आहुति
आज नेपाल देशको सरहद जति छ, त्यसमा जात ब्यवस्था तीनवटा दिशाबाट तीन वटा समयमा आजको भारतबाट प्रवेश गरेको हो ।
एक, नेपालको तराइ खण्डमा जात ब्यवस्था पूर्णरुपमा विकसित भएको आजको भारतबाट उपयुुक्त जीविका गर्नलायक जमीनको खोजीमा उत्तरतिर र्ने क्रममा मानिसहरु आइपुगे । उनीहरुले आफूसँग भएको जात ब्यवस्था सँगै लिएर आए । गौतम बुद्धकालमा लुम्बिनी आसपासमा जात ब्यवस्था आइसकेको चाहि प्रमाणित नै भएको छ । यसरी क्रमशः बसाइँ सर्ने क्रममा तराइँमा भारतबाट जात व्यवस्था आएकाले त्यहाँका जात र जात व्यवस्थाको आधारभूत ढाँचा भारतीय समाजसँग जस्ताको त्यस्तै मिल्छ ।
दुई, भारतको वैशालीबाट जाति ब्यवस्थासहित बागमति उपत्यकामा इस्वी संवत १७१ देखि २०० को बीचमा प्रवेश गरी किराँतहरुलाई शासनच्यूत गरी शासक बन्न पुगेका लिक्ष्वीहरुले बागमति उपत्यकामा १८ जातको ब्यवस्था गरी जात व्यवस्थाको जग हालेका थिए । इस्वी संवतको ६०० सम्म पुग्दा त्यसमा छुवाछुत भेदभाव पनि शुरु भइसकेको पाइन्छ । पछि जनसंख्या र पेशाको बृद्धिसँगै जयस्थिति मल्लको पालामा सन् १३६० देखि १३९५ मा पुग्दा जात ब्यवस्थालाई अझै कठोर बनाइ ६४ जातमा समाजलाई विभक्त गरियो । तर, यो मूलतः बागमति उपत्यका र मल्ल राज्यको सीमाभित्रको बिषय थियो ।
तीन, आजको नेपालको भेरी नदीपश्चिम पहाडी क्षेत्रमा जात ब्यवस्था नभएका मस्टोपूजक खसका विभिन्न राज्य थिए । दशौं शताब्दीदेखि चौधौं शताब्दीसम्म भारतमा पटकपटक भएको इरानी शासकहरुको आक्रमणपश्चात त्यसबाट जोगिन वैदिक आर्यको विभिन्न झुण्ड पश्चिम नेपालको पहाडी खण्डतिर प्रवेश गर्ने क्रम चल्यो । त्यही सिलसिलामा वैदिक आर्यहरुले आफूसँग भएको जात ब्यवस्था र धर्मलाई लिएर आए । उनीहरुले खस शासकसँग मिलेर खस समाजलाई जात व्यवस्थाको सिद्धान्तका आधारमा संरचना गरे । खसहरुलाई पनि हिन्दू धर्मअन्तर्गत संगठित गरे । त्यहाँका शासक समयक्रममा पूर्वतिर सर्दै गोरखा, नुवाकोटसम्म पुग्दा उनीहरुसँग भएको जात ब्यवस्था पनि पूर्वतिर सरेको पाइन्छ । त्यसलाई गोरखाका राजा राम शाहले ३६ जातमा समाजलाई कानूनीरुपमा विभक्त गरे । यसरी आजको नेपालको भूखण्डमा तीनतिरबाट तीन समयमा जात व्यवस्था प्रवेश गरेको पाइन्छ ।
लिक्ष्वीकालहुँदै मल्लकालमा बागमति उपत्यकामा संरचना गरिएको जात व्यवस्था आजको नेवार जातिभित्र छ । भारतबाट मानिसहरु उत्तरतिर सरेर आजको नेपालको तराइसम्म आवाज भएको मैथिली, भोजपुरी, अवधि र बज्जिका भाषा बोल्ने हिन्दू मधेशी समाजमा जात ब्यवस्था छ । पश्चिम नेपालबाट संरचना भई पूर्वसम्म पहाडमा फैलिएको जात ब्यवस्था आर्य–खस जातिभित्र छ । यी तीनवटै क्षेत्रको जात ब्यवस्थाको प्रभावमा परेर जनजाति समुदायले जात व्यवस्थालाई आफ्नो चिन्तन प्रक्रियाभित्र राखेका छन् तर स्वयं जनजातिभित्र भने जात व्यवस्थाको तहगत संरचना बनेको छैन ।
लिक्ष्वीकालमा शुरु भएको जात ब्यवस्थालाई समाज सुधारका नाममा मल्ल राजा जयस्थिति मल्लले महीनाथ भट्ट, श्रीनाथ भट्टलगायत ब्राम्हणलाई बोलाई समाजलाई ६४ जातमा विभाजन गरी जात व्यवस्थालाई बागमति उपत्यकामा कठोर बनाएका थिए भने आर्य–खस जातिका हकमा राम शाहले गोरखामा कठोर बनाएका थिए । पृथ्वीनारायण शाहको गोरखा राज्यको विस्तार भई आजको नेपाल सिंगैमा शासन शुरु भएपछि पूर्वका जनजातिलाई पनि जात व्यवस्थाअनुसार व्यवहार गर्न बाध्य पारिएको थियो ।
भीमसेन थापाको प्रधानमन्त्रीत्वकालमा जात व्यवस्थालाई थप औपचारिकरुप दिंदै कठोर बनाउने काम भयो । जंगबहादुर राणा प्रधानमन्त्री भएपछि विसं १९१० मा मुलुकी ऐन जारी गरी चलिआएको जात व्यवस्थालाई कानूनीरुपमा नै वैधता दिएर व्यवस्थित गरी जातकै आधारमा दण्ड सजायको पनि कठोर नीति बनाइ देशब्यापीरुपमा जात ब्यवस्था लागु गरियो । त्यसपछि नेपालमा आजसम्म अर्थतन्त्र, राजनीति र संस्कृतिमा त्यही मुलुकी ऐनले गरेको दिशाबोध नै प्रत्यक्ष र प्रत्यक्षरुपमा क्रियाशील हुँदै आएको छ ।
(जात वार्ता पुस्तकबाट)
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।