मोहलाल चन्द ‘आधार’
नेपालको पहिला सहिद हुन् लखन थापामगर । उनलाई विसं १९३३ मा गोर्खाको मनकामना परिसरको रूखमा झुन्ड्याएर मारिएको थियो । त्यसै गरी विसं १९९७ मा गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दलाई फाँसी दिइएको थियो ।
त्यसैगरी विसं २००७ मा करिब ३० जना योद्धाले राणा शासनका बिरुद्ध रगत चढाएका थिए । पञ्चायतअघि चिनियाकाजी अनि झापा विद्रोहमा बिरेन राजवंशी, कृष्ण कुइँकेल, नेत्र घिमिरे, रामनाथ दाहाल, नारायण श्रेष्ठ गरी ५ जनालाई २०२९ साल फागुन २१ गते जेल सार्ने निहुँमा झापाको सुखानी जङ्गलको खोलामा मारिएको थियो । त्यसैगरी विसं २०३६ कात्तिक २३–२९ भित्र खोकु छिन्ताङ धनकुटामा गोपाल आनन्द राईलगायत १६ जनालाई निर्मम हत्या गरिएको थियो । त्यसरी नै विसं २०४६ को जनआन्दोलनमा उमेश थापालगायत दर्जनौँ सहिद भएको कुरा जगजाहेर नै छ ।
त्यसैगरी विसं २०५२ फागुन १ गतेदेखि थालनी भएको महान् जनयुद्धका क्रममा फागुन १४ गते गोरखाका दिलबहादुर रम्तेल प्रथम सहिदलगायत क. सुरेश वाग्ले, क. रामवृक्ष यादव, क. दण्डपाणि न्यौपाने, क. रीतबहादुर खड्का, क. किमबहादुर थापा, क. नेपबहादुर केसी, क. मोहनचन्द्र गौतम, क. शेरमान कुँवर, कवि कृष्ण सेन ‘इच्छुक’ सम्मका हजारौँ सहिदले जीवनको बलिदान गरिसक्नुभएको छ । त्यसैगरी एकीकृत जनक्रान्तिमा क. धनरूप बटाला, क. चन्द्रबहादुर सिंह ‘सनराइज’, क. तीर्थराज घिमिरे ‘राजु’, क. गोकुल रानामगर ‘महान’, क. प्रज्ज्वल शाही, क. विभुराम विक ‘दीपेन्द्र’ , क. कृष्णप्रसाद भण्डारी ‘निरन्तर’, क. रामकुमार श्रेष्ठ, क. कुमार पौडेल, क. नीरकुमार राई ‘प्रशान्त’, क. रामबहादुर सिंह ‘राजेश’, क. जगेन्द्रबहादुर पुन ‘जगत’ गरी १२ जना सहिदको रगतले नेपाली धर्ती सिँचिएको छ । यो क्रम अझैँ अनिश्चयको घडीभित्र फन्को मारिरहेको छ !
यसरी देश र जनताको स्वतन्त्रता, मुक्ति, उन्नति र अग्रगमनका लागि सचेत र वीर सन्ततिहरूले जीवनको मूल्यबोध गरेर रगतले धर्ती सिँचाइ नगरी परिवर्तन र आमूल परिवर्तन हुँदै हँुदैन भन्ने कुरा गर्विलो र दर्बिलो इतिहासले सिद्ध गरिसकेको छ । तसर्थ एउटा मार्ग भनेको जीवन उत्सर्ग ( बलिदान) अर्थात् सहिदमार्ग हुन आउँछ भने अर्को सहिद मार्गविपरीत अर्थात् रगत पोख्न बाध्य तुल्याउने मार्ग । जसरी समाजमा दुईवटा वर्ग हुन्छन् ः एउटा शोषक र अर्को शोषित अर्थात् गरी खाने वर्ग र गराएर खाने वर्ग । हो, विश्वमा पनि यी दुई वर्ग छन् । श्रमिक वर्गको विरोधी चुसाहा वर्गको प्रतिनिधित्व गर्ने चरम पुँजीवाद अर्थात् उत्तरसाम्राज्यवाद हो ।
यसको एक नम्बर सक्कली नाइके आज हरहिसावले अमेरिकाको शासनसत्ता नै हो भन्ने कुरा छर्लङ्गै भएको छ । यो कुरा सर्वसाधारणसमेतले बुझिसके । अमेरिकी शासक वर्ग आज एक ध्रुव अर्था्त विश्वव्यवस्थाको गुड्डी हाँक्दै मात्तिएको छ । नेपालमा भने वैज्ञानिक समाजवादी क्रान्तिको मस्तुलले उत्तरोत्तर प्रगति गरिरहेको अवस्था र नेपालभन्दा पूर्व महाशक्ति केन्द्र आफ्नैखाले समाजवादी अर्थराजनीतिले अमेरिकी दादागिरीको निद्रा समाप्त पारेकाले भूमण्डलीकृत राजनीति र बहुलवादी विचारको केन्द्र आज नेपाल बन्न गएको छ । किनभने नेपाल भूपरिवेष्ठित देश हो ।
