• १९ असार २०७९, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
इच्छुकको आदर्श र आजका मिडिया




महेश्वर दाहाल

प्रत्येक वर्षको जेठ १३ गते कृष्ण सेन स्मृति दिवस मनाइन्छ, अग्रगमनको पक्षमा लेखे वापत अग्रज पत्रकार तथा साहित्यकार कृष्ण सेनलाई तत्कालीन राज्यसत्ताद्वारा हत्या गरिएको यो दिनको स्मरण गर्दै । यो दिन सेनको शब्द, कर्मका बारेमा देशभरि नै चर्चा–परिचर्चा हुन्छ । यस वर्ष पनि भयो ।

प्रेस सेण्टर, नेपालले कृष्ण सेनको नाममा वर्षेनी दिइने गरिएको पत्रकारिता पुरस्कार यस वर्ष मलाई दियो । गत साल कोभिड महामारीका कारण रोकिएका यो पुरस्कार पनि यस वर्ष नै अर्का सहकर्मीलाई दिइयो । वरिष्ठ पत्रकारद्वय शक्ति लम्साल र तारा न्यौपानेको नामका दुई वर्षको पुरस्कार पनि यसै दिन दुई सहकर्मीहरुलाई दिइयो भने प्रेस सेण्टर नेपालले अर्को वर्षदेखि जनयुद्धमा तत्कालीन सत्ताद्वारा बेपत्ता पारिनुभएका चित्रनारायण श्रेष्ठ र मिलन नेपालीका नाममा पुरस्कार दिने महत्वपूर्ण निर्णय गरेको छ ।कृष्ण सेनको नाममा पुरस्कार लिंदा मलाई बेग्लै अनुभूति भएको छ । मलाई उहाँसँग जोडिएर विद्यार्थी आन्दोलन र पत्रकारिता सँगै गरेको झल्झली याद आइरहेको छ । कृष्ण सेनको वलिदानको दिन, मैले पत्रकारिता पुरस्कार पाएको दिन, विद्यार्थी आन्दोलन र पत्रकारिताको स्मरणमा राति निकै बेर भावुक भएँ । अध्यक्ष प्रचण्डले पुरस्कार समारोहमा कृष्ण सेनको विशाल व्यक्तित्वका बारेमा गरेको चर्चाको सन्दर्भ सम्झेर मलाई सान्त्वना दियो । भौतिक शरीर नभए पनि कृष्ण सेन मरेका/मारिएका छैनन् अझै धेरै समय बाँचिरहने अध्यक्ष प्रचण्डको भनाइमा म सहमत भएँ । विहान उठेर केही लेख्ने योजनाका साथ सुतें ।

सेनसँगको कैयन वर्षको सामिप्यतालाई एउटा लेखमा समेट्न सम्भव छैन । म केवल कृष्ण सेनसँग भेट र मेरो पत्रकारिताको यात्रामा सेनको भूमिकाका बारेमा यहाँ छोटो स्मरण मात्र गर्दैछु ।

२०४४ सालमा कृष्ण सेनसँग मेरो पहिलो भेट भएको थियो । विद्यार्थीको सम्पर्क हुने घण्टाघरको मुनि । त्यो निरंकुश पञ्चायती व्यवस्थामा अहिले जस्तो विद्यार्थीको व्यवस्थित कार्यालय थिएन । त्यो बेलामा सम्भवत गोरखाका कमल अधिकारी, लमजुङका बाबुराम विश्वकर्मा, गोरखाका शहीद शिव श्रेष्ठ र सूर्यप्रकाश सुवेदी पथिक मार्फत् हाम्रो भेट भएको थियो । मैले धेरै महिनादेखि खोजेको त्यो व्यक्तित्व, असाध्यै मिजासिलो, कुनै रवाफ नभएको, सरल स्वभाव, पातलो शरीर, गहुँगोरो त्यो अनुहार, न धेरै अग्लो न त धेरै होचो, छड्के पारेर खैरो रंगको ऊनको झोला भिरेको हुनुहुन्थ्यो । मैले कल्पना गरेको भन्दा सेनको शारीरिक वनावट र स्वभाव विल्कुलै अलग । सेनलाई पहिलो पटक देख्दा साँच्चै पत्यार नै लागेन ।

सेनको नाम निकै पहिलादेखि सुनिएको थियो । काठमाडौंको सार्वजनिक भित्तामा सेनको रिहाइका लागि लेखिएका अक्षरहरु मेटिएका थिएनन् । शान्ति सुरक्षाका नाममा लगातार पाँच वर्षभन्दा बढी, सम्भवतः सबैभन्दा धेरै वर्ष लगातार जेल बसेको विद्यार्थी नेतामा कृष्ण सेन हुनुहुन्थ्यो । मैले भेट्दा उहाँ केही अघि मात्र लामो जेल बसाइबाट छुट्नुभएको थियो । मेरो पिताले सिन्धुलीबाट काठमाडौंमा आउँदा कृष्ण सेनलाई सम्पर्क गर्न चिट्ठी लेखिदिनु भएको थियो । त्यो चिट्ठी मैले दुई/तीन महिना खल्तीमा नै राखेर सायद हराएँ । साथीहरुसँग गएकाले त्यो पत्रको आवश्यकता परेन पनि । मेरो नाम भन्ने वित्तिक्कै उहाँले पनि खोजिरहेको बताउनुभयो । त्यसपछि म नियमित घण्टाघरको सम्पर्कमा जान थालें । सिन्धुलीबाट गरिएको विद्यार्थी संगठनको कडी काठमाडौंमा जोडियो ।
सरकारका विरुद्ध संयुक्त विद्यार्थी आन्दोलन भयो । त्यो आन्दोलनमा कृष्ण सेनसहित सूर्यप्रकाश सुवेदी पथिक, ईश्वरचन्द्र ज्ञवाली लगायत हामी थुप्रै गिरफ्तार भयौं । नौ महिना जेलमा सँगै बस्यौं । जेलमा बस्दा सेनसँगको घनिष्ठता धेरै भयो । सेन र हामी परिवारको सदस्य भयौं । मेरो दिदी/वहिनीको हातबाट वर्षौं टीका लगाएर परिवारको दाइको भूमिकामा उहाँ रहनुभयो । मेरो विवाहका लागि केटी हेर्ने र विवाहमा मुख्य अभिभावकत्व ग्रहण गर्ने काम पनि उहाँबाट नै भएको हो ।

जेलबाट निस्केपछि सेनले आफूले संगठनात्मक कामबाट भन्दा लेखनबाट मुख्य भूमिका खेल्ने प्रस्ताव पार्टीमा राखेपछि उहाँलाई योजना साप्ताहिकमा सम्पादनको जिम्मेवारीमा खटाइयो । योजना साप्ताहिक त्यतिवेलाको नेकपा (मशाल) को अघोषित मुखपत्र थियो । पार्टीले वैचारिक तथा व्यवस्थापनको जिम्मा भक्तबहादुर श्रेष्ठ र ईश्वरीप्रसाद दाहाललाई दिएको थियो । त्यतिवेला सम्पादनको मुख्य भूमिकामा वरिष्ठ पत्रकार शक्ति लम्साल हुनुहुन्थ्यो । सुरेश आले मगर, बाबुराजा महर्जन, यदु गौतम, कुमार दाहालहरु पहिलेदेखि नै त्यहाँ कार्यरत हुनुहुन्थ्यो । सेनले त्यहाँ मलाई काम गर्न सँगै लैजानु भयो । तर, त्यतिबेला विद्यार्थी संगठन छाड्ने इच्छा नहुँदा नहुँदै मैले उहाँको आग्रह मानें ।

