प्रकाशचन्द्र घिमिरे
मलाई निकै रुचिको बिषय थियो बिज्ञान । त्यसैले तत्कालीन पाठ्यक्रमअनुसार कक्षा ९ देखि ऐच्छिक बिज्ञान र गणित तथा तथ्याङ्क र थप ऐच्छिक बाणिज्य अंकगणित बिषय लिएँ । तर बिचमा बिद्यालयले नै बाणिज्य अंकगणित हटाए पछि पछि यसको सट्टामा स्वास्थ्य तथा शारिरिक शिक्षा लिएँ ।
२०४४ सालमा एसएलसी दिएर २०४५ असारमा परीक्षाफल प्रकाशित भएको थियो । एसएलसी उत्तीर्ण गरेपछि अमृत साईन्स क्याम्पस (अस्कल) मा आइएस्सी पढ्न थालियो । क्याम्पसमा निकै राजनीतिक माहोल हुन्थ्यो त्यसबेला, किनकि निर्दलीय पञ्चायत ब्यबस्था रहेको तत्कालीन अबस्थामा दलहरु प्रतिबन्धित थिए । राजनीतिक गतिविधि स्वतन्त्र विद्यार्थी यूनियनमार्फत देशको राजनीति मुखरित हुन्थ्यो ।
राजनीतिक दलहरुले आफ्ना बिद्यार्थी भातृसंगठनमार्फत राजनीतिक गतिविधि गर्दथे किनकि स्वतन्त्र विद्यार्थी युनियनमा बिद्यार्थि संगठन चुनाव लड्न पाउँथे । यिनै संगठनबाट नयाँ नेताहरु उत्पादन पनि हुन्थे । आजका दोश्रो पुस्ताका भनिने सबै दलका नेताहरु त्यही बेलाका वा त्यसपछिका विद्यार्थी नेता नै हुन ।
२०४५ फागुनतिर भारतले नाकाबन्दी गरेपछि देशको राजनीतिक अवस्था निकै तरंगित बनेको थियो । विद्यार्थी आन्दोलन पनि भै रहेको थियो । नाकाबन्दीपछि केही समय पठनपाठन बन्द भयो किनकि पेट्रोलियम पदार्थ भारतबाट आउन बन्द भएपछि विद्यार्थी मात्र होईन सबैको भान्सामा बल्ने स्टोभको लागि मट्टितेल आपुर्ति हुन छोड्यो ।
केही महिनापछि क्याम्पस खुल्यो । स्थिति सामान्य हुँदै गएको जस्तो देखिए पनि देशमा राजनीति निकै तातिदै थियो । पञ्चायती ब्यबस्थाको अन्त्यको लागि जनआन्दोलनको उद्घोष भयो । बहुदलीय ब्यबस्था पुनर्स्थापना भई आम चुनाव समेत भई नेपालि कांग्रेसको एकमना सरकारको गठन भयो ।
त्यही क्रममा सरकारले भारतसँग जलश्रोत बाँडफाँटको बिषयमा टनकपुर सन्धि गरेको समाचार सनसनि भयो । सरकारले सन्धि होइन सम्झौता हो भन्यो । तर प्रतिपक्षिहरुले संन्धि नै हो भने । यस बिषयमा सरकार र प्रतिपक्षबीच राजनीतिक हिसाबले निकै विवाद चर्कियो किनभने तत्कालिन संविधानअनुसार यस्ता खालका सन्धि गर्दा संसदको २÷३ बहुमतले अनुमोदन गर्नुपर्ने थियो, जुन त्यसबेला संभव थिएन ।
त्यसबेलाका प्रतिपक्ष बामपंथीहरु निकै देशभक्त, राष्ट्रवादी थिए, राष्ट्रियताको बिषयमा निकै संबेदनशी थिए । यसले गर्दा निकै सडक आन्दोलनहरु भए । टनकपुरमा अवलोकन गर्न जाने पत्रकार, राजनीतिक दलका नेता, मानवअधिकारवादी प्राविधिक तथा अन्य नागरिक अभियन्ताहरुको समूहहरुको टनकपुरमा ताँती लाग्दै गयो ।
