• २८ श्रावण २०७९, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनयुद्धको उद्गमथलो होलेरीमा किन सँधै हार्छ माओवादी ? (अन्तर्वार्ता)




(रोल्पाको होलेरी माओवादी जनयुद्धको उद्गमथलो हो । माओवादीले २०५२ फागुन १ गते यहाँस्थित प्रहरी चौकी आक्रमण गरेर युद्ध शुरु गरेको थियो । यो ऐतिहासिक ठाउँमा माओवादीले स्थानीय तह निर्वाचन जित्न सकिरहेको छैन । हामीले यसको कारण खोज्ने प्रयास गरेका छौं । प्रस्तुत छ, नेकपा माओवादी केन्द्र रुन्टीगढी गाउँपालिका इन्चार्ज तथा लुम्बिनी प्रदेश सदस्य गोबिन्द पुन (नजर)सँग सिस्ने अनलाइकर्मी प्रेम क्षेत्रीले समसामयिक बिषयमा गरेको कुराकानी)


दुइपटक चुनाव हारे पनि उत्साहित पो देखिनुहुन्छ, के गर्दैहुनुन्छ आजभोलि ?

–यसमा संकोचित हुने कुरै भएन् किनभने हामी माओवादी केन्द्रका कार्यकर्ता हांै । हामी कुनै ब्यक्तिको निश्चित पदका लागि मात्र नभई सिंगो नेपाली समाजलाई आमूल परिवर्तन गर्दै सुशासन, समृद्धि एवं बैज्ञानिक समाजवाद र साम्यवादको लक्ष्यमा हिडेका यात्रीहरु हौं । त्यसैले थाक्ने निराश हुने कुरै भएन् । तर, जहाँसम्म महान यात्रा छ, त्यसलाई पूरा गर्न चाहे हजार माइलको लामो यात्रा पनि एक पाइलाबाटै सुरु हुने हो । त्यसैले जनताको परिवर्तनको चाहना होस् या आम कार्यकर्ताको परिवर्तन लक्षित असीम चाहनालाई पूर्णता दिलाउन यो अवसर गुम्नुले ढिलाई चाहिँ अवश्य भएको हो । इतिहासमा कयौं असफलतापछि पनि सफल भएको देखेका छौ, यसमा निराश हुने कुनै कारण छैन् । ढिलो चाँडो हुने कुरा स्वभाविक मान्नुपर्छ । जहाँसम्म मान्छेहरु सचेत भैसकेका हुदैनन् ।

तपाई माओवादी केन्द्रको टिकटले रुन्टीगढी गाउँपालिकाबाट अध्यक्ष पदमा दुईपटकसम्म उठ्नु भयो तर दुईपटक नै असफल हुनुको कारण के हो ? समीक्षा सकियो त ?

–जहाँसम्म दुईचोटी चुनाव असफलता भन्ने जिज्ञासा छ, यो मेरो असफलता होइन् । यो सिंगो माओवादी केन्द्रको असफलता हो । यस रुन्टीगढी गाउँपालिकामा माओवादीको प्रभाव जनयुद्धको थालनीपछि पनि २०५३÷५४ बाट मात्र सामान्य देखापर्याे । जतिखेर यस एरियामा एमाले र कांग्रेसको गढ जस्तै मानिन्थ्यो । आज यही भूगोलमा माओवादी केन्द्रले प्रतिस्पर्धा गर्ने हिम्मत राख्छ भने यसलाई असफल भन्न मिल्दैन । भलै दुई चार सय मत तलमाथि पर्नु फरक कुरा हो किनकी यो चुनाव हो । र, यस रुन्टीगढीमा हाम्रो प्रभाव थोरै कम देखिए पनि आम कार्यकर्ता शुभचिन्तक सबैले निकै राम्रो भूमिका निर्वाह गरिदिनुभयो । त्यसको लागि त म हृदयदेखि धन्यवाद दिन चाहन्छु । हार्नुको पछाडि हाम्रो पार्र्टी र लिडरसिपबाट यस ठाउँमा केही नजर नपुग्नु, आम जनताको बिकास निर्माणमा संघ र प्रदेशको बजेटमा प्रबाह नदेखिनु, कार्यकर्ताको जीवनस्तर सहज र आत्मानिर्भर बनाउन कुनै पनि रोजगार, ब्यबसाय आर्थिक उपार्जनको माध्यम, राज्यको पहुँचमा कुनै पनि सेवा सुबिधालगायत यावत बिषय समेट्न नसक्नु, नेतृत्वको ध्यान कार्यकर्ता र जनताको गुनासोसँग मेल नहुनुले यस क्षेत्र पछि पर्ने र दुईपटक हार स्वीकार गर्नुपर्नेे अवस्था देखियो ।