योजना साप्ताहिकमाथि त्यतिवेलाको शासकको सबैभन्दा ठूलो प्रहार थियो । तत्कालीन अञ्चलाधीशको कार्यालयबाट कडा सेन्सरसिप लगाइएको थियो । फलामको अक्षरबाट कम्पोज हुने त्यो बेलाको पत्रिकामा अञ्चलाधीशको कार्यालयका अधिकारीहरुले सेन्सर गरेर अक्षर झिकिदिंदा पत्रिका बजारमा पुग्दा चाल्नो जस्तो हुन्थ्यो । पत्रिकामाथि निरन्तरको निगरानी र आक्रमण तथा पार्टीबाट पनि व्यवस्थापन गर्न कठिनाइ भएपछि पत्रिकालाई निरन्तरता दिन कठिन भयो ।

त्यतिवेला वहुदलीय व्यवस्थाको स्थापनाका लागि आन्दोलन चल्दै थियो । वहुदलीय व्यवस्थाको स्थापनाको केही समयपछि क्रान्तिकारी पार्टीहरु नेकपा (मशाल), चौथो महाधिवेशन, सर्वहारावादी श्रमिक संगठनबीचमा पार्टी एकताका लागि एकता संयोजन समिति बन्यो । त्यसपछि मोहन बिक्रम सिंहले नेतृत्व गरेको तत्कालीन पातलो मसालमा हरिबोल गजुरेल, बाबुराम भट्टराईको नेतृत्वमा फुट भयो ।

तत्कालीन पार्टी नेता बाबुराम भट्टराईको पहलमा जनादेश साप्ताहिक दर्ता र सञ्चालन भयो । एकता महाधिवेशनमा कृष्ण सेनले केन्द्रीय सदस्यभन्दा लेखनबाट नै आन्दोलनमा सहयोग गर्ने इच्छा व्यक्त गरेपछि जनादेशको नेतृत्व गर्ने गरी पार्टीले खटायो । त्यसमा कृष्ण सेनले आफ्नो टिममा मलाई जोड्नुभयो ।
पत्रकारितामा कृष्ण सेनको अगुवाइ र आदर्शलाई पछ्याएर निरन्तर लागिरहेँ । साहित्य लेखन र पार्टी आन्दोलनमा सेन निकै पहिलादेखि भए पनि पत्रकारिताको क्षेत्रमा सँगसँगै लाग्यौं । सेन र हामीले सुरु गरेको पत्रकारिताभन्दा अहिलेको पत्रकारिता निकै फरक छ ।२०३६ सालको आन्दोलनपछि मिडियाहरू निरङ्कुश पञ्चायती व्यवस्थाका बाबजुद विविधतायुक्त थिए । भलै त्यतिवेला राज्यको कडा सेन्सरसिप थियो । ०४६सालको जनआन्दोलनपछि केही वर्षसम्म मिडियाहरू साँच्चै फस्टाएका थिए । तिनीहरूले राजनीति, सामाजिक तथा आर्थिक जीवनका विभिन्न पक्षलाई उजागर गर्ने, बहस गर्ने गर्दथे । ती विभिन्न राजनीतिक पार्टीहरूको विचारसँग निकट थिए । कोही दक्षिणपन्थी, कोही यथास्थितिवादी तथा कोही वामपन्थी विचारहरूसँग निर्देशित भएर प्रकाशित हुन्थे । ती पत्रिकाहरु पार्टीका विचार, राजनीति, आर्थिक, साँस्कृतिक विषयमा तीब्र बहस गर्ने माध्यम थिए ।

सन् ९० को दशकपछि विश्वको अर्थतन्त्र नवउदारवादी बजार व्यवस्थामा मोडियो । नेपालमा पनि त्यसको हावा र प्रभाव बढ्दै गयो । मिडियाको क्षेत्रमा अवसर देखेर ठूलो आर्थिक लगानी यस क्षेत्रमा गरियो । विस्तारै पार्टी निकट र मुद्दा केन्द्रित मिडियाहरू कमजोर हुँदै गए । मिडियालाई सामाजिक सेवाको माध्यम नभई एक व्यापार उद्योगको रूपमा परिणत गर्दै लगियो । आर्थिक लाभ लिने एकमात्र उद्देश्यले ठूलो लगानी गरेर मिडिया चलाइए । साँचो अर्थमा समाचार उपभोक्ता उत्पादनमा परिणत हुँदै गए, अहिले त्यो पक्ष हावी बनेको छ ।

