• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अलिखित कहानीका हस्ताक्षर




पन्ध्र वर्षपछि पाइला टेकेको छु यस विद्यालयमा ।

हेर्छु, वरिपरिको परिबेश । गजुलगाउँको अनुहारमा सम्वृद्धिको श्रृंगार कोरिएछ । साँगुरा मुलबाटा पनि चौडा र खुल्ला भएछन्, जहाँ गाडीको आउ जाउ छ । गाउँ र शहरको दुरी नजिकिएछ । प्रत्येक घरमा बिजुली आइपुगेको छ । पानी र चर्पीको राम्रो ब्यवस्था छ हरेक घर घरमा । फरक फरक मोडेलका मोबाइल छ सबैका हात हातमा । परन्तु, उस्तै छ ठाँटीको चौतारी । उस्तै शान्त र अचल छ पोखरीको पानी । पिपलको पात हल्लाउँदै हावा पनि उस्तै सुसाहटमा शितलता छरिरहेछ । छेउँको मन्दिर पनि उसै गरी गजदम्म बसेको छ ।

पिपलछेउँको भूगोलको छातीमा चौडा गरेर कोरिएको मोटरबाटो भने नयाँ थियो । यो नयाँ बाटोलाई छाडेर मेरो अन्तरमन कता कता फर्केर पुराना स्कुलेकालीन उमेरमा खिल्खिलाउन थाल्छ । डेढ दशक अघिको क्रियाकलाप आँखामा नाच्न थाल्यो र उसबेलाको उमेरको स्मृतिले मलाई तानेर यो बिद्यालयसम्म ल्याएको छ ।

मान्छेको आयुसँगै उसको रुपरंग बदलिए जस्तै बिद्यालयले पनि केही रुप बदलेछ, डेढ दशकको यो उमेरमा । मान्छेका अनुहारमा उमेरले केही पदचिन्ह छाडे जस्तै समयले विद्यालयको अनुहारमा पनि केही युगछाप छाडेछ । अनि प्रगतिसूचीमा प्लस टुको पगरी पनि सजाइदिएछ ।

जवानी चढेका बकैनाका रुखहरु बुढेसकालले छोएर केही मुर्झाएछन् दिन खाएका मान्छे जस्तै । कलिला मसलारुखमा बैशालु यौवना चढेछ, उसबेलाकी किशोरी भबिता जस्तै ।

केही संरचना फेरिएछन् पनि । हामीलाई ओट दिएको छात्रबास पनि भत्काइएछ र आधुनिक तवरको नयाँ भवन ठडाइएछ । त्यो छात्रबास छैन अहिले– जसको झ्यालबाट हरेक बिहान उनको बाटो हेरेर बसेको हुन्थेँ । घण्टी लाग्नु र साथीहरुको झुण्डमा मुस्कुराउँदै चौर उक्लने पहिलो सिढी उनले टेक्नु सधै एकै एकै समयमा हुन्थ्यो । हरेक दिन म त्यही समय कुरेर बस्थेँ । उनले पनि त झ्यालमा आँखा लगाएर मन्द मुस्कान नछरेसम्म आफ्नो दैनिकी अपुरो मान्थिन् । आकर्षक अनुहार, सुडौल जिउडाल, सेतो कमिजको तल नीलो मेड्डी, नीलो मेड्डीको तल सुनौला खुट्टामा चप्पल पड्काउँदै जब उनी आउँथिन् धरती जगमगाए जस्तो लाग्थ्यो, घामका किरण पनि फिक्काझैँ लाग्थ्यो ।

उनको पाइलाले टेकेको यो बाटोमा आज पनि उही बान्कीयुक्त अनुहारमा मोतीझैँ पसिना टल्काउँदै मन्द मुस्कानमा उनी उभिए जस्तो भान हुन्छ मलाई । शहिद भइसकेका प्रिय कमाण्डर पनि छेउँमै उभिएर उहिलेको शिक्षकको रुपमा हाँसिरहेझैँ लाग्छ ।

उसबेला माध्यमिक बिद्यालय थिएन जेलबाङमा । सात कक्षा उतीर्ण गरेपछि डोकोमा एक दुई हप्ताभरिलाई पुग्ने गरी मकै पीठो, नुन, तेल, तरकारी बोकेर यहीँ आउँथ्यौँ । बाटामा भेट्नेहरु भन्थे– “गजुल हाइस्कुलका बिद्यार्थी ।” गर्वले नाक थामालेक जतिकै अग्लो हुन्थ्यो । मनगाडामुनि गजुलखोला सुसाए जसरी मनको कुनामा कतै भविष्यको मीठो परिकल्पना सुसाउँथ्यो । यस्तै सुसाहटमा म आफैलाई बगाउँदै बगाउँदै मेरो सिँगो उमेर भित्रको तीन वर्ष पार गरेथेँ यहाँ ।
तथ्याङ्ख पुस्तिकाको पन्नाभित्र च्यापिएका पूर्वबिद्यार्थीका धेरै नामहरु मध्ये एक नामधारी साक्षात म उभिएको छु यस प्राङ्गनमा, एक साधारण नागरिक भएर । डेढ दशकपछि अहिले फर्केर म त्यही तीन वर्षभित्र रुमल्लिरहेछु ।

चुपचाप छु । मौन छु । द्रविभूत छु ।

आँखाको पर्दामा अहिलेका दृश्य हैन उहिलेका तस्बीर खुलेको छ, ठुलो पर्दाको स्पष्ट रिलचित्रझैँ । त्यसै त्यसै टोलाईरहेछु । खुल्लाचौरमा पाइलालाई बेरोकटोक छाडिदिएको छु । जता पाइलाले डो¥याउँछ उतै चल्दैछु– निर्बाध रुपमा ।

