माओवादीले जितेको छ, मतदाताले नयाँ परिवर्तन अनुभूति के पाउने छन् ?
–म धेरै कुरा नगरेर ब्यवहारबाट नै नतिजा दिन चाहन्छु । हाम्रो प्रयास जनतालाई राम्रो नतिजा दिनेतिर उन्मुख हुनेछ ।

भरतकुमार थापा माओवादी केन्द्रको एउटा प्रतिनिधि पात्र हो, जो लुङ्ग्रीको नेतृत्व गर्दै हुनुहुन्छ । जनताको आशा थुपारिएको केन्द्रमा हुनुहुन्छ सुरुवाती दिन भरतलाई चिन्ने के कामबाट थालनी गर्नुभयो ?
–तपाईले भनेजस्तो म पार्टीको एउटा पात्र हो साथै लुङ्ग्रीवासिले खताएको कर्ता पनि हो। भरतलाई, भरत आवद्ध पार्टीलाई र भरतका सहकर्मीहरुलाई चिन्ने र चिनाउने सुरुवातीका कामबाट मात्रै पुरै संभव हुन नसक्ला किनकि तपाइकै प्रश्नमा उल्लेख भएजस्तो आशाका थुप्राहरु थुप्रिएको छ। आशालाई क्रमिक र प्राथमिकताका साथ हटाउँदै र घटाउँदै जानेछौं । हामीले सुरुवातीमै गरेका केही महत्त्वका कामका सम्बन्धमा मैले पहिलेकै प्रश्नको उत्तरमा बताइसकेको छु ।

त्यसको अतिरिक्त मैले सुशासनतर्फ पनि बढि ध्यान केन्द्रित गर्न चाहेको छुँ। पद बहाल भएको लगत्तैका दिनहरुमा भएका करारमा शिक्षक छनौटमा पहिल्यैदेखि अध्यक्ष र उपाध्यक्षले लिदै आएका भत्ताहरु अन्त्य गर्दै छनौट प्राणालीलाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउने कोशिस भएको छ। गापाको र गापा मातहतका कार्यालयहरुको नाममा खरिद भएका जिन्सीहरुको लेखाजोखा गर्ने र दुरुपयोग तथा अवचलित सामान र साधनहरु गापाको निगरानीमा राख्ने काम भइरहेको छ। हामीले क्रमिक र प्राथमिकरुपबाट असल र अब्बल काम गर्दै गयौं भने मिडियामार्फत भन्नै पर्दैन जनताले आँफै चिन्ने छन्।

तपाई इमानदार भिजन भएको जुझारु युवा नेतामा गनिनुहुन्छ । अबको युवाहरुको भविष्य खाडी होकि लुङ्ग्रीको कुनै भिजन लिएर अघि बद्छन भन्ने विश्वास र स्वरोजगारमुखी योजना के छ ?
–तपाईले भनेजस्तो जुझारु नेता नभए पनि तथ्य र सत्य, न्याय र समानको पक्षमा हरहमेशा डत्ने र खत्ने इमानदार व्यक्ति हुँ। मलाई सबैभन्दा चिन्ताको विषय भनेकै बेरोजगारीको अवस्था हो। यो विषय ठूलै चिन्ताको विषय भए पनि यसलाई हटाएर शतप्रतिशत रोजगारी सिर्जना गर्नु त भयंकर चुनौती नै छ। एउटा पालिकाको पहल र प्रयासले मात्रै पूरै संभव हुदैन। यो समस्या समाधान गर्न सिङ्गो राज्य असफल छ।

केही संख्यामा रोजगारी सिर्जना गर्न अवश्य सकिन्छ तर साराका सारा युवालाई रोजगारी दिनका लागि त राज्यले विशेष नीति बनाई अभियानको थालनी गर्नुपर्छ जस्तो लाग्दछ। उक्त अभियानमा हामी सबैले साथ सहयोग दिनुपर्दछ। युवा वर्गमा पनि आफ्नो सोंच, स्वभाव र चिन्तनमा परिवर्तन ल्यानुपर्ने देखिन्छ। अधिकांश युवाको सोच र स्वभाव फेरिएन भने सरकारले जतिसुकै लगानी गरे पनि बालुवामा पानी हाले सरह हुनेछ। आफ्नै देशमा श्रम गर्ने, पसिना बगाउने र थोरै आम्दानीबाट धेरै आर्थिक समस्या हल गर्ने सिर्जनशीलता र मौलिकता अपनाउने कोशिस गर्नुपर्दछ। भरभराउदा र कलकलाउँदा युवाहरु मध्यपान, धुम्रपानलगायत लागुऔषध जस्ता गलत र कुलतको आहालमा डुबेका र दुर्व्यशनीको दलदलमा फसेका दिनदिनै वरपर सर्वत्र देखिन्छन्। धेरै व्यक्तिहरु हरिफ बन्न खोज्दा गरिब बन्न पुगेको, खान नपाएरभन्दा खान नजानेर भोकमरी झेलेको, हिरो बन्छु भन्दा जिरोको अवस्थामा पुगेको र आफूलाई अधिकारी ठान्ने तर अवस्था भिकारीको सरह भैसकेको यथार्थततालाई पनि नकार्न सकिदैन।

