• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ वनकट्टीमा कार्यशालाः कस्तो समाजवाद, कसरी समाजवाद ?




दाङको तुलसीपुर उपमहानगरपालिका वनकट्टीमा २१ औं शताब्दीको समाजवादसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । नेपाल बुद्धिजीवी संगठनको आयोजनामा सहिदस्मृति आवासीय माविमा सम्पन्न भएको हो ।

लामो समयदेखि वैचारिक बहसका कार्यक्रम नभइरहेको सन्दर्भमा विहान ८ बजेखि साँझ साढे चार बजेसम्म झण्डै ८ घण्टा विचारोत्तजक छलफल भएको हो । छलफलमा विश्वका समाजवादी मोडेलहरुको चर्चासहित नेपाली विशेषतासहितको समाजवाद कसरी निर्माण गर्ने भन्ने बिषयमा बहस भएको थियो । कार्यशालाका सहभागीहरुले पूँजीवादको अन्त्य निश्चित भएकाले पूँजीवादकै अन्तर्विरोधमा खेलेर समाजवादका कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका थिए ।

यहाँ सो कार्यशालाको बहसलाई संक्षिप्त संश्लेषणात्मकरुपमा प्रस्तुत गरिएको छ ।
कार्यपत्रको सारः
कार्यक्रममा बाम बुद्धिजीवी सर्जन गौतमले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यूटोपियन समाजवाददेखि विश्वभरि चलेका समाजवादी मोडल, तिनीहरुको उत्थान र पतनका कारण कार्यपत्रमा समेटिएको थियो । पूँजीवादी अवयवहरुलाई नष्ट गरेर मात्रै समाजजादमा जान सकिने उहाँको निष्कर्ष थियो ।
कार्यपत्रको निष्कर्ष अंशः
हालसम्म हामीसँग समाजवादको सार्थक अभ्यास भएको मोडल छैन, केवल सिद्धान्तहरु छन् भन्ने पुष्टि हुन्छ । जेसुकै भए पनि अभ्यास गर्न खोजिएको मोडल सोभियत मोडल नै हो । कम्युनिष्ट पार्टी स्थायी संरचना होइन । माक्र्सवादअनुसार ‘कम्युनिज्म’मा जानुभन्दा अगाडि संक्रमणकालीन अवस्थामा कम्युनिष्ट पार्टी चाहिएको हो ।

‘कम्युनिज्म’ मा जानुभन्दा अगाडिको संक्रमणकालीन अल्पकालीन व्यवस्था समाजवाद हो । यस कालमा समुदायलाई पूर्णतः कम्यनिष्ट पार्टीको नियन्त्रणमा राख्ने हो भने कम्युनिष्ट पार्टी नोकरशाही संयन्त्रमा बदलिन्छ । तसर्थ, प्रभावकारी सोभियत बनाउने र त्यसमा कम्युनिष्ट पार्टीको नियन्त्रण हटाउँदै जाने अभ्यास शुरुदेखि नै गर्नुपर्छ ।

दोस्रो, समाजवादको लक्ष्य पूँजीवादले जस्तो मानिसलाई मेशिन बनाउने होइन, कला, साहित्य, संस्कृति र बौद्धिकतायुक्त पूर्ण मानव बनाउने भएकाले उसलाई स्वतन्त्रताको अनुभूति हुन दिनुपर्छ ।

तेस्रो, एकदलीय व्यवस्थामा वर्ग संघर्ष पर्याप्त मात्रामा हुन नसक्ने भएकाले राजनीतिक स्वतन्त्रताको व्यवस्था गरिनुपर्छ । रोजा लक्जमवर्गले राजनीतिक स्वतन्त्रतालाई दिएको जोड यस सम्बन्धमा स्मरणीय छ । पूँजीवादमा माक्र्सले बताएजस्तै संकट अन्तविरोध दोहोरिरहेको हुनाले पूँजीवादको विनाश अनिवार्य छ ।

पूँजीवादको विनाशसँगै त्योभन्दा क्रान्तिकारी अर्को व्यवस्था उत्पादन हुनु पनि अनिवार्य नै छ । तर, त्यसका लागि माक्र्सले बताएजस्तो सचेत प्रयत्न गर्नुका साथै भारतीय समाजवादी चिन्तक जयप्रकाश नारायणले भनेजस्तै कम्युनिष्ट क्रान्तिकारीहरुले समाजवादलाई केवल सिद्धान्तको होइन, आचरणको बिषय बनाउनु अनिवार्य छ ।

