• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाली अर्थतन्त्रमा सुधारको संकेतः विप्रेषण बढ्यो, बिदेशी मुद्रा सञ्चितिमा सुधार




लामो समयदेखि समस्याग्रस्त अर्थतन्त्रमा सुधारको सङ्केत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकअनुसार अर्थतन्त्रमा सुधारका दुई वटा सङ्केत देखिएका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले सुधारको सङ्केत देखाएको हो ।

यद्यपि, अर्थतन्त्रका अधिकांश सूचक भने अझै नकारात्मक स्थितिमा छन् । तर यस अवधिमा विदेशी मुद्राको सञ्चिति र रेमिट्यान्स (विप्रेषण)को आप्रवाहमा भने सुधारको सङ्केत देखिएको केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । जेठ महिनामा मात्रै नेपालमा विदेशी मुद्राको सञ्चिति २९ अर्ब ९६ करोड रुपैयाँले बढेको छ । जसले, लामो समयदेखि ‘स्ट्रेस’मा अर्थतन्त्रलाई राहत दिलाएको छ ।

यसअघि, चालू वर्षको १० महिनाको अवधिमा नेपालमा ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति थियो । १० महिनाको अवधिमा अमेरिकी डलरमा यस्तो सञ्चिति ९ अर्ब २८ करोड थियो । जुन, जेठ महिनाको अन्त्यसम्ममा झण्डै ३० अर्ब रुपैयाँले सुधारिएको हो । ११ महिनाको अवधिमा नेपालमा विदेशी मुद्राको सञ्चिति ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यद्यपि, चालू वर्षको ११ महिनाको समग्र अवधिमा भने १५.९ प्रतिशतले खुम्चिएको छ ।

विदेशी मुद्राको सञ्चिति सुधारिएसँगै नेपालको वस्तु तथा सेवाको आयात धान्ने क्षमता पनि सुधारिएको छ । जसले नेपाली अर्थतन्त्रलाई केही राहत दिलाएको छ । चालू वर्षको ११ महिना अर्थात जेठ महिनासम्ममा आइपुग्दा विदेशी मुद्राको सञ्चिति ७.५३ महिनाको वस्तु आयात धान्न सक्ने स्थितिमा पुगेको छ । जुन, वैशाख महिनासम्मको अवधिमा ७.३४ महिनाको मात्रै वस्तु आयात धान्न सक्ने स्थिति थियो ।

यसैगरी, अर्थतन्त्रमा देखिएको दोस्रो सुधारको सङ्केत रेमिट्यान्सको आप्रवाह हो । चालू वर्षको ११ महिनाको अवधिमा नेपालमा विदेशबाट ९ खर्ब ४ अर्ब १८ करोड रेमिट्यान्स भित्रिएको छ । जुन, ३.८ प्रतिशतको वृद्धि हो । नेपालको अर्थतन्त्र धानिरहेको रेमिट्यान्सको आप्रवाह लामो समयदेखि ऋणात्मक अवस्थामा गएको थियो । जुन, वैशाख महिनामा ०.३ प्रतिशतले सुधारिँदै लयमा फर्कने सङ्केत गरेको थियो ।

यद्यपि, अघिल्लो वर्षको ११ महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह १२ प्रतिशतभन्दा धेरैले बढेको थियो । त्यसको तुलनामा यो वर्षको ११ महिनामा बढेको रेमिट्यान्सको परिमाण न्यून भएपनि यो सुधारको सङ्केत हो । यसैगरी, यस अवधिमा अमेरिकी डलरमा रेमिट्यान्सको आप्रवाह १.५ प्रतिशतले बढेर ७ अर्ब ५१ करोड डलर पुगेको छ ।

खासगरी, पछिल्लो समय वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै रेमिट्यान्स आप्रवाह पनि बढेको हो । यस अवधिमा नेपालबाट वैदेशिक रोजगारीका क्रममा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २०८ प्रतिशतले बढेको छ । जुन, गत वर्षको यही अवधिमा ५२ प्रतिशतले घटेको थियो । विश्व अर्थतन्त्र कोभिड महामारीको प्रभावबाट बाहिरिने क्रम बढेसँगै वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ह्वात्तै बढेको हो । चालू वर्षको ११ महिनामा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५९ हजार जना वैदेशिक रोजगारीमा गएका छन् । यस्तै, यस अवधिमा ३ लाख १३ हजार जनाले नयाँ श्रम स्वीकृति लिएका छन् ।

Facebook Comments