खासगरी विश्वमा १९९० यस्तो समय थियो जुनबेला नेपालमा बहुदलीय व्यवस्थाको पुनःस्थापना भयो, त्यति नै बेला बर्लिनको पर्खाल भत्कियो । सोभियत सङ्घ विघटन भयो । शीतयुद्ध समाप्त भई तथाकथित कम्युनिष्ट मोडेल असफल भए । यो सबै घटनाको विश्लेषण गर्दै फ्रान्सिस फुकुमायाले ‘इतिहासको अन्त्य’ भयो भने । यसको अर्थ खुलाबजार तथा बहुदलीय लोकतन्त्र अब मानव जातिको अन्तिम गन्तव्य हो भन्न थालियो । स्यामुअल हण्टिङ्गटनले पनि विचारधाराको अन्त्य भनेर व्याख्या गर्दै ‘सभ्यताको द्वन्द्व’ सुरुआत भने । अबको संसारमा द्वन्द्वको आधारभूत स्रोत विचार र अर्थतन्त्र नभएर मानव जातिको ठूलो विभाजन साँस्कृतिक तथा सभ्यताहरूको हो भन्ने मान्यता उनले ल्याए ।

उनीहरुबाट यो घोषणा हुँदै गर्दा र विश्वमा यसको प्रचार भइरहँदा विश्वलाई नै चकित पार्ने गरी अध्यक्ष प्रचण्डको नेतृत्वमा नेपालमा कम्युनिस्ट व्यवस्था स्थापनाका लागि जनयुद्ध भयो र फैलियो । योसँगै जनपक्षीय पत्रकारिता सशक्त बन्यो । सेनको वलिदानको समयसम्म पनि क्रान्तिकारी पत्रकारिता प्रभावकारी नै थियो । विज्ञापन तथा मूल्य वृद्धिले विविधतायुक्त विचार प्रधान मिडियाहरू विस्तारै विस्तारै सीमान्तकृत हुँदै गए पनि जनयुद्धको राप र तापले जनादेशको लोकप्रियता भने बढ्यो, देशव्यापी बिक्री बढ्यो ।सेनले हामीलाई निरन्तर सिकाउनु हुन्थ्यो, हामी पत्रकारितामा लोकप्रिय हुनका लागि आएका होइनौं ।
हामी उत्पीडित वर्ग र समुदायको पक्षमा लेख्ने, उनीहरुको स्थिति सुधार्न कर्तव्य पूरा गर्ने गरी आएका हौं । उहाँले धेरै पटक भन्नुहुन्थ्यो, मानसिक सन्तुलन गुमाएको सेनालाई बन्दुक दिएमा त्यसले पार्ने क्षति र एउटा अनियन्त्रित र अराजक कलमले पार्ने क्षति उस्तै हुनसक्छ । पत्रिकाको प्रकाशन व्यवसाय भए पनि पत्रकारिता आफैं व्यवसाय र पेशा नभएकोमा उहाँको जोड थियो । हामीले सञ्चालन गरेका मिडियाहरु प्रगतिशील सामाजिक परिवर्तनको लागि शक्ति हुनुपर्ने उहाँको मान्यता थियो । जनकवि समेत रहनुभएका कृष्ण सेनले पत्रकारिताको लेखनलाई पनि कवितासँग जोड्दै भन्ने गर्नुहुन्थ्यो, यसको सम्बन्ध घटनासँग मात्र नभएर भावनासँग हुन्छ, पत्रकारिता जनताले महसुस गर्ने गरी जीवन्त कविता हुनुपर्छ ।पछिल्लो ३३–३४ वर्षअघि योजना साप्ताहिकबाट सुरु भएर दुई दशकअघिसम्म सेनसँग गरिएको पत्रकारिताभन्दा अहिले विल्कुलै भिन्न अवस्था छ । सेनले गरेको परिभाषाभन्दा फरक रहेको छ । अरु त अरु जनपक्षीय पत्रकारिता पनि बत्ती बालेर खोज्नुपर्ने अवस्था छ । उहाँले भने र गरे जस्तो जनपक्षीय पत्रकारिता नेपालमा लगभग छैन ।