टिप्पणीहरुको सारः

कार्यपत्रमाथि विशेष टिप्पणी गर्दै बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य अरुणकुमार शर्माले समाजवादी क्रान्तिका लागि कम्युनिष्टहरु आधारभूत विचारबाट दायाँबाँ हुन नहुने बताउनुभएको थियो । उहाँले आधारभूत विचार समाप्त भयो भने राजनीति कूटनीतिमा बदलिने र त्यसमा छलकपट मात्रै बाँकी हुने भएकाले माक्र्सवादको जगबाट नै समाजवादको अभ्यास गर्नुपर्ने बताउनुभयो । आधारभूत विचार दृष्टिकोणबाट टाढा भएर समाजवादमा पुग्न नसकिने उहाँको जोड थियो ।

अर्का टिप्पणीकार बुद्धिजीवी डिल्ली अधिकारीले माक्र्सका द्वन्द्ववाद, भौतिकवाद र ऐतिहासिकता मानेर समाजवादको बाँकी मोडेल आफै टुंग्याउनुपर्ने बताउनुभयो । चीनले नयाँ प्रयोग गरेको भन्दै उहाँले चिनियाँ समाजवादको पुनर्मूल्यांकन जरुरी भएको बताउनुभयो । उहाँले हामी नेपालीहरु जडसूत्रवादी बन्न नहुने धारणा राख्नुभयो । नेपालको जातीय, क्षेत्रीय, लैंगिक उत्पीडनलाई समेत सम्बोधन गर्ने गरी नेपाली बिशेषतासहितको समाजको मोडल खोज्नुपर्ने उहाँको जोड थियो । समाजवादका लागि सशस्त्र क्रान्ति मात्र आवश्यक हुन्छ भन्ने तथ्य सही नभएको भन्दै उहाँले अहिले नेपालमा सही विचार दृष्टिकोणबाट अघि बढ्ने हो भने लोकप्रिय मतबाट पनि समाजवादी कार्यक्रम लागु गर्न सकिने तर त्यसका लागि समाजवादी आचरण भने जरुरी हुने उहाँले बताउनुभयो ।

अन्य टिप्पणीकर्ताहरुले पनि माक्र्सवादको मूल अवधारणालाई नछाडेर विश्व र नेपालकै पूँजीवादका अन्तर्विरोधमा टेकेर समाजवादी कार्यक्रमको अभ्यास गर्नुपर्ने बताएका थिए । उनीहरुले समाजवादको बनिबनाउन मोडल खोज्नुभन्दा अभ्यास गर्दै गएर यसलाई पूर्ण बनाउन सकिने बताएका थिए । साम्राज्यवादी उत्पादनविरुद्ध राष्ट्रिय उत्पादन, साम्राज्यवादी संस्कृतिविरुद्ध राष्ट्रिय तथा नेपाली मौलिक संस्कृतिको रक्षा, साम्राज्यवादले थोपरेको प्रकृतिमाथिको दोहन र पर्यावरणीय क्षयीकरणविरुद्ध पर्यावरण संरक्षणको कार्यक्रमलाई नेपाली समाजवादको आधार बनाउनुपर्ने उनीहरुको सुझाव थियो ।

त्यस्तै राष्ट्रियस्तरमा अहिलेको जनताको प्रमुख अन्तर्विरोध दलाल पूँजीवाद र अभाव भएकाले राष्ट्रिय उत्पादन बृद्धि गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी तथा स्वरोजगारीका कार्यक्रमममार्फत अन्तर्विरोध हल गर्ने प्रक्रिया नै थाल्नुपर्ने सहभागीको सुझाव थियो । समाजवाद कुनै दिन तोकेर घोषणा गर्ने कार्यक्रमभन्दा पनि हस्तक्षेपपूर्ण तरिकाले लागु गर्दै जाने प्रक्रिया भएको पनि उनीहरुले बताए । समाजवाद न्यायिक सोंच भएकाले यसलाई कुनै पनि समुदायमाथि अन्याय हुन नदिने कार्यक्रमको रुपमा अघि सार्नुपर्ने सहभागीको सुझाव थियो । त्यसका लागि समाजवादमा राजनीति, अर्थनीति, संस्कृति र समाजका अवयवहरुको अवस्था के हुने भनेर धारणा चाहि स्पष्ट गर्नुपर्ने सहभागीको धारणा थियो ।

