• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमका युवाले थाले ‘म बनाउँछु मेरो गाउँ अभियान’, नगरपालिकाको ५० प्रतिशत साझेदारी




रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा स्थानीय युवाको अगुवाई र स्थानीय सरकारको साझेदारीमा नौलो अभियान शुरु गरिएको छ ।

आठबीसकोट गाउँपालिका घारीखोलाका देश बिदेशमा रहेका युवाहरुले शुरु गरेको यो अभियानअन्तर्गत जनविकास मावि घारीखोलामा १६ कोठे पक्के भवन बनाउन शुरु गरिएको छ ।

‘म बनाउँछु मेरो गाउँ’ अभियानअन्तर्गत देश बिदेशमा रहेका युवाहरुले ४० लाख रुपैयाँ संकलन गरेका छन् भने आठबीसकोट नगरपालिकाले पनि त्यति नै सहयोग गर्नेछ ।

यसमा गाउँका एक सय ४० घर परिवारले हरेक घरले दश दश दिनको श्रमदान गर्दैछन् । जसअनुसार विहान ६ बजेदेखि राति १० बजेसम्म काम चल्ने गरेको छ ।

स्थानीय युवा र स्थानीय सरकारको गरी ८० लाख बजेट तथा त्यत्तिकै स्थानीयबासीको श्रम गरी एक करोड ६० लाखको लगानीमा तीन तले पक्की विद्यालय भवन बन्न थालेको नगरपालिकाका प्रमुख गोरखबहादुर केसी ‘सन्देश’ले जानकारी दिनुभयो ।

जिल्लामा सञ्चालित आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरण अभियानसँग जोडेर यो अभियान चलाइएको उहाँले जानकारी दिनुभयो । देश बिदेशमा रहेका युवाहरुले केही राम्रो काम गरौं भनेर अभियान थालेको जानकारी दिंदै उहाँले घारीखोलाबाट थालिएको यो अभियान पालिकाब्यापी बन्न थालेको छ ।

‘अहिले अन्य गाउँका युवाहरुले पनि रकम संकलन गर्न शुरु गरेका छन्’– नगर प्रमुख केसीले भन्नुभयो– ‘जहाँ जति रकम संकलन हुन्छ, नगरपालिकाले त्यति नै रकम लगाउँछ । पालिका र स्थानीयको रकम बराबर स्थानीयले श्रम लगाउँछन् र नयाँ मोडलबाट विकास गरिने छ ।’

अहिले यो श्रम अभियान निकै रहरलाग्दो गरी अघि बढेको छ । स्थानीयले दिनभरि काम गर्छन् भने फुर्सदको समयमा नाचगानलगायतका रचनात्मक कार्यक्रम हुने गरेको छ । स्थानीयले काम गर्ने ठाउँमै सामूहिक मेस चलाएर खाना खाने र फुर्सदको समयमा रचनात्मक कार्यक्रम पनि गर्ने गरेका छन् ।

गाउँमा यो श्रम अभियानलाई उत्सवकै रुपमा सञ्चालन गरिएको छ । ‘गाउँमा कोही फुर्सद हुनेबित्तिकै काममा जोडिन आइपुग्छन्’– नगर प्रमुख केसीले भन्नुभयो– ‘लहर बनाएर एक ट्रक जति ढुंगा त उनीहरुले क्षणभरमा ओसारिसक्छन् ।’

गत बर्ष कोरोना अस्पताल बनाएदेखि यहाँका बासिन्दाले चिनियाँ शैलीमा विकासका काम गर्न थालेका हुन् । गत बर्ष स्थानीयबासीले बीस लाख सहयोग संकलन तथा सोही बराबर श्रमदान गरेर दश दिनमै अस्पताल भवन निर्माण गरेका थिए ।

‘यो विकासमा नयाँ सोंच हुनसक्छ भनेर हामीले प्रोत्साहन गरिरहेका छौं र देश बिदेशमा रहेका युवाहरुले केही न केही योगदान गाउँका लागि गर्नुपर्छ भन्ने मान्यताका साथ अभियानको अगुवाइ गरिरहेका छन्’– नगर प्रमुख केसीले भन्नुभयो ।

अभियानमा म पनि भाग लिनेछुः शर्मा

यसैबीच रुकुमपश्चिमका प्रतिनिधिसभा सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले यो अभियानमा आफू पनि भाग लिन उत्सुक रहेको बताउनुभएको छ । फोनबाट अभियानको उद्घाटन गर्दै उहाँले गत बर्ष दश दिनमै कोरोना अस्पताल बनाएको गतिमा यो अभियान पनि सम्पन्न हुने बताउनुभयो ।

रुकुम जिल्लामा चलेको रुकुम उज्यालो अभियान र अहिले चलिरहेको आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणको निरन्तरताको रुपमा यो अभियान चल्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । जनताको पहल र सरकारको सहभागितामा हुने यो अभियान देशमै नयाँ हुने पनि उहाँले बताउनुभयो ।

Facebook Comments