• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली गाउँपालिकाको नीति तथा कार्यक्रम ‘एकघर एक धारा, गाउँ-गाउँमा कृषि एम्बुलेन्स’




दाङको बंगलाचुली गाउँपालिकाले बिहीबार  आर्थिक वर्ष २०७९/०८० को आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर शुवासले बंगलाचुली गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । गाउँपालिकाले æमानविय विकास,भौतिक पूर्वाधार र उत्पादनमा लगानी, संमृद्ध बंगलाचुलीको विहानी भन्ने नारालाई ध्यानमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा गाउँपालिकाको सबै पक्ष क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
बंगलाचुली गाउँपालिकाको “सबै मिलीजुली, हामी बनाउँछौँ हाम्रो बंगलाचुली” को दिर्घकालिन सोच हासिल गर्न प्रथम पञ्चवर्षिय योजनाले लिएका लक्ष्य, उद्देश्य, प्राथमिकता तथा रणनीतिहरु कार्यान्वयन गर्दै गरिबी निवारण र आर्थिक-सामाजिक रुपान्तरण सहितको समानुपातिक समावेशी विकास हाँसिल गर्ने गरी नतितथा कार्यक्रम निर्माण गरेको छ ।
भौगोलिक बिकटताका कारण खानेपानी समस्याको असाध्यै पीडा र अभाव पालिकावासी झेल्दै आइरहेकाले खानेपानी योजना निर्माण र यातायात असुविधाका कारण स्थानीय उत्पादनका कृषि उपजका वस्तुुहरु बजारीकरणको समस्याका कारण किसान मारमा परिरहेकाले गाउँ गाउँमा कृषि एम्बुलेन्सको सेवा सञ्चालन गर्ने तय गरेको छ ।
पालिका क्षेत्रको तापा, साकिने, बंगालचुली, लाहापे, थुक्का, लाहापे लामाटोल, लोहारपानी, जैरेकुरे, झाँक्रीरह –रोकिन्डाँडाँ, जलजला सोलार लिफ्ट, टोट्केलेख, जोरगेल, बचेनी, सुन्दरवस्ती, जबरकोट, जैरेकुरे छापडाँडाँ–जबरकोट, हाँसीपुर लिफ्ट, टिकुलिदमार डाङ्गडङु्गे खानेपानी आयोजना निर्माण सम्पन्न गरी आगामी पाँचवर्षभित्र हरे घरघरमा शुद्धस्वच्छ खानेपानी सेवा विस्तार गरिने नीति तथा कार्यक्रम तय गरेको छ ।
गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि ‘कृषिका लागि सहज रुपमा अनुदान र ऋण, बंगलाचुलीमा फेरिनेछन् अब किसानका दिन ’ भन्ने मुलनारालाई आत्मसाथ गर्दै कृषि क्षेत्रको व्यावसायिकरण र आधुनिकरणसँगै एक वडा एक कृषि प्राविधिक एक वडा एक अन्न भण्डार केन्द्र समेत स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
कृषि क्षेत्रको विकास नै ग्रामिण अर्थतन्त्रको मुख्य आधार रहेकाले उत्पादित कृषि उपजका वस्तुहरुलाई बजारसम्म पुर्याउन हरेक गाउँमा कृषि एम्बुलेन्स सेवा समेत सञ्चालन गर्ने तय गरेको छ । जसले कृषकहरु ढुवानी समस्याको अन्त्य गरी उत्पादित वस्तुहरुले सहज बजार र उपभोक्ताले ताजा कृषि उपभोग्य वस्तु उपभोग गर्न पाउने आशा राखिएको छ ।
गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीको अध्यक्षमा भएको नीति तथा कार्यक्रम सार्वजानिक कार्यक्रममा पालिका अध्यक्ष तुलसीराम पुन (सुवास)ले पालिकाको आगामी पाँचवर्षे योजना सहित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा नं. २ देखि वडा नं. ८ को जौलेवाद सम्मको सडक पूर्वाधार निर्माण आयोजनालाई पालिकाको गौरवको आयोजनाका रुपमा विस्तार गर्ने भएको छ । आफ्नो नीति तथा कार्यक्रममा उक्त सडक पूर्वाधार निर्माण आयोजनालाई बंगालचुली‘ रिङरोड’का रुपमा विस्तार गरिने तय गरेको छ । बंगलाचुली वडा नं. २ मर्पेस खाडा –पुरुङछेडा–फाँटा, बागी, काँभ्रे पन्तटोल, श्रीवारी, दाङबाङ, भुटनेटा, मुर्कुटी घरीचौर–लाहापे, कोइराले–बिर्खे–बगरखुट्टी – ठूलागैरा–झुण्डी , हाँसीपुर–मुलाबारी –गहतेरा –जैलेवाद सडक निर्माणले पालिकाको मुहार फेर्ने लक्ष्यका साथ पालिकाको गौरवको आयोजनाका रुपमा विकास गरीने भएको छ ।
त्यस्तै दुर्गम बंगलाचुली स्वास्थ्य सेवाको पीडा र समस्याबाट पनि उस्तै ग्रसित बन्दै आइरहेको छ । त्यही पीडामा मलम लगाउन पालिकाले १५ बेडको अस्पताल सञ्चालनमा ल्याइसकेको छ । ‘स्वाथ्य जीवन नागरिकको अधिकार , स्थानीय सरकारको मुख्य कार्यभार’ भन्ने मुलनाराका नागरिकको स्वास्थ्य सेवालाई मजबुत बनाउदै हरेक वडाको स्वास्थ्य स्तरोन्नती तथा अति विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा स्वास्थ्य सेवाको विकास थप संरचना, उपकरण र जनशक्ति व्यवस्थापन सहित नमूनायोग्य स्वास्थ्य सेवा प्रवाह गरिने तय गरेको छ ।
त्यस्तै आगामी वर्षभित्रमा हरेक टोलका खरका छानो मुक्त गर्ने लक्ष्यका साथ हालसम्म पालिकाभित्र करिव २२ सय घर खरमुक्त गरिसकाले अब वाँकी घरलाई खरमुक्त छानो बनाउने , एक घर एक रोजगारी सिर्जना गरी आर्थिक रुपान्तरण समेत हरेक गाउँवस्तीलाई जोड्ने , विद्युतिकरणको गर्दै उज्यालो बंगालचुली समेत हरेक वस्ती वस्तीमा विद्युतसेवा समेत विस्तार गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको सभाअध्यक्षतामा सभा बसेको थियो । सो अवसरमा सभाका सदस्यहरु डाँस बहादुर डाँगी,गणेश विश्वकर्मा, भुपेन्द्र मल्ल,नारायणी गिरी र बुधे दमाईले निति तथा कार्यक्रमको विषयमा आफ्नो विचार तथा जिज्ञासा राख्नुभएको थियो ।

भने सभामा उठेका जिज्ञासाहरुको जवाफ गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर शुवासले दिनु भएको थियो । बंगलाचुली गाउँपालिकाको बजेट भाषण भोलि विहान ११ बजे हुने छ ।

कार्यक्रमको सहजीकरण बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाण्डेले गर्नुभएको थियो ।कार्यक्रममा सभाका सदस्य तथा विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

Facebook Comments