• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चालकहरुका लागि ट्राफिक सचेतना प्रशिक्षण




छबि पुरी
घोराही, ८ साउन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ईकाई कमिटी घोराहीले सडक दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

नयाँ बसपार्कमा आईतबार गरिएको प्रशिक्षण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख झबिन्द्र परियार र हिमालयन एभरेस्ट ईन्सुरेन्सका दाङ प्रमुख डा. लोकराज पराजुलीले प्रशिक्षण दिनुभएको थियो ।

संगठनका इकाई अध्यक्ष धनबहादुर पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक परियारले सबैको प्रयासले मात्रै सवारी दुर्घटना न्युनिकरण सम्भव भएको बताउनुभयो । ट्राफिक नियम अनिवार्य पालना गर्न जरुरी भएको हुँदा अरुका लागि नभई आफ्ना लागि नियम बनाइएको हो भन्ने बुझ्न जरुरी रहेको उल्लेख गर्नुभयो । ट्राफिक प्रहरी देखे मात्रै नियम मान्ने काम हुने गरेको हुँदा सुरक्षित यात्राका लागि गम्भीर बन्न सवारी चालक र सहचालकलाई आग्रह गर्नुभयो ।

सडक अनुशासन कायम गर्न अपिल गर्दै उहाँले सिट क्षमता भन्दा बढि यात्रु नबोक्न, तिव्र गतिमा सवारी नचलाउन, मेरो भरमा यात्रु छन् भन्ने आत्मबोध गरेर सवारी चलाउन उहाँको आग्रह थियो । मनैदेखि नियम पालना गरेमा अनाहकमा हुने जनधनको क्षतिबाट बच्ने मात्रै नभई यातायात क्षेत्र पनि सुरक्षित हुने हुँदा सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभयो ।

यस्तै उहाँले यातायात व्यवस्था विभागले पछिल्लो समय बनाएको जरिवानाका सन्दर्भमा पनि जानकारी गराउनुभएको थियो । उहाँका अनुसार विभिन्न ८ प्रकारका गल्ती गरेर सवारी साधन चलाएमा चालकले १ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

हिमालयन एभरेस्ट ईन्सुरेन्सका दाङ प्रमुख डा. लोकराज पराजुलीले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनाका कार्यक्रम निरन्तर हुनुपर्ने बताउनुभयो । जनधनको क्षति कम गर्दै यातायात क्षेत्रलाई कसरी सुरक्षित बनाउने भन्नेमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो । उहाँले सवारी दुर्घटनाका कारण ईन्सुरेन्स कम्पनीले सहयोग गर्दै आएको जानकारी गराउनुभयो ।

कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष एवम् लुम्बिनी प्रदेश उपाध्यक्ष केशव भण्डारीले यातायात मजुदरको पक्षमा संगठनले काम गर्दै आएको हुँदा आगामी दिनमा यो क्षेत्रलाई थप मर्यादित र विश्वशनीय बनाउने अभियानमा लागेको बताउनुभयो । उहाँले म जिम्मेवार चालक हुँ भन्ने भावनाको विकास गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा, नयाँ बसपार्क अस्थायी प्रहरी पोष्टका ईन्चार्ज पानबहादुर बुढा, रेडियो मध्यपश्चिमका समाचार प्रमुख छबि पुरी, संगठनका केन्द्रीय महिला सदस्य लक्ष्मी रानालगायतले बोल्नुभएको थियो । संगठनका कोषाध्यक्ष वसन्त केसीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रको सहजीकरण संगठनका कार्यालय प्रमुख दामोदर शर्माले गर्नुभएको थियो ।

Facebook Comments