सेनले पछिल्लो समय पत्रकारिता गर्दा इण्टरनेट, दूरसञ्चार, कम्प्युटर, सेटलाइटको प्रविधिको विकास हुँदैे थियो । यसको विकासले सूचना स्रोतमा आमजनताको पहुँच महत्वपूर्ण रुपमा कायम हुँदै थियो । नयाँ प्रविधिको विकासले माओवादी जनयुद्धकालमा सूचना तथा विचारको सम्प्रेषणमा पनि राम्रो भूमिका खेल्यो । इण्टरनेटले राजनीतिक, सामाजिक तथा सांस्कृतिक, आर्थिक समस्याका धेरै प्लेटफर्महरू खोलेको थियो । यसबाट सूचनाहरू लोकतान्त्रिक र प्रभावकारी हुने अपेक्षा धेरैले गरेका पनि थिए ।

पहिलो चरणमा सूचना प्रविधिको विकासले सकारात्मक नै काम गरेको हो । तर, सूचना तथा सञ्चारको विश्वव्यापी हस्तक्षेपकारी भूमिकाले लोकतान्त्रिक प्रक्रिया अहिले उल्टो दिशातिर गइरहेको देखिएको छ । अहिले सूचना प्रविधि तथा जैविक प्रविधिको एकीकरण र नियन्त्रण बढेको छ, कृत्रिम बौद्धिकता पैदा गरिएको छ । डिजिटल एकीकरणले निम्त्याउने समस्यालाई थेग्न नसक्ने अवस्थामा हामी पुग्दै गएका छौं ।

फेसबुक, गुगल, ट्विटर र अन्य सामाजिक सञ्जाल कम्पनीहरूको बर्चस्वको लडाईं चलेको छ । तर, ती सबैले साना तथा सामरिक रुपमा कमजोर देशका संस्कृति, सभ्यता र लोकतन्त्रलाई कमजोर बनाइरहेका छन् । नाफा कमाउने, लोकतन्त्रको अवमूल्यन, व्यक्तिको निजी स्वतन्त्रतामाथि आक्रमण गर्ने, साइबर आक्रमणलाई सुविधा उपलब्ध गराउने, सामाजिक सुरक्षाको अवमूल्यन, फेक न्युज फैलाउने, सामाजिक दङ्गाका लागि घिउ थप्ने जस्ता नकारात्मक कार्यमा समेत यिनीहरू सक्रिय छन् ।

यसरी डिजिटल एकीकरणले नयाँ बजारको विस्तार गरी अर्बौँ मानिसमा जोडिदिएको छ । सूचना प्रविधि र कृत्रिम बौद्धिकताले औँलामा नियन्त्रण गर्न सक्ने अवस्था निर्माण गरेको छ । यस्ता डिजिटल कम्पनीहरूले आमचुनावमा समेत आफ्नो अनुकूलको प्रभाव छोड्न सक्ने देखिएको छ । विश्वलाई औद्योगिक औपनिवेशिक युगबाट अब दिमागलाई प्रविधिबाट कन्ट्रोल गरी डिजिटलको औपनिवेशिक युगतिर डोहो-याइएको छ । यो मिडिया तथा प्रविधिको एकीकरणले वास्तविक लोकतन्त्रलाई तीव्ररूपमा क्षयीकरण गरिरहेको छ । झुटा सूचना र समाचारको बाढी योजनाबद्ध सम्प्रेषण गरेर जनतालाई भ्रमित पारिएको छ ।

सूचनाको स्वतन्त्र छनौट र विश्लेषणको स्तरमा जनतालाई नलैंजाँदा ठूलठूला राजनीतिक दुर्घटनामा हाम्रो जस्ता मुलुक पर्ने खतरा छ । अहिलेको प्रविधिको विकास र प्रायोजित तथा गलत सूचनाको बाढीले विविधतायुक्त समाज तथा संस्कृति निर्माणको प्रक्रियामा अवरोध सिर्जना गरिरहेको छ । सूचना तथा प्रविधिमा मानिसको पहुँच त धेरै छ । तर, राजनीतिक ध्रुवीकरण र प्रविधिको विकासको संयोजनले घृणायुक्त भाषण तथा अपुष्ट समाचार तथा गलत अवधारणाको प्रसारलाई निर्वाध प्रोत्साहन गर्दा मानिसको स्वतन्त्रतालाई विस्तारै सेल्फसेन्सरसिपको अवस्थामा धकेलिरहेको छ । प्रविधि त हावी भएको छ तर जनहितकारी वास्तविक सूचनाहरू ओझेलमा परिरहेका छन् । मिडियामा उदारीकरणले साना लगानीका कतिपय मिडियाहरू समेत अस्तित्व धान्नका लागि अभिजात वर्गलाई सशक्तीकरण गर्ने माध्यम बन्न बाध्य भइरहेका छन् ।

यसैले सेनले पत्रकारिता गरेको बेलामा भन्दा सूचना प्रविधिको विकासले स्रोत र सूचनामा आमजनताको पहुँच भए पनि आजको पत्रकारिता अझ कठिन अवस्थाबाट गुज्रिरहेको छ । लोकतन्त्र र समाजमा यसले खेल्ने भूमिका बदलिएको छ । कुन समाचार झुटो र कुन सत्य हो भन्ने छुट्याउन आमजनतालाई कठिन भएको छ । कुन जनपक्षीय र कुन नाफामुखी पत्रकारिता अलग गर्नै नसकिने अवस्थामा छ । उदाहरण दिनेसक्ने प्रभावकारी जनपक्षीय मिडिया नै अहिले नेपालमा चलेको छैन ।

आमजनतासँग सम्बन्धित वास्तविक सामाजिक र आर्थिक विषयलाई सीमान्तीकृत गरी सतही विषयहरूले मान्छेको दिमागलाई कब्जा गरिएको छ । लोकप्रियताको होडबाजीमा वैज्ञानिक सोचलाई प्रोत्साहित गर्नुको सट्टा आफूतिर ध्यान आकर्षित गर्न झूट र कुतर्कको सहारा लिने गरिन्छ । हिजो परम्परागत मिडियाले प्रायः अपनाउने कुनै पनि सूचना, वस्तुनिष्ठता, सन्तुलन र तथ्य जस्ता आधारभूत सिद्धान्तहरू आजका मिडियाले छाड्दै गएको अवस्था छ । तथ्य र काल्पनिकताबीचको भिन्नताको रेखा मेटिदैं गएको छ । सूचनाको महासागर त सिर्जना भएको छ तर त्यसको छनौट र स्वतन्त्र विश्लेषण गर्ने पाठक, स्रोता नहुँदा अनि त्यसलाई विश्लेषण गर्ने जनपक्षीय मिडिया नहुँदा प्रगतिशील मुद्दा कमजोर हुन्छ ।

तर, हामीले नचाहँदा नचाहँदै हावी भइरहेको साम्राज्यवादी र विकृत यो मिडिया लहर उत्पीडित वर्गन्यायका लागि सचेततापूर्वक समाजवादको योजना, कार्यक्रम र बहससँगै अन्ततः नियन्त्रणमा आउने छ । पत्रकारिताले पनि प्रबिधिलाई उपयोग गर्ने तर त्यसको साम्राज्य स्वार्थलाई अस्वीकार गर्ने परिस्थिति हावी हुने नै छ । सेनले सिकाएजस्तै विचार, संस्कृति र सभ्यताको जनवर्चस्व अन्ततः स्थापित हुनेछ र गर्नुपर्छ ।

Facebook Comments