केही युवाहरु आफ्नै देशमा सामान्य आयआर्जन हुदाहुदै पनि खर्बको सपना बोकेर अरब पस्ने, आफ्नो खोरिया बाँझै छोडेर कोरिया दौडिने प्रचलन पनि अचाक्लि बढेको छ। भन्नुको अर्थ केहो भने वेरोजगारी अवस्था विस्थापित गर्न हामी सबैको धेरथोर जिम्मेवारी र भूमिका हुनुपर्छ। हाम्रो गाउँपालिकाले रोजगार तथा स्वरोजगारको अवस्था सिर्जना गर्नको लागि कृषि, शिक्षा र सिपमूलक तालिमहरुमा बजेट विनियोजन गरेका छौं र कार्यान्वयन गरेर प्रतिफल दिन चाहन्छु ।

अबको पाँच बर्षभित्र हाम्रो गाउँपालिका यस्तो बनाउन सक्छु भन्ने केही चित्र कोर्नुभएको छ ?
–कुनै पनि गाउँपालिकाको नेतृत्वले मेरो गाउँपालिकालाइ ५ बर्षभित्रमा स्वर्ग र स्वर्णको गाउँपालिका बनाउँछु भन्यो भने त्यो केवल क्षणिक समयको लागि सस्तो लोकप्रियता र सार्वजनिक खपतको लागि भन्दा अरु केही हुन सक्दैन। मैले र हाम्रो पार्टीले चुनाव प्रचारप्रसारको बेला पनि जनतालाई ललिपप देखाएर चुनाव जितेको होइन। हुनै नसक्ने र गर्नैनसक्ने काम सबै गरिदिन्छुँ भनेर मत मागेको पनि होइन। मैले विगतमा जेजे गरें, त्यही मात्रै भने र जेजे गर्न सकिन्छ त्यहि मात्र गर्नेछु भनेको छु। हाम्रो चुनावी घोषणापत्रको सबैभन्दा सुरुमा नारा दिएका छौं– ‘भ्रष्टाचार मुक्त लुङ्ग्री, सुशासनयुक्त लुङ्ग्री र विकास र समृद्धिले पूर्ण लुङ्ग्री’ त्यसलाई हेर्नुभयो भने प्रष्ट हुनसक्नुहुनेछ।

यद्यपि विकास र समृद्धिले पूर्णता प्राप्ति गर्नका लागि ५ बर्षको अवधि अपर्यात हुनसक्छ तर भ्रष्टाचारलाई जलाउने र सुशासनलाई फैलाउने जस्ता कार्य सुरुमै गर्न सकिन्छ। म र मेरो नेतृत्वको टिम त्यसैतर्फ उद्दत र उन्मुख छ । अवश्य पनि भ्रष्टचाररहित रसुशासन सहितको शासन प्रशासन कायम हुदै गयो भने विकास र समृद्भि उन्मुख डिजाइन र प्लानले आँफै पछ्याउनेछन् । तपाइँले खोजेको चित्रको सुन्दरता र उज्वलता प्रदर्शन हुनेछ भन्ने कुरा म विश्वास दिलाउन चाहन्छु ।

लुङ्ग्रीमा बहुमत भएर पनि नेतृत्व नपाउनाले यहाँको बिकास पछि परेको भन्ने गुनासो सकिएकोछ, अब बहुमतसहितको नेतृत्व पाउँदा स्थानीय सरकार कुन गियरमा दौडिन्छ ?
–अवश्य पनि कुनै सवारी साधनको साँचो चालकको साथमा हुन्छ र सवारी साधनको मुख्य मुख्य नियन्त्रक यन्त्रहरु चालककै हात र खुट्टामा हुन्छ । चाहे त्यो गियर र ब्रेक होस चाहे त्यो एक्सिलेटर र ह्यान्डिल होस, चालककै नियन्त्रण र निर्देशनमा संचालित हुन्छन। सवारी साधनलाई कुन गतिमा र कुन दिशामा रफ्ट्याउने भन्ने कुरा चालकको इच्छाशक्तिमा निर्भर हुन्छ। चालकको इच्छाशक्ति भएर मात्र पनि नहुदोरहेछ, सही दिशा र तीब्र गतिमा अगाडि बढाउनको लागि सवारी साधनको कन्डिसन र अगाडीको बाटो पनि सही र सहज हुनुपर्दोरहेछ। अवश्यढढढ पनि लुङ्ग्री गाउँपालिकाले चालक नयाँ प्राप्त गरेको छ तर अवस्था र मार्ग भनेजस्तो सहज र अनुकूलित नभएको हुँदा पहिले सहि कन्डिसन र सहज मार्ग निर्माण गर्नमा हामी प्रयासरत छौं। निश्चितरुपमा हिजोको पहिलो कार्याकालमा हामी परिचालकको भूमिकामा थियौं ।

