होलेरी, २५ चैत । रोल्पाको रुन्टीगढी गाउँपालिकामा सामुदायिक वन विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ग्रीन फाउण्डेशन नेपाल र वन महासंघको संयुक्त आयोजना तथा रुन्टीगढी गाउँपालिकाको सहकार्यमा बुधबार होलेरी सो कार्यक्रम सम्पन्न भएको हो ।
रुन्टीगढी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सानुबाबु खड्काले सामुदायिक वन विकासका लागि हिजोको जस्तो सोच तथा चिन्तनले नभएर अब नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताए । उनले वन र वनसँग सम्बन्धित जडीबुटी लगायतका अन्य स्रोत तथा साधनलाई संरक्षणसँगै उत्पादनमा जोड्नुपर्ने विशेष जोड दिए ।
सामुदायिक वनको विकास भन्दापनि पहिले वन समितिमा विकास ल्याउनुपर्ने र वन पैदवारलाई व्यवस्थित, संरक्षण गर्नुपर्ने भएतापनि त्यसमा नियन्त्रण तथा नियमन गर्ने निकायको अभावमा सामुदायिक वनमा सबैभन्दा बढी बजार क्षेत्रमा अतिक्रण बढेको हुनाले सो अतिक्रमण क्षेत्रलाई हटाउन स्थानीय सरकार निरन्तर अगाडि बढिरहेको उनको भनाइ छ ।
सब–डिभिजन वन कार्यालय होलेरीका प्रमुख गौतम ख्वालापालाले २०३३ सालमा सामुदायिक वनको गठन भएको बताए । उनले रुन्टीगढी गाउँपालिकाभित्र ९६ वटा सामुदायिक वन समूहहरु भएतापनि सामुदायिक वनले वनको कार्य योजना अनुसार वन पैदवार निकाल्न नसक्दा आर्थिक रुपमा समस्या देखिएको जिकिर गरे ।
उपभोक्ताहरुमा खर्च हुने वन पैदवारमा कुनैपनि कर नलाग्ने तर उपभोक्ता भन्दा बाहिर वन पैदवार दिदा भने २५ प्रतिशत कर लाग्ने र सामुदायिक वनमा भएको आर्थिकमा ४० प्रतिशत वन विकासमा, ३० प्रतिशत स्थानीय सरकारसँग समन्वयमा र ३० प्रतिशत सामाजिक कार्यमा खर्च गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा ग्रीन फाउण्डेशन नेपाल दाङ शाखाका कोषाध्यक्ष खुमप्रसाद भण्डारीले सामुदायिक वनलाई आर्थिक उपार्जनमा कसरी जोड्न तथा दिगो वनाउन सकिन्छ भन्ने उद्देश्यले फाण्डेशन लागिपरेको बताए । उनले वनबाट उत्पन्न हुने बन पैदवारलाई पहिचान गरी रोजगारी सिर्जना गर्नेमा ग्रीन फाउण्डेशन सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।
स्थानीय वन विकासका कार्यक्रमका प्रशिक्षण संयोजक अविरल न्यौपानेले सामुदायिक वन विकास सम्बन्धी वनको विकास तथा संघीय संरचनासँगै सामुदायिक वनहरु कसरी अगाडि बढ्ने भन्ने जस्ता विषयमा प्रष्ट पारेका थिए ।
स्थानीय वन महासंघका अध्यक्ष घनबाहदुर घर्तीको अध्यक्षता एवं रुन्टीगढी गाउँपालिकाका उपाध्यक्ष छमायाँ पुनको प्रमुख आतिथि तथा रुन्टीगढी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सानबाबु खड्का र सब–डिभिज वन कार्यालय होलेरीका प्रमुख गौतम ख्वालापालाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा रुन्टीगढी गाउँपालिका ५ नं. वडा अध्यक्ष यामबहादुर दशौदी, ७ नं.का वडा अध्यक्ष जंगबहादुर घर्ती, २ नं. का वडाध्यक्ष पुनराम पुन, ग्रीन फाउण्डेशनका पदाधिकारी तथा रुन्टीगढी भित्र रहेका सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
ग्रीन फाउण्डेशन नेपाल रुन्टीगढीका संयोजक नेशन पौडेलको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण ग्रीन फाउण्डेशनका सहजकर्ता केशरबहादुर रावतले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।