यसबीचमा मेरो आइएस्सी अध्ययन सकिएको थियो र स्नातक भर्नाको प्रतिक्षामा थिएँ । त्यसबेला लमहीको एउटा औद्योगिक प्रतिष्ठानमा ब्यबसायिक अभ्यासमा थिएँ । टनकपुर जाने विभिन्न टोलीका सदस्यहरुसँग लमहीमा भेट हुन्थ्यो । यस बिषयमा निकै रोचक जानकारी पाइन्थ्यो र सबैको निष्कर्ष एउटै थियो, यो सन्धि नै हो,गिरिजाले टनकपुरमा राष्ट्रघात गरे । यस बिषयले नेपालि कांग्रेस भित्र पनि निकै तरंग ल्याएको थियो ।
यसै क्रममा एउटा पत्रकारको टोलीमा मेरा आइएस्सी पढ्दाका साथी आएका रहेछन । निकै समयपछि भेट भयो । उहाँहरुले मलाई पत्रकारिता र लेख रचना गर्न सुझावसहित उत्साहित बनाउनु भयो । मलाई पनि यसै बिषयमा निकै चाख थियो । उहाँहरुको सुझावले झन हौसला बढ्यो । उहाँहरुको फोन र ठेगाना डायरीमा लेखेर राखें । उहांहरुमध्ये दुईजना दृष्टि साप्ताहिकका संबाददाता हुनुहुन्थ्यो र एकजना बिरगंज तथा अर्का एकजना बिराटनगरबाट प्रकाशित हुने स्थानीय साप्ताहिक पत्रिकका सम्पादक ।
त्यसपछि म कलम चलाउन शुरु गरे । साप्ताहिक पत्रिकामा पठाउने समाचार बनाउन थालें । त्यसबेला टनकपुरको सन्धिको बिषयमा सडक, सदन सबै तातेको अबस्था थियो । यसैक्रममा प्रधानमन्त्रीको पुत्ला जलाउने कार्यक्रम लमही पनि थियो । यसको रिपोर्टिङ त्यसैदिन साँझ एक्सप्रेस डेलिभरी सर्भिसमार्फत गरिहाले । त्यसको समाचार आएपछि को रहेछ यहाँ अर्को पत्रकार भनेर घोराही र तुलसीपुरका मात्र होइन, लमहिका मान्छे पनि अचम्म परे । दृष्टि त्यसबेलाको चर्चित साप्ताहिक मध्ये एक थियो, जसले नेकपा एमालेको बिचार सम्प्रेषण गथ्र्यो । यद्यपि मेरो त्यो पार्टीसित बैचारिक सामिप्यता थिएन । तथापि म बाम शुभचिन्तक थिएँ ।
त्यसपश्चात लमहीमा मेरो पत्रकारको रुपमा समेत चिनारी हुन थालेको थियो सनैसनै । यही क्रममा तत्कालिन अबस्थामा नेपाली कांग्रेसको सत्ता स्थानिय तहदेखि संसदसम्म जताततै बहुमतमा थियो । सत्ताको दम्भ र केही अनियमितताका रिपोर्टहरु पनि मकहाँ आए । मैले त्यसको सूक्ष्म अनुसन्धान गरी रिपोर्टिङ्ग गरें ।
मेरो रिपोर्टिङ दृष्टिमार्फत दाङमा पनि पाठकहरुले पढ्न पाउनु भयो भने बिरगंज र बिराटनगरतिर पनि दाङको समाचार सम्प्रेषण भइरहे । यसैक्रममा सुर्खेतबाट प्रकाशन हुने सुर्खेतपोष्टका सम्पादक मित्रहरुसँग पनि भेट भयो र उहाँहरुलाई पनि समाचार पठाउन थालें । यसरी दाङ देउखुरिका समाचारहरु राप्ती अञ्चल बाहिर पनि जान थालेको अनुभूति भयो किनकि उहाँहरुले मलाइ कुरियरमार्फत पत्रिका पठाइरहनुहुन्थ्यो र आफूले पठाएका समाचार देख्दा खुशी लाग्दथ्यो ।
यसैक्रममा एक दिन काठमाण्डौबाट नेपालगञ्ज जाँदै गरेको रात्रि बस अर्नहवामोडमा बिहानीपख दुर्घटना भएछ । धेरै हताहति भएको रहेछ । थुप्रै घाइते हुनुभएको रहेछ । विहान ६ः०० नबज्दै घोराहीबाट नयाँ युगबोध साप्ताहिकका प्रधानसम्पादक आदरणिय नारायणप्रसाद शर्मा (नारायणगुरु)को फोन आयो । उहाँले पनि थाहा पाउनु भएको रहेछ, मैले रिपोर्टिङ गर्ने गरेको कुरा । उहाँले त्यहा ठूलो दुर्घटना भएको रहेछ, के छ रिपोर्टिङ भनेर सोध्नुभयो ।
