प्रशंसा भण्डारी
प्राकृतिक रूपमा सुन्दरताले भरिपूर्ण ठाउँ जहाँ हजारौं मान्छेहरु आ-आफ्नो सपना बोकेर हिडिरहेका थिए । मान्छेहरु आफ्नै तरिकाले बाँचिरहेका थिए ।
कोहीले ठूलाठूला व्यवसाय चलाइरहेका थिए भने कोहीले आफ्नो परिवारको लागि बिहान बेलुकाको छाक टार्न दुख कष्ट गरिरहेका थिए । असारको महिना बर्खामासको मौसम जताततै पानीको बहाबसँगै बर्षात भइरहेको छ । यो समयमा कति दु:खद खबरहरु सुन्नु परिरहेको छ ।
कतै मान्छेहरु कोरोनाले कारण ज्यान गुमाउनु परेको छ भने कतै बाढि पहिरोको कारण ज्यान वेपत्ता छ। त्यस्तै सिन्धुपाल्चोकमा पनि कालो दिनसँगै कालो लेदो भरिएको डरलाग्दो बाढीले बजारलाई क्रमश: कटान गर्यो । अधिकाश घरहरु बाढीमै हराए त कतिका अवशेष मात्र बाँकी रहे ।
मेलम्चीको बजारलाई बाढीले एकै रातमा बगर बनायाे । त्यही बगरबिच नदी छेउमा चुर्लुम्म डुबेका सपनासँगै आफ्नो घरजग्गा हेर्दै मुख छोपेर रोइरहेका एक हुल अनुहारहरू थिए। मेरो घर भन्दै कराउनेहरुले पनि आफ्नो घर बगाउने पालो कुरेर बसे , यो भन्दा अरु बाँकी नै के रह्यो र ! कतिको ज्यान गयो भने कतिको ज्यान बाहेक केही जोगिएन । त्यही एकसरो कपडा ज्यानमा रह्यो ।
ऋण गरेर बनाएको घरजग्गा सबै बाढीले बगायो । कतिको लाखौं ,करोडौं लगानी गरेर सुरु गरेका व्यवसायहरु बगायाे । हिजोसम्म मेलम्चीको पानी काठमाडौं ल्याएर काठमाडौं वासीलाई सुख दिने सोच हुँदाहुँदै त्यही पानीले मेलम्ची वासीलाई सुख होइन सास्ती दियो । स्कुलले नानीहरुका पुस्तकका पानाहरु हिलाम्य भए । चुलोचौको भिजेर कयौंका पेटहरु खाली भए। कयौंले आफ्नो परिवार गुमाए ।
कतिको सिउँदो पुछेर लग्याे भने कतिको आफन्त खोसेर लगेको छ त कतिको अभिभावक खोसेर लियाे । सबैलाई असह्य पिडा भएको छ। आफ्नै अगाडि आफुले जिन्दगी भर मरिमेटि गरेर कमाएको सम्पत्ति बगाएको हेर्नु परेको छ। मेलम्चीमा बसेर भविष्यको सपना देखेका करोडपतिलाई रोडपति र रोडपतिलाई बगरपति बनाइदियो। एकै जनाको दस करोड बराबरको सम्पत्ति बगायो। सत्तरी वर्ष सम्म जोडेको सम्पत्ति सकिन सत्तरी सेकेन्ड पनि लागेन ।
कठै ती बृद्ध बा ! जसले सत्तरी वर्षसम्म कमाएको सम्पत्तिमा रमाउन नपाउँदै गुमाउन बाध्य भए। एकातिर काेराेनाकाे कहर अर्कोतिर बाढी पहिराेकाे लहर । प्रकृति पनि कस्ताे ! बहत्तर सालको भूकम्पले क्षतविक्षत भएकाे सिन्धुपाल्चोक पुनः रिकभर हुन नपाउँदै यत्राे विपत्ति ! विचरा मेलम्चीवासी ! ज्वराे आउँदा तापक्रम नाप्ने थर्ममिटर भएजस्तै मेलम्ची बासीकाे मर्म नाप्ने मर्ममिटर भएकाे भए त्यहाँका बासिन्दाकाे मर्म कति थियोे नापेर थाहा हुन्थ्याे हाेला !
संघीय, प्रदेश र स्थानीय सरकार लगायत सरकारी तथा गैरसरकारी संध संस्थाहरू पनि मेलम्चीवासीकाे राेदनकाे मापन गरेर मलमपट्टि लगाउन अग्रसर हुनुपर्छ । फेरि केहिदिन पहिलेको मेलम्ची बजार हेर्न हामीले सय वर्ष कुर्नुपर्छ हाेला । अझैं पनि मेलम्ची बासीको मन र अँखामा आफ्ना घरको यादहरु रसाइरहेका छन। मेलम्ची बासीलाई कहिले नबिर्सने जीवनकै तितो र अस्वीकार्य याद मात्र बनेको छ। कतै पानीको अभावमा बाँच्नु परेको छ त कतै पानीको बहाबमा बाँच्नु परेको छ ।
यतिबेला टिभीका पर्दामा हेर्ने दर्शकहरूका आँखा रसाई रहेका हाेलान् भने युट्युबरहरूले पैसा कमाइ रहेका हाेलान् । मेलम्चीकै नाममा कति गीत गाइए हाेलान् त यसकै नाममा कति राहत उठाइए हाेलान् । जसले जहाँजहाँ जेजे गरे पनि मानवले मानवलाई गर्नु पर्ने मानवीय समवेदना भने बिर्सिनु हुँदैन ।
आज मेलम्चीबासीलाई पर्यो भने भाेलि मेची महाकाली र मधेसबासीलाई पनि पर्न सक्छ । त्यसैले विकास गर्ने सन्दर्भमा दूरदृष्टि राखेर प्राकृतिक क्षतिकाे आँकलन गर्दै समयमै हाेशियार रहनु मानवका लागि हितकर हुन्छ भन्ने कुरा मेलम्चीकाे बाढीले सन्देशमा दिएकाे छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।