लगातार दुईपटक चुनाव हार्नुभयो, अब तेस्रापटक पनि चुनाव लड्ने हो ?
– यो मेरो निजी चाहनाले हुने बिषय अवश्य पनि होइन । संगठनले जिम्मेवारी दिएमा पन्छिन मिल्दैन । तर, मेरो निजी चाहना पद र प्रतिष्ठाको लागि हिजो थिएन्, आज र र भोलि पनि हुने छैन् । इतिहास र परिस्थितिले दिएको जिम्मेवारी निभाउनु मेरो हमेसा कर्तव्य रहनेछ । त्यो जिम्मा त्यतिखेरको परिस्थिति हातमा छोडिदिदा उपयुक्त होला ।

तपाई एउटा भिजन भएको र यो समग्र रुन्टीगढीका भबिष्य खोज्ने मान्छे हो, तर पटकपटक हारिरहनुपर्ने कारण के हो ?
–अवश्य यो बिडम्बना भन्नैपर्छ । रुन्टीगढीले अझै सही र सफल नेतृत्व पाउन सकिरहेको छैन् । यसको आजै मूल्यांकन नहुन सक्छ तर इतिहासले त्यो पुष्टि गर्ने ठाउँ राखेको छ । कुनै पनि काम गर्न भिजन र सकारात्मक सोच चाहिन्छ । प्रत्येक ब्यक्ति आफ्नो संघसंस्था समूहमा आबद्ध हुने गर्छन् । त्यसको जडसूत्रीय सिको गर्ने मान्छेबाट परिवर्तन असंभव छ । उसको नीति, बिचार र सिद्धान्तसँगै दूरगामी महत्व राख्ने संगठन र ब्यक्तिको आवश्यकता हुने गर्दछ । आज घाम झै छर्लङ्ग छ कि यो देश कुन पार्र्टीको एजेन्डामा चलिरहेको छ । मानौ २०४८ सालदेखि २०६४ सालसम्म पटक–पटक नेतृत्व गरेका कांग्रेस र एमाले र उसको नेतृत्वले कुनै दूरगामी निर्णय लिन सकेन किनकी उसँग भिजनको अभाव थियो । जहाँ राजाको पालामा स्थापना गरिएका कयौं सरकारी स्वामित्वका उद्योग कलकारखाना साझा यातायात लगायत कोल्याप्स पार्नेदेखि पूर्ब निर्माणाधीन भौतिक संरचनामा रमाउनुबाहेकको विकल्प खोजेनन् । राजधानीदेखि जिल्लासम्म बाटोको हालत हामीले देखेकै छौं । रोल्पाकै कुरा गर्ने हो भने २०६४ पछि नै बाटो विकासले गति लिएको हो ।

यो भन्दा पहिलेको स्थानीय सरकारबाट कति सन्तुष्ट हुनुहुन्थ्यो र अहिलेको सरकारबाट कति आशावादी हुनुहुन्छ ?

–यी दुबै सरकार एक सिक्काका दुई पाटा हुन् । एकातिर गाई हुन्छ अनि अर्काेतिर त्रिशुल फरक यत्ति हो । यिनीहरु नामले फरकजस्तै देखिन्छन् तर चारित्रीक हिसाबले केही भिन्नता छैन् । पहिलेको सरकार गोलचक्करमै नाच्यो । अहिलेको पनि त्यही मियो समाइरहेको छ । व्यबहार त सन्तुष्टि हुने ठाउँ थिएन र छैन पनि । एक, यिनीहरुको आरोप छ– द्वन्द्वले असुरक्षित भएकै कारण गाउँमा बजेट दिन सकेनौ । यदि त्यसो हो भने राजधानी र सदरमुकाममा कसको कारणले बजेट दिन सकिएन त, हामी आउदासम्म पनि हालत उहीँ देखेका होइनौ र ? आरोपै लगाउनको लागि त जेभन्दा पनि हुन्छ । काम गर्नको लागि त इच्छाशक्ति चाहिन्छ, भिजन चाहिन्छ । कुनै गाउँमा सडक, खानेपानी, सिँचाई, बिजुली कहाँनेर कति बनायौ ? भनेर सोध्नुभयो भने उनीहरुसँग जवाफ छैन् । जनतालाई भ्रम छर्ने र राज्यको ढुकुटी रित्याउनेहरुसंग धेरै आशावादी हुने ठाउँ कहाँ छ र ? पुरानै सोच र पुरानै शैलीबाट समृद्धि असंभव प्राय निश्चित छ ।

अहिलेको सरकारलाई तपाइँको के सुझाव छ ?