रातिको घटना भएकोले मैले हेी सुचना पाएको थिएन । तुरुन्तै साइकल लिएर दौडिहालें । निकै भयानक दृश्य थियो त्यो । संभवतः यस्तो भयावह दृष्य पहिलोपटक देखेको थिएँ । सबै जानकारी लिएर रिपोर्ट पठाइहालें घोराही ।
यसरी म नेपालको पुरानो मोफसलको चर्चित साप्ताहिकसँग पनि जोडिन पुगें । यद्यपि लमहीमा पुराना अग्रज पत्रकार राधेश्याम दाइ संवाददाता हुनुहुन्थ्यो तर सायद त्यसबेला उहाँ लमही बाहिर हुनुहुन्थ्यो । मेरो रिपोर्टिङ पत्रिकामा आइरहेको थियो र यो काम मेरो रहरको स्वयंसेवी थियो ।
रिपोर्टिङ पत्रमार्फत हुन्थ्यो, जुन कुरियरबाट गर्नुपथ्र्यो । तर, मलाई निकै रमाइलो लागिरहेको थियो । यही क्रममा हालको लमही टाउन (नयाँ शहर) एरियामा टाउन प्लानिङको लागि रुख कटान भएको थियो । काटेका रुखको घाटगद्दी तत्कालीन इलाका प्रहरी कार्यालय (हालको बसपार्क पछाडि)नेर थियो । घाटगद्दीका चौकिदारमाथि राति अज्ञात मान्छेबाट गोली प्रहार भएको रहेछ र उहाँहरुलाई नेपालगञ्ज उपचार गर्न लगिएको रहेछ । यसको जानकारी पनि संभवतः नारायण गुरुले रिपोर्टिङ गर्नको लागि भनेपछि थाहा पाएँ । प्रहरी कार्यालयपछाडि राति भएको यो घटना रहस्यमयी घटनाको पनि रिपोर्टिङ गरें ।
रिपोर्टिङको क्रममा काठमाडौबाट प्रकाशित हुने योजना साप्ताहिकमा पनि समाचार पठाइदिनको लागि अनुरोध भयो । त्यहाँ पनि समाचार पठाउन थालें । यसरी मेरो पत्रकारिताको आयाम बढ्दै गएको थियो । म २०४८ देखि ०५० सालको फागुनसम्म लमहीमा बसेर पत्रकारिताको अलिअलि अनुभव संगाल्ने अवसर पाएँ ।
काठमाण्डौ फर्किएपछि पत्रमार्फत स्वयंसेवा गरेका दृष्टि र योजना साप्ताहिक कार्यालय बागबजार र इटुम्बहाल पुगेर आफ्नो चिनारी दिएँ । शम्भु श्रेष्ठ, किशोर श्रेष्ठसँगड बागबजारमा र शक्ति लम्सालसँग ईटुम्बहालमा भेटघाट भयो । उहाँहरुले मेरो प्रशंसा गर्नुभयो । मैले पठाएको समाचार खासै सम्पादन गर्न नपरेको भनेर तारिफ गर्दै हौसला बढाइदिनुभयो ।
मलाई पनि यो क्षेत्रमा रुचि बढ्न थाल्यो । उहाँहरु सबैले आमन्त्रण पनि गर्नुभयो किनकि म काठमाण्डौ बिएस्सी अध्ययनको लागि त्रिचन्द्र क्याम्पसमा भर्ना भइ पढाइ शुरु गर्न लागेको थिएँ । उहाँहरुको सम्पर्कमै रहेर योजना साप्ताहिकमा सहयोग गर्न थालें । गोबिन्द आचार्य (निवर्तमान अध्यक्ष नेपाल पत्रकार महासंघ), ओम शर्मा (पूर्वमहासचिव महासंघ), जगत ओली, दाङ जिल्लाका साथीहरु प्नि योजना साप्ताहिकमा काम गर्नुहुन्थ्यो, त्यही चिनजान भयो ।
जगतजि चाहिँ मेरा गाउँले छिमेकि पनि हुनुहुन्थ्यो । यसरी योजना साप्ताहिकमा स्वयंसेवा गर्दा लेटरप्रेसमा कम्पोज गर्न पनि जानियो र प्रुफ रिडिङ गर्न पनि जानियो, जुन मेरो लागि नयाँ अनुभव र ज्ञान थियो ।विद्यार्थी भएकोले समय मिलाएर जाने गर्दथें ।