सुनसान छ स्कुल र चौर । म भने भित्र भित्रै उद्देलित छु ।

एकान्तझैँ मौन छ परिबेश । मेरा आँखामा तीन वर्षभित्रको स्कुलेभीड छ ।

साथीसङ्गी छन् अन्तरमनको पर्दामा । आदरयोग्य शिक्षक–शिक्षिका । घण्टी बजाउने पिएन साईँला बाजे । स–साना विद्यार्थी, जवान किशोर किशोरीका उल्लासमय कोलाहल ।

विद्यालयका भिताहरुलाई सुम्सुम्याउँछु, हत्केलाले । वर्षौँपछि भेट भएका आमाछोरीका प्रेमवात्सल्यपूर्ण भाव जस्तो । प्रत्येक कोठाको झ्यालबाट भित्र चियाउँछु । निरस र सुनसान कोठामा पनि उसबेलाका क्लासमेट र शिक्षकहरुको गुनगुनााहट कानमा ठोकिन्छ । भित्री आँखामा साथीहरु मुस्कुराउँदै मलाई अँगालोमा बेर्न आइपुग्छन् । भावनाको अतल गहिराईमा डुबेर म पानी पानी बन्छु । भावुक हुन्छु । द्रवित बन्छु ।

अफिसछेउँको कोठा, जहाँ दश कक्षा सञ्चालन थियो उसबेला । यही कोठाको अध्ययन नै मेरो अन्तिम वर्ष थियो । मलाई स्कुलबाट बिदाई गरेको हो यही कोठाले नै । प्रेमले पग्लिएर कोठाका सबै कुनातिर आँखा घुम्छ । उस्तै छ कालोपाटी । उस्तै तवरमा बसालिएका थिए, टेवल र बेन्च पनि । छुन मन लाग्छ । चुम्न मन लाग्छ । ढोग्न मन लाग्छ श्रद्धाले । आँखा माथि माथि घुमाउँछु । भरनको काठमा लेखिएका दुई अक्षरमा मेरा आँखा हठात् रोकिन्छ, उडिरहेको पंक्षी एकाएक रोकिएझैँ । निशब्द हुन्छु । स्तब्ध हुन्छु । भावविभोरतामा कतै हराउँछु ।

लेखिएको थियो– “ब्+द्य ।” उमेरले रंगाएको मेरो अनुहार जस्तै केही खुइलिएका थिए, अलिक धुमिल थिए ।

तर बिगत ताजा र सफा भएर उभिएको छ आँखामा । आँखा त्यसै त्यसै रसाउँछ । मन बहकिन्छ, पागलप्रेमीझैँ । बिस्मृत हुन्छु अतितका रसातलमा भासिएर । मानौँ कि कुनै युद्धमा मारिएका छोराको चिहानमाथि आँशु झार्दै रोइरहेका बुवा हुँ, ।

म अक्षर देखेर–
अवाक र अचल हुन्छु ।
बिक्षिप्त र नाजवाफ हुन्छु ।
बेसुर र अनियन्त्रित हुन्छु ।

उफ ! एउटा सग्लो समय, जसको अलिखित कहानीका हस्ताक्षर हुन यी । बियोगान्तको भूमरीमा फसेको जीवनकहानीको बलियो जग र सबुद तथ्य हुन यी अक्षर । धन्न्य समय ! मेरो जीवनको एउटा महत्वपूर्ण कोशेढुङ्गा, अझ भन्छु अर्थपूर्ण इतिहासलाई अमिट रुपमा सुरक्षित राखिदिएछौ ।

ए प्लस बी । अथवा, अक्कल बहादुर बुढामगर याने कि म । र, भबिता सुवेदी । स्कुलबिदाको कुनै दिन उनैले लेखेकी थिइन्् । यस भन्दा अघि नै एकले अर्कालाई दिलको भितामा थाहै नपाई लेखिसकेका थियौ । काठको अक्षर त एउटा रोमान्टिक अभिक्यक्ति मात्र थियो । त्यो पनि आफनै साँकेतिक भाषामा ।

सिँगो कक्षापरिवारलाई थाहा थिएन । पछि युद्धमा हाम्रै कमाण्डर बन्नु भएका सरलाई पनि थाहा थिएन यो अक्षरार्थ । कालोपाटी मुनि उभिएर उहाँले हामीतिर फर्केर पढाउनुहुन्थ्यो शिरमाथि हामी दुईका लागि गहन अर्थ बोकेका दुई अक्षरसँग चासो थिएन । हामी सरतिर फर्किँदा अलिक माथि नजर उठाए त्यही अक्षरसँग आँखा जुध्थ्यो र हृदय अजीव ढँगले रसाउँथ्यो । यी अक्षरदेखि जो कोही पनि अपरिचित थिए । थाहा थियो त भबिता र मलाई मात्रै । देखेर हरेक दिन हृदय अगाढ श्रद्धा र प्रेमले लछप्प भिज्दथ्यो ।

प्रेमइतिहासको एउटा निर्मम अफसोचमा खिन्न छु आज म । अति दुखित छु– वर्णन गर्नै नसकिने । यस्तो दुर्भाग्य, अझ भनुँ, महादुर्भाग्य कि उहिले यी अक्षर लेखेबखतमाझैँ सँगै उभिएर पढ्ने शौभाग्य मिलेन हामