• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कथाः कामरेड निवास




प्रकाशचन्द्र घिमिरे

बिहानै फोन आयो, मोवाइलमा । उनै चिरपरिचित नेताको फोन रहेछ । गुनासो गरिहाले– ‘खोइ तपाईं आउनु त कता हो कता, फोन गर्न पनि छोड्नु भयो ?’

‘ल म आजै आउँछु’ बाचा गरें र टेम्पो चढि कामरेडको निवासतर्फ हुत्तिएँ ।

उनीसँग मेरो निकै लामो सहकार्य थियो कुनै समय किनभने समाज परिवर्तनको दिशामा उनको र मेरो धारणा समान थियो । निकै तर्कपूर्ण बहस गर्ने उनको बानी र स्पष्ट अडान । सरल जीवन, अध्ययनशीलता, स्वअनुशासन र जनसेवाप्रतिको दृढ ईच्छाशक्ति । उनका यी बिशेषता थिए उतिबेला ।

उनको र मेरो गाढा सम्बन्ध थियो । ब्यक्तिगत स्वार्थ भन्दामाथि उठेर देश र जनताको सेवा गरी उन्नत, उच्च संस्कृतियुक्त समाजले बनेको सिंगो राष्ट्रको पहिचान गराउने उच्च अभिलाषा थियो । विद्यार्थी आन्दोलनमा आबद्ध भएका हामी पछि पार्टी राजनितिमा फड्को मार्नु स्वभाविक नै थियो ।

पार्टीमा आवद्ध भएपश्चात पनि हाम्रो कार्यक्षेत्र, भुमिका, जिम्मेवारि करिव लामो समयसम्म साथसाथै रह्यो । खरो मिजास, स्पष्ट वक्ता, कार्यमुखी, लगनशील, अनुशासित गुणले युक्त हामी दुबै निकै लोकप्रिय पनि भयौ कार्यक्षेत्रमा ।

समय बलवान् छ । आम नागरिकको जागरणका लागि हाम्रो मेहनतले आकार लिनै थालेको थियो । ब्यक्ति मिलेर परिवार बन्छ, परिवार मिलेर समाज बन्छ ।

समाजमा थरिथरिका बिचार, धारणा बोकेका ब्यक्ति हुन्छन् । उनीहरुको बिचार, सोंच, अवधारणामा परिवर्तन ल्याउनु निकै चुनौतिपूर्ण काम हो, जसको लागि चेतनामूलक अभियान, प्रशिक्षणहरु, समाजमा भोगेका बिभेदयुक्त व्यवहार, अन्यायका श्रृखंलाहरुको फेहरिस्त जनसमक्ष प्रस्तुत गरी जनमनको बिश्वास जित्नु हो ।

इहि अभियानमा हामी थियौं । समयले पनि कोल्टो फे¥यो । उ नेता बन्यो, म पनि नेता । तर, नेता र राजनीतिको परिभाषा फेरियो । उसले समयलाई समात्यो र स्थापित नेता भयो तर म आफ्नो कर्ममा निरन्तर दत्तचित्त रहें उहीँ रुपमा जुन आदर्शले माग गर्दथ्यो ।

जब म उस्को घर पुगें , गेटमा चौकिदारले अन्तरवार्ता लिन पो थाल्यो ।

‘नाम के ? घर कहाँ ? के कामले आएको ? समय लिनु भएको छ ?’

म चकित भएँ । सबै प्रश्नको उत्तर दिएपछि प्रबेश पाएँ । घर अगाडि पुगेपछि अर्काे मान्छेले आदेश दियो– ‘यहाँ बस्दै गर्नुस्, उहाँ बाथरुम जानुभएको छ ।’

म आदेश शिरोपर गर्दै उसको बैठक कोठामा बसें र दृष्यावलोकन गर्न थालें । घरको छेउंमा गाडी, स्कुटर र साइकल । स्तरीय मिनिबारमा बिदेशी स्कच, ह्विस्कि, ब्राण्डी सजिएका थिए ।

चकितहुँदै उसका बिगतका संगीन आदर्शहरुको झझल्को सिनेमाको रिल झै फनफनि घुम्न थाले, कुनै कथानक चलचित्रका कहानी जस्तै ।
==========================================================================================================
कोकाकोला भर्खर भर्खर बजारका होटल, पसलमा माटोको घैंटा जमिनमा खाल्टो खनेर गाडी पानी चिसो बनायर राखिएको हुन्थ्यो । त्यतिबेला फ्रिज पसलमा हुदैन्थ्यो किनकि बिजुलि नै थिएन । एक दिन बिहान स्कूल पढेर फर्कदा कोकाकोला पिउँ भन्दाउसले मलाई गरेको अझै यादमा छ ।

उसले भनेको थियो– ‘यो कोकाकोला पूँजीवादीहरुले हाम्रो मोही पिउने बानी बिगारेर ब्यापारिक साम्राज्य फलाउन ल्याएका हुन् ।’ हामीलाई पानी पिउन पनि उनिहरुको भरपर्ने परर्निभर बन्ने साम्राज्यवादीहरुको अभियान हो भन्दै थियो साथी ।

‘पैसा हालेर यो पिउनु भन्दा बरु संगठनलाई दिने लेविको कोटामा थप गर’– उसको उतिबेलाको मलाई आदेश थियो ।

शुक्रवार आधादिन पछि छुट्टि हुने भएकोले प्राय गाउँको घरतिर गइन्थ्यो । यसैक्रमको एउटा शुक्रवार घर जांदा पेन्सन बुझेर आएका लाहुरे दाई मर्नेगरी जाँड खाएर हल्लिदै बाटोमा कराउदै थिए ।

उनले हामीलाई तथानाम गाली गर्न थालेपछि सम्झाउन लाग्दा मेरो साथी कमरेडले लाहुरेलाई भनेको थियो– ‘विस्तारबाद र साम्राज्यबादको दलाल बनेर जवानीको पसिना बिदेशीमा फालेर उसैको मानो खाँदै जथाभावी बोल्ने ?’

त्यसो भन्दा हामीमाथि झम्टिन आउँदा लाहुरेलाई नै भकुरेको दृश्य अझै जोडले झल्झल्ती आउन थाल्यो ।

एकदिन राजनीतिक बहस चल्दा कुतर्क गर्दै बिषयलाई पथान्तरण गरी सिद्धान्त र बिचारमाथिको आस्थालाई अपमान गर्ने समवयी राजनीतिक दलको कार्यकर्तालाई उसले धुलीसात पारेको दृश्य संझिदा अहिले पनि आङ जिरिङ हुन्छ ।

गाउँमा घोडा चढ्नेहरु त्यसबेला सामन्त, शोषक भनिन्थे । त्यसबेला मोटर त कहाँ हुनु, बाटो पनि थिएन ।

सवारीको साधन, सामान बोक्ने र शौखिनहरु च्ढ्ने साधन यिनै घोडाहरु थिए । उसले एकदिन घोडा चढेर आउदै गरेको मान्छेलाई शोषक भनी गालि गरेपछि त्यो घोडा चढ्ने र उसको लडाई छुट्याउन मलाई हम्मेहम्मे भएको थियो ।

एक दिन उसको छिमेकी लाहुरबाट आएपछि बजार गर्न साथसाथै जाँदा होटलमा खाजा खान अफर गर्दा उसले सम्झाउंदै भनेको थियो– ‘हेर लाहुरे, तिमीले कति मेहनत गरी कमाएको पैसा यसरी फजुलखर्च गर्नु हुदैन । घरबाट ल्याएको भुटेको मकै भट्ट नूनसित खानुपर्छ । यसले ताकत दिन्छ, होटलको खाजामा त्यस्तो ताकत कहाँ हुन्छ र ?’

होटल त पैसा सक्ने ठाउँ हो भन्ने उसको स्कूलिङ थियो । ‘बरु यो खर्च गर्ने पैसा तिमीले हाम्रो पार्टीलाई चन्दा देऊ । पार्टि इतिहासमा तिम्रो उच्च मुल्यांकन हुनेछ’– मितव्ययिता र पार्टी प्रतिबद्धता यसरी प्रकट गथ्र्यो ऊ ।

उसको घर सानो, भुईंतले मात्र थियो । जग्गा जमिन पनि थोरै थियो । तर, उसको बुवा सिपालु सिकर्मी । निकै ब्यस्त हुन्थे उनी ।

ठूल्ठूला घर बनाउनेहरुले टाढा–टाढाबाट उनको खोजी गर्दै आउँथे । त्यसैले आर्थिकरुपमा उसलाई खासै समस्या भएन अध्ययनकालमा । तर, वर्गीय हिसावले उ स्पष्ट सर्वहारा वर्गको प्रतिनिधि । आदर्शले र ब्यबहार दुबैले सर्वहारा ऊ । उ समर्पित थियो र त पार्टिमा स्थापित पनि ।
==============================================================================================
म झसङ्ग भए । जब उ बैठक कोठामा प्रबेश गर्यो, मगमग वासनायुक्त सुवास फैलियो चारैतिर । मानौ चमेली, सुनाखरीको बगैंचामा म प्रबेश गरिरहेको छु ।

मेरो मित्र मखमली गाउनमा सजिएर जेल लगाएर मिलाएको कपालमाथि चुरोटको गोलो धुँवा घुमाउदै ‘सलाम कामरेड’ भन्दै हात मिलाउन आइपुग्यो ।
म पनि औपचारिकता पूरा गर्न उठेर कसिलो हातमिलाउन पुगें । उसले तातो, चिसो के पिउं भन्यो । मैले मनतातो पानी माँगें । मलाई मायालु पाराले स्वागत गर्न आतुर थियो ऊ ।

मलाई भने उसको बिगतको आदर्श र बर्तमानको यो शिष्टाचारको भेद छुट्याउन हम्मेहम्मे भइरहेको थियो । उसले यो बीचमा निकै छलाङ्ग मारेको रहेछ । जबकि उ कुनै समय पार्टीको होलटाईमर आदर्श कामरेड थियो ।

पारिवारिक कुरा शुरु भयो । सन्चो बिसन्चो, काम, ब्यवसाय, बच्चाहरुको पढाइ, लेखाइ, आम्दानीका बिषय यस्तै यस्तै । धेरै बिषय निस्किए कामरेडका । छोरा यूयस, छोरी अष्ट्रेलिया, भाइ जापान, बाआमा सदरमुकाम, क्रसर, उद्योग, स्कुल, कलेजमा लगानी ।

ठेक्का, म्यानपावर कम्पनी, एनजीओलगायतका बेलीबिस्तार सुन्दा निकैबेर भइसकेको थियो । झमक्क तात परिसकेकोले मेरो अन्तिम टेम्पो छुट्ने चिन्ता बढिरहेको थियो । म आफ्नो डेरातर्फ लाग्ने अनुमति माग्दै कसिलो हात मिलाएर कामरेड निवासबाट निस्किएँ ।
(उपप्राध्यापक, पुल्चोक क्याम्पस)

Facebook Comments