परिचालकको भूमिका निर्वाह गर्दैगर्दा पालिकाले भनेजस्तो सही गति र सहि दिशा लिन र दिन नसके पनि हाम्रोतर्फबाट गम्भीर दुर्घटना हुनबाट बचाउने जिम्मेवार र भूमिका अवश्य पनि रह्यो। यदि मार्ग तथा पार्टपुर्जाहरु सही नभएको अवस्थामा तीब्र गतिमा हाँक्न खोजियो भने गम्भिर दुर्घटना हुने जोखिम हुन सक्छ । त्यसैले हामी बहुमत सहितको नेतृत्व वा चालकको भूमिकामा आउदैगर्दा गाउँपालिका सञ्चालन गर्ने केही जिर्ण र रुग्ण मार्ग तथा पार्टपुर्जाहरुको मर्मत सम्भार गरेर गाउँपालिकालाई फुल गियरमा रफ्ट्याउने हाम्रो निरन्तर पहल तथा प्रयास भैइरहेको छ र भैरहनेछ।

आगामी पाँच बर्ष भित्र शिक्षा, स्वास्थ, कृषिमा कस्तो बिकास नीति हुन्छ ? बेरोजगारीहरुलाई फुर्सदिलो नबनाउने उपाय के हुन सक्छ ?
–जबसम्म शिक्षा स्वास्थ्य र कृषि जस्ता क्षेत्रको विकास गर्न सकिदैन तबसम्म हामिले चाहेजस्तो रोजगार वा स्वारोजगार सृजना गर्न सक्दैनौं । त्यसकारण विषयक्षेत्रसँग सम्बन्धित विज्ञ विशेषज्ञहरुको सल्लाह सुझाव र हामिसँग उपलब्ध श्रोत साधनको समुचित प्रयोग तथा थप श्रोत साधनको लागि सम्बन्धित निकाय वा मन्त्रालयसँग समन्वय सहकार्य गर्दै अधिकतम रोजगार र स्वरोजगारको अवसर सृजना गर्ने नीति निर्माण तथा कार्यन्वयनमा जोड दिइनेछ ।

बेरोजगारीहरुलाई फुर्सदिलो नबनाउका लागि उनिहरुको रुची, सिप, ज्ञान, प्रविधि र दक्षताको आधारमा सिपमूलक तथा आयआर्जनमुलक तालिमहरु सञ्चालन गरि रोजगार र स्वरोजगार योग्य जनशक्ती निर्माण गर्ने र योग्य जनशक्तीलाई निर्माण र उत्पादनको कार्यमा परिचालन गर्नुपर्ने आजको आवश्यकता हो।

अन्तमा केही भन्न चाहनुहुन्छ ?
लगभग अधिकांश कुराहरु आइसकेका छन् फेरिपनि एकचोटी लुङ्ग्री गाउँपालिकालाई भ्रष्टाचार रहितको लुङ्ग्री, शुसासन सहितको लुङ्ग्री, विकास र समृद्धिले पूर्ण लुङ्ग्री बनाउने अभियानमा साथ सहयोग पुर्‍याउन आम लुङ्ग्रीवासीमा विशेष आग्रह र अनुरोध गर्दै अन्यमा तपाइको मिडिया मार्फत लुङ्ग्री गाउँपालिकाको विषयमा थोरै भएपनि जानकारी गराउने अवसर दिनुभएकोमा यहाँप्रति धन्यबाद व्यक्त गर्दछुँ। यहाँको मिडिया सिस्ने अनलाइ डट कमले समाज परिवर्तन र दिगो विकासका निम्ति सकरात्क बिषयको उत्थान गर्दै नकरात्मक बिषयहरुको चिरफार गर्ने कार्यमा सेवा र टेवा पुर्‍याउदै जाओस भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु।

हामीसँग उपलब्ध अवसरहरुलाई अवसरको रुपमा उपयोग गर्न र चुनौती तथा समस्याहरुलाई अवसर र सम्भावनामा बदल्ने अभियानमा आम लुङ्ग्रीवासी, सरोकारवाला निकायहरु र तपाइहरुजस्ता सँचारकर्मीहरुको साथ सहयोगको अपेक्षा गर्दै शुभकामना प्रति आभार प्रकट गर्न चाहन्छुँ र बिशेष धन्यबाद प्रकट गर्न चाहन्छुँ। धन्यबाद।

Facebook Comments