बरिष्ठ एवं अग्रज पत्रकार तथा जनसांस्कृतिक यौद्धा कृष्णसेन इच्छुक दाईले पनि निकै हौसला र प्रेरणा दिनुभएको थियो । बिज्ञानको बिद्यार्थीको यस बिधामा लगन देखेर पनि उहाँ प्रभावित हुनुहुन्थ्यो । यसैक्रममा नयाँ मोर्चा सन्ध्याकालीन दैनिकमा अग्रज पत्रकार नरेन्द्र पोख्रेलसँग चिनजान भएपछि स्तम्भ लेख्ने र समाचार बनाउने, प्रुफ रिडिङ गर्नेकाम पनि गरियो ।
यसैक्रममा महिमा साप्ताहिक, जनादेश साप्ताहिक र योजना साप्ताहिक छुट्टाछुट्टै ब्यबस्थापनबाट प्रकाशित हुन थाले । जनादेशमा र महिमामा झटारो ब्यंग्य स्तम्भ पनि लेखन सहयोग गरें । महिमामा छद्मनामबाट झटारो ब्यङ्ग्य लेखिरहें ।
२०५१ सालको मध्याबधि चुनावमा मलाइ दाङमा राष्ट्रिय निर्वाचन पर्यबेक्षक समिति (नियोक) मा पत्रकारको कोटाबाट सदस्यमा सिफारिस गर्नुभयो । अग्रज पत्रकार नारायण गुरुले यो सिफारिस गर्नुभएको थियो । त्यसबेला दाङमा जयनेपाल साप्ताहिकका मधुसुदन पौडेल, सिमारेखा साप्ताहिकका तोयनाथ धिताल, कर्णप्रखर धिताल, पत्रकार भुवन देवकोटालगायतका अन्य अग्रज पत्रकारहरुसँग चिनजानका साथै निकै हेलमेल पनि भयो ।
निर्वाचन पर्यबेक्षणको लागि पूर्व तयारीको सिलसिलामा दाङ देउखुरीका अधिकांश गाबिस पुग्ने मौका पाइयो । त्यसबेला दाङमा भएका दुईवटा घटना निकै दःखद थिए– बिजौरि गोलिकाण्ड र डुरुवाको हत्याकाण्ड । उक्त घटनास्थल, पीडित परिवारको घरमा पनि गएर सत्य तथ्य बुमm्ने मौका पनि मिल्यो ।
२०५२ सालदेखि तत्कालीन ने.क.पा.(माओबादी)को नेतृत्वमा शुरु भएको जनयुद्धको दौरान देशमा संकटकाल लागेपछि २०५८ सालमा जनादेश, महिमालगायत पत्रिकाहरुमा प्रतिबन्ध लाग्यो । त्यसपछि पत्रिकासितको भेटघाट पनि बन्द भयो । साथीहरु भुमिगतरुपमा सम्पादन कार्यमा लाग्नुभयो । म पढाइमा नै लागें र अध्ययनपश्चात मेरो ब्यवसायिक जीवन इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा प्राध्यापनबाट शुरु भयो । यद्यपि लेखनको क्रम जारी नै छ ।
गीत, कविता, कथा, समसामयिक राजनितिक सन्दर्भमा तथा आफ्नो ब्यबसायिक बिषयक सम्बन्धी लेख लेख्ने क्रम रोकिएको छैन । राष्ट्रियस्तरका तथा मोफसलका दैनिक पत्रिका, अनलाइनहरु म नियमित आइ नै रहेको छ । पत्रकारिताका छोटो समयको अनुभवले यसक्षेत्रबाट टाढा नभएको अनुभूति अहिले पनि भैरहन्छ ।
आज मलाई निकै खुशी लागिरहेको छ । दाङमा धेरै संचार गृह र थुप्रै संचारकर्मी जन्मनुभएको छ । सुचनाको पहुँचमा सबैलाई पु¥याउन योगदान गर्नुभएको छ । मलाई यस क्षेत्रमा उन्मुख गराउने ती पत्रकार मित्रहरु, आदरणीय नारायण गुरु, आदरणीय कृष्णसेन इच्छुक, आदरणीय शक्ति लम्साल, किशोर श्रेष्ठलगायत सबैप्रतिसदा कृतज्ञ छु, रहिरहने छु ।
(लेखक भूगर्भविद एवं उप–प्राध्यापक हुनहुुन्छ)
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।