कार्यक्रममा शेषुराम भण्डारी, नरेन्द्र केसी, भेषराज पोख्रेल, लेखराज रेग्मी, निर्मल गौतमद्वय, यमनारायण पोख्रेल, बसन्तराज शर्मालगायतले धारणा राख्नुभएको थियो । नेपाल बुद्धिजीवी संगठन दाङका अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शेषमणि रिजालले स्वागत गर्नुभएको थियो भने सचिव भीमसेन गिरीले सञ्चालन गर्नुभएको थियो ।

नेताहरुको धारणा
इन्द्रजीत थारु– केन्द्रीय सदस्य नेकपा माओवादी केन्द्रः

–कार्यपत्रमा पूँजीवादको ध्वंश गरेर मात्र समाजवादमा जाने अवधारणा सैद्धान्तिक हिसाबले ठिकै छ । हामीले एउटा ध्वंशको चरण सकेकाले अब नयाँ संश्लेषणको जरुरी छ ।
–जनवादी क्रान्तिको आधारभूत कार्यभार पूरा भएको निष्कर्षपछि अब समाजवादी क्रान्तिमा कसरी अघि बढ्ने भन्ने ध्यान दिनु आवश्यक छ ।
–अहिलेको कार्यभार भनेको राज्यको तर्फबाट पूरा गर्नुपर्ने जनताका आधारभूत आवश्यकता पूरा गर्दै जनतालाई थप क्रान्तिका लागि उत्प्रेरित गर्नु हो ।
–नेपालमा हामीले राष्ट्रिय पूँजीवादको विकास गर्ने भनिरहेका छौं तर यसको ब्याख्या आ–आफ्नै ढंगले भइरहेको छ । हामीले राष्ट्रिय पूँजीवादको विकास गरौं भनिरहेका छौं तर यथास्थितिवादी शक्तिहरुले दलाल पूँजीवाद नै संस्थागत गर्न चाहन्छन्, यो शक्ति सन्तुलनको लडाइ पनि हो । हामी बलियो भए राष्ट्रिय पूँजीवादको विकास गर्छौं भने उनीहरु बलिया भए दलाल पूँजीवादलाई नै संस्थागत गर्नेछन् ।

हेमराज शर्मा ‘डायमण्ड’– केन्द्रीय सदस्य नेकपा माओवादी केन्द्र
–लामो समयदेखि वैचारिक बहस हुन नपाइरहेको बेला आज निकै सान्दर्भिक र सार्थक बहस भएको छ ।
–माओवादी एउटा आन्दोलन वा अभियानको रुपमा रहेको स्थिति अझै विद्यमान छ, अब हामी पार्टीलाई संस्थागतरुपमा अघि बढाउने प्रक्रियामा छौं ।
–अब टोलबाट वडा, पालिका, प्रदेशहुँदै पुसमा राष्ट्रिय सम्मेलन गरेर विचारलाई थप स्पष्ट गरेर अगाडि बढ्ने छौं । त्यसका लागि जनस्तरसम्म पर्याप्त वैचारिक बहस आवश्यक छ ।