नेपाल भूपरिवेष्ठित हुनुको परिणति महाशक्ति केन्द्रहरूले घेरिनुका साथै नानाथरी रङरोगनका औपनिवेशिकताले बेरिएको पनि छ । यसर्थ यहाँ सानाठूला राजनीतिक भूकम्पीय झट्का आइरहनु अनिवार्य हुन आउँछ । नेपाल शान्तिप्रिय परन्तु अशान्त मुलुक हो । इतिहाससिद्ध कुरा त्यो हो । सन् १८१६ को सुगौली सन्धि, सन् १९५० को असमान सन्धिको जगमा टेकेर २०४६ सालपछि नेपालमा नेपाली काङ्ग्रेसमार्फत दलाल पुँजीवाद भित्र्याइयो जसले निजीकरण र उदारीकरणको अभियान चलाइरहेको छ ।
परिणाम दलाल पुँजीवादका जराहरू गाउँदेखि सहरसम्म फिँजाइएका छन् । हामी श्रमजीवी नेपालीहरू थाहा नपाईकनै दलाल पुँजीवादी विष पिउन विवश छौँ । बागमतीको आहालजस्तो धरातलमा विचार र दृष्टिकोणमा कमजोर आत्मकेन्द्रित व्यक्तिवादको रोग लागेका कम्युनिस्टहरूलाई दलाल पुँजीवादले सङ्क्रमित गर्दै आयो र सामाजिक दलाल पुँजीवाद देखा पर्न गयो । यही सङ्क्रमित धरातलमा एमसीसी नामक विषालु बिरुवा अर्थात् पराधीनताको बिरुवा रोपिँदैछ । एससीसीनामक अमेरिकी हस्तक्षेपकारी निगममार्फत अमेरिकी नवऔपनिवेशिकताले बलात् वैधानिकता खोजिरहेको छ ।
अमेरिकी शासक वर्गलाई नेपालमा वैधानिक रूपमा आउन दिनुपर्छ भन्ने नेपालका पुराना र नयाँ जुनकुनै पार्टी, व्यक्ति, सङ्घ, संस्था अमेरिकी आईएनजीओ हुन् भनेर बुझ्नु नै सही हुनेछ । यी राष्ट्रघाती, जनघाती संसद्वादी दल, सङ्घसंस्थाले आफैँले बनाएको संविधानको धज्जी उडाएर निरङ्कुश एमसीसी पास गर्न मरिहत्ते गर्नुको पछाडि यी कुतत्वहरू बिक्री भैसकेका छन् भन्ने कुरा छर्लङ्गै बुझ्न सकिन्छ । यसको परिणाम नेपालमा अस्थिरता, अशान्ति हुने कुरा पक्का छ । यसबेला प्रत्येक नागरिकले आफू कुन कित्तामा उभिने भन्ने कुरामा फैसला गर्नु अनिवार्य भैसकेको छ ।
नेपाली श्रमिक जनता कहिल्यै पनि अन्यायका पक्षमा उभिएको इतिहास छैन । शासक वर्ग भने आत्मसमर्पण नगरेको इतिहास बिरलै छ । अहिले पनि शासक वर्ग आत्मसमर्पण गर्ने र जनता राष्ट्रिय स्वाधीनता, जनअधिकारका पक्षमा सशक्त रूपमा उभिएको चित्र देखा परिरहेको छ । यो नै नेपाल र नेपालीको प्रकृति र चारित्रिक विशेषता हो । यतिखेर ध्रुवीकरण र अद्भूत राष्ट्रिय एकताको अनिवार्यता मुखरित हुनु गौरवको विषय हो । यही गौरवलाई नेपाली प्रतिष्ठा ठानेर राष्ट्रिय स्वाधीनताको लडाइँमा राष्ट्रघाती एमसीसीबिरुद्ध अझै मोर्चाबन्दीमा लामबद्ध हुन अनिवार्य हुन आएको छ । सहिदमार्गमा लामबन्द भै सहिदका सपना साकार पार्न महान् सपना देख्ने र व्यवहारमा उतार्ने असाधारण समय पनि यही हो ।
एमसीसीमार्गको पराधीनतालाई दुत्कार्न सकिएन भने दास हुनुपर्ने अवस्थालाई पनि नकार्न सकिँदैन । त्यसैगरी नेपाल र नेपालीलाई एमसीसीमार्गले भविष्यमा युक्रेनको परिणतिमा धकेल्ने खतरालाई पनि सङ्केत गर्दछ भने सहिदमार्गले वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरी शान्ति, सुसम्पन्न नेपाली र स्वाधीन नेपाल निर्माण गर्ने कुरा सुनिश्चित गर्दछ । तसर्थ पराधीनताको आर्थिक प्रलोभनभन्दा स्वाधीनताको राष्ट्रिय एकता कैयौँ गुणा उत्कृष्ट नेपाली पहिचान हुनेछ । यसप्रकारको असाधारण अवस्था र सर्वाधिक नालायक व्यवस्थामा वैधानिक राष्ट्रघाती एमसीसीमार्ग होइन, आफ्नै धर्तीको सहिदमार्गमा मुक्ति र स्वाधीनताका लागि जनक्रान्तिको झन्डा फहराउँदै विजय हासिल गरौँ ।
स्रोतः ई–रातो खबर
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।