–ब्यक्तिगतरूपमा शुभकामना पहिले नै दिइसकेको छु । शुभ गर्नुस्, जनताको हितमा काम गर्नुस् । अफ्ठ्यारो पर्दा सहयोग, सल्लाह सुझाव लिनुस म लगायत हाम्रो पार्र्टी हमेशा तयार छ । सोच सकारात्मक राख्नुस्, सहयोग सकारात्मक नै हुनेछ । बाँकी के गर्नुहुन्छ त्यो तपाईंको बिचार हो ।

जनयुद्धको उद्गमथलो रोल्पा, त्यसमा पनि होलेरी । तर होलेरीमा माओवादी सँधै हारिरहन्छ । यो दोष माओवादी कि होलेरीबासीको ?
–रोल्पाको होलेरी सिंगो देश र दुनियाँमा परिचित थलो हो । जहाँबाट निरंकुश राजतन्त्रकोविरुद्ध पहिलो धावा बोल्दै जनयुद्धको शंखघोष गर्याे, जसले आज देशमा गणतन्त्र, संघीयता, समानुपातिक समाबेशिता लगायतका उपलब्धी भएका छन् । त्यसमा होलेरीको पनि महत्वपूर्ण देन रहेको छ । यति गर्दा पनि यो क्षेत्रले आफ्नो स्वामित्व ग्रहण गर्न नसक्नु, माओवादी केन्द्र, रुन्टिगढिको परिवर्तन चाहने आम कार्यकर्ता शुभचिन्तकको अपेक्षाको भारी बन्नुले हामीलाई दुःख लागेका छ । यस गाउँपालिका बिजय गर्नको लागि सम्पूर्ण पार्र्टी कमिटी संघ, प्रदेश र पालिका तहदेखिनै सक्रिय र जुझारु भूमिका देखिएन भने भाबी दिन पनि पछि पर्ने निश्चित छ । अंशमा कुरा नगरौ । यो मैले एक्लै जित्ने र एक्लै हार्ने कुरा होइन् । यो पार्र्टी सम्बद्ध कुरा हो, यसको जिम्मेवारी सबैले लिनुपर्दछ । दुइपटकको कुरा छ, हामीले पोजिसन बदलेका छौ, यो पनि उपलब्धि मान्नुपर्यो नि ? २०४८ देखि आफ्नो बर्चस्व कायम गरेको एमाले र कांग्रेसले कतिपटक शासन सत्ताको बागडोर सम्हाल्यो ? त्यसको हबिगत त देखेकै होइन र ? हामीले अहिलेको सरकारको नीति तथा कार्यक्रम र योजनागत दृष्टिले उनीहरु पूर्ण निष्ठाका साथ जनताप्रति उत्तरदायी नभएको हामीले देखेका छौ । अघिल्लोपटक रजगज जमाएको एमाले जसरी अहिले सकियो, अब सकिने पालो कांग्रेसको हो । हामी निरन्तर जनादेशको सम्मान गर्दै सत्ता बाहिरबाटै भए पनि जनताको पक्षमा लागिरहने छौं ।

तपाइँले रहर गरिराख्ने, रुन्टीगढीले कहर दिइराख्ने, हिसाब कहाँ मिलेन् ?
–यो मेरो रहरको बिषय फिटिक्कै होइन् । यो त मैले पार्र्टी संगठनले दिएको जिम्मेवारी बहन गरेको हो । जहाँसम्म मलाई पार्र्टीले बिश्वास गर्छ भने म पछि हट्न मिल्दैन् । हामीले ब्यक्तिगत रुपमा पद र प्रतिष्ठाको लागि यो पार्र्टी रोजेका होईनांै । तर पाएको जिम्मेवारी जो कोहिले पुरा गर्नुपर्छ । मैले त्यही पूरा गरेको हुँ। यसलाई कहर र रहरको बिषय नबनाई जनताले दिएको दिउटीको रूपमा लिनुपर्दछ । र दिउटी जसरी निभाउनु पर्छ। कुरा कहाँनेर सत्य छ भने वास्तवमा परिवर्तन कसलाई खाँचो छ ? र कसले त्यो जिम्मेवारी पूरा गर्न सक्छ भन्ने जनताले बुझ्न जरुरी छ । नकि बिचौलिया स्वार्र्थी समुदायले परिवर्तनको फाईदा जनतालाई आगामी दिनमा बुझाउन सक्नुपर्छ । त्यहिनेर हामी र हाम्रो जनताको भबिष्यको सुनिश्चितता छ भन्ने मलाई लाग्दछ । तर वास्तविक कुरा नबुझाउँदा परिवर्तनको प पनि उच्चारण नगरेकोले नै आफ्नो स्वार्थ पूरा गर्ने थलो बनाउछन् । सबै सचेत बन्न जरुर छ ।

आउँदो मंसिरको निर्वाचनको तयारी कस्तो हुँदैछ ? तपाईंको संभावना अनि पार्र्टीको बिश्वास के ?
–आउदो मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको निर्वाचन हुदैछ । जस अभियानमा हाम्रो पार्र्टीलाई बिजय बनाउन सिंगो पार्र्टी कमिटी लागिपर्दा म एउटा सिपाही छुट्ने कुरै भएन् । मेरो क्षमताले भ्याएसम्म म निरन्तर पार्र्टीलाई बिजय बनाउने प्रयत्न रहनेछ । जहाँसम्म मेरो संभावना र पार्र्टीको मूल्यांकनको कुरा छ, मेरो मूल्यांकन नभएको भए पार्र्टीले पटक–पटक टिकट दिनेनै थिएन् । र सधैं हर संभावनाहरु हाम्रो माझ हुने गर्छन्, जुन संभावनालाई सहि समयमा सहि निर्णय लिन सक्यौं भने र आवश्यकतालाई बुझ्यौं भने त्यो संभावना बाहिरको कुरा पनि भएन् ।

तपाईलाई पार्र्टीले आवश्यकता ठानेछ भने तपाइको नाम चिनाउनको लागि काम के हुनेछ ?
–यसमा मेरो नाम चिनाउने ब्याक्तिगत आकांक्षा छैन्, म पार्र्टीको हित बिपरित कुनै पनि निर्णय लिदैन् । किनकि म भित्रको नैतिकता गुमेको छैन् । म भन्दा थुप्रै योगदान गरेका सिनियर साथीहरू पनि हुनुहुन्छ, तर यो ठाँउले नेतृत्वदायी भुमिका नपाएको चाहिँ अवश्य हो , यसमा पार्र्र्टीले मूल्यांकन गर्ला, यद्यपि पार्र्टीले यो भूगोल र यहाँको मतदातालाई सम्मान गरेर न्याय दिने कोसिस गरेछ भने त्यसमा मेरो सबै शक्ति खर्चिन तयार हुनेछु ।

प्रतिष्पर्धा गर्ने अवसर पाए तयार हुनुहुन्छ ?
–त्यो अवसर भन्ने चिज चुनौती सँगै बेरिएर आउने गर्दछ । जसलाई सामना गर्ने हिम्मत म राख्दछु । किनकी म चुनौती सँग धेरै परिचित मान्छे हुँ, मलाई खास लग्दैन् । हर चुनौतीलाई चिरेर संभावना खोज्न सक्ने त्यो आत्माबिश्वास अझै छ । जिउँदा र उर्जाशिल मान्छेहरुले मृत्युतुल्य मान्छेहरुको सपना पुरागर्न निदाएर होइन् । जागाराम सपना देख्नुस त्यो सपाना पूरा हुन्छ ।

अन्तमा केहि भन्न चाहनुहुन्छ ?
–सर्वप्रथम त मेरो बिचारलाई प्रस्तुत गर्न अवसर दिनुहुने तपाईं लगायत तपाईको सिस्ने अनलाइन मिडियालाई विशेष धन्यवाद दिन चाहन्छु, र आम जनसमुदाय शुभचिन्तक विशेष त रुन्टीगढी बासीलाई हाम्रो पार्र्टीको लागि हदै सहयोग गर्नु भयो, भाबी दिनमा पनि यसरी नै गर्नुहुनेछ भन्ने अपेक्षा राखेकोछु । बाँकी तपाईहरुको अपेक्षा र सपना पूरा गर्न म हर्दम तयार छु, र हुनेछु भन्ने बिश्वास दिलाउन चाहन्छु । धन्यवाद ।

Facebook Comments