निर्मल आचार्यः केन्द्रीय सदस्य नेकपा माओवादी केन्द्रः
–समाजवाद माक्र्सवादको व्यवहारिक प्रयोग हो । हामीले रुस र चीनको इतिहास पढेर धेरै टाउको दुखाउनुपर्दैन, देशकै धरातलीय आधारमा कार्यनीति बनाउनुपर्छ । त्यसका लागि नेपाली समाजको गहन ब्याख्या जरुरी छ ।
–नेपाली जनता माक्र्सले भनेजस्तै अतिरिक्ति मूल्यको शोषणमा मात्रै छैनन्, यहाँ जातीय लैंगिक उत्पीडन र कयौं सामाजिक कुप्रथाका कारण नेपाली समाज शोषण उत्पीडनमा छ, यसको पनि गहन अध्ययन गरेर सबैखाले उत्पीडित अन्त्यसहितको कार्यक्रम बनाउनुपर्छ ।
–यो संविधान पूर्ण होइन, यसमा हाम्रो लिखित असहमति छ तर जति बनेको यसको मात्रै कार्यान्वायन हुँदा पनि नयाँ स्थिति बन्छ । संविधानका मौलिक हकको मात्रै कार्यान्वायन हुँदा पनि नेपालमा समाजवादको आधार तयार भइसक्छ ।
–हामीले नै बनाएको संविधान भएकाले यसको रक्षा जरुरी छ, यसको रक्षाका लागि कांग्रेससहितको शक्तिसँग मिल्नुपर्ने र कार्यान्वायनको चरणमा जाँदा उनीहरुसँगै संघर्ष गर्नुपर्ने अहिलेको द्वन्द्वात्मक अवस्थालाई ठीकढंगले ग्रहण गरेर मात्रै अघि बढ्न सकिने छ ।
–सँगसँगै हामीले भ्रष्टाचाररहित बजेट कार्यान्वायनलाई एजेण्डाकै रुपमा अघि सार्नु आवश्यक छ ।

जगप्रसाद शर्मा ‘अपार’ केन्द्रीय सदस्य एवं प्रदेश सचिव, नेकपा माओवादी केन्द्र


–विगत १४ बर्षदेखि पार्टीमा बौद्धिक बहस हुन नसकिरहेको बेला आज सार्थक शुरुवात भएको छ ।
–माओवादी नेपालको विचार निर्माणको कारखाना हो र सबै आजका एजेण्डा माओवादीकै सोंचका उपज हुन् तर पछिल्लो समय माओवादी विचारविहीन होकि भन्ने आरोप लाग्न खोजेको देखिन्छ, हामीले यस्ता निरन्तर बहसबाट त्यसको खण्डन गर्ने छौं ।
–माओवादीले विचार निर्माणको क्रम औपचारिकरुपमा दोस्रो राष्ट्रिय सम्मेलनदेखि शुरु गरेको हो । त्यसअघि हामीले पार्टीको निर्देशक सिद्धान्त भनेर छलफल चलाएका थियौं, पछि प्रचण्डपथको रुपमा संश्लेषण गरेका हौं । अब माओवादी पहिचान स्थापित गर्ने गरी विचार संश्लेषण जरुरी छ, त्यो काम राष्ट्रिय सम्मेलनले गर्नेछ र आजको कार्यक्रम त्यसकै शुरुवात हो ।
–नेपालका कम्युनिष्टको सुन्दर पक्ष भनेको जनाअधिकार र राष्ट्रिय स्वाधीनता दुबै हाम्रा मुद्दा हुन् । भारतमा स्वतन्त्रता संग्रामको बेलामा स्टालिनको नेतृत्वमा त्यहाँका कम्युनिष्टहरु तटस्थ बस्दा स्वाधीनताको सवालमा प्रश्न उठ्यो र उनीहरु कमजोर भए तर नेपालमा हामीले स्थापनाकालदेखि राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई मूल मुद्दा बनाएकाले आज पनि ६५ प्रतिशत जनमत कम्युनिष्टहरुकै छ ।
–हामीले आजको राजनीतिक उपलब्धिप्रतिको बुझाइमा एकरुपमा कायम गर्नुपर्छ । हामीले चाहेको संसदीय ब्यवस्था, अहिलेजको जस्तो महंगो निर्वाचन प्रणाली होइन । त्यसैले हामीले संविधान घोषणा हुँदा फरक मत राखेका थियौं । त्यसमा जननिर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली भनेर राखेका छौं । त्यसकारण हामी संविधान संशोधनमार्फत अगाडि बढ्न तयार छौं तर त्यसका लागि एउटा परिपक्व अवस्था बन्नुपर्छ ।
–हामी अब समाजवादमा नै जाने हो तर त्यसको बाटो के त ? यसमा बहस जरुरी छ । अहिले हाम्रो पार्टीले अपनाएको कार्यनीतिक श्रृंखला संविधानको रक्षा, कार्यान्वायन र संशोधनमार्फत अगाडि बढ्न सकिन्छ भन्ने हो । जनताको रगत पसिनाको जगमा ठूलो परिवर्तनको अपेक्षासहित बनेको संविधानमा धेरै परिवर्तनकारी एजेण्डा समावेश छन् । त्यसैले संविधानको रक्षा आजको प्रमुख सवाल हो । रक्षासँगै कार्यान्वायन गर्दै जाँदा पूँजीवादीहरुसँग टक्कर अवश्य पर्ने छ । शिक्षा, स्वास्थ्य, उत्पादन, रोजगारीलगायतका जनताका तमाम समस्या हल गर्ने उपाय संविधानको मौलिक हकमै राखिएको छ । हाम्रा सबै मौलिक हक कार्यान्वायनमा जान सके निश्चितरुपमै समाजवादको आधार तयार हुनेछ । तर, त्यसका लागि अरु पक्ष तयार छैनन् । हामीले नेकपाको सरकारकै बेलामा कम्तीमा शिक्षालाई राज्यले जिम्मा लिऔं भनेर शिक्षा नीति बनाउन खोज्दा केपी ओलीले हुन दिएनन् । ओली एउटा पात्रको कुरा होइन, उनी दलाल पूँजीवादका प्रतिनिधि हुन् । जनताको शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिंदा दलाल पूँजीवादको आधार कमजोर हुन्छ वा हामी कमजोर हुन्छौं भन्ने उनीहरुलाई लागेकै छ । त्यसैले उनीहरु संविधानको पूर्ण कार्यान्वायन हुन दिंदैनन् तर हामी पूर्ण कार्यान्वायन गरेर अघि बढ्ने हो । त्यसैले संविधानको रक्षा, कार्यान्वायन र संशोधन हुँदै एक चरण अघि बढ्दा नयाँ परिस्थिति बन्छ भन्ने हाम्रो आंकलन हो ।
–नेपालमा अबको संघर्ष राष्ट्रिय पूँजीवाद र दलाल पूँजीवादकै बीचमा हो । दलाल पूँजीवादीको प्रमुख प्रतिनिधि को बन्ने भन्नेमा कांग्रेस र एमालेबीच प्रतिष्पर्धा छ । अहिले को बढी दलाल पूँजीवादको रक्षक बन्नेमा उनीहरु लागिरहेका छन् । अहिले यसको नेतृत्व केपी ओलीले गरिरहेका छन्, त्यसैले यो बेलामा उनीसँग अरुभन्दा बढी संघर्ष हुनु स्वाभाविक छ ।
–यसलाई २१ औं शताब्दीको समाजवाद भन्ने वा के नाम दिएर जाने यो संश्लेषण गरौंला तर नेपाली समजावादको मोडेल त्रिकोणात्मक हुनेछ । रुसको जस्तो राज्यनियन्त्रित समाजवाद नेपालमा उपयुक्त देखिदैन । त्यस्तै चीनमा जस्तो पार्टीनियन्त्रित समाजवाद पनि संभव छैन किनकि समाजवादमा पनि वर्ग रहने भएकाले वर्ग संघर्ष रहन्छ र वर्ग संघर्षका लागि वर्गीय प्रतिनिधित्व गर्ने पार्टीहरु प्रतिष्पर्धामा हुन्छन् । त्यसैले नेपालमा राज्य, समाज र व्यक्तिको त्रिकोणात्मक स्वामित्वसहितको समाजवाद सही मोडेल हुनसक्छ । भौतिक पूर्वाधार विकास र जनताको आधारभूत आवश्यकताको जिम्मा राज्यले लिने, जनवादी अभ्यास समुदायले गर्ने र राज्य तथा समुदायको समेत सहयोगमा पारदर्शी र स्वच्छ पेशा व्यवसायबाट जनताले पनि आफ्नो उत्पादनमा स्वामित्व कायम गर्ने प्रणाली नेपालमा उपयुक्त देखिन्छ । यही आधारमा रहेर समाजवादी मोडलको बहसलाई केन्द्रित गर्नु आवश्यक छ ।

यो पनि पढ्नुहोस्ः

समाजवादः उत्पत्ति, विकास र भविष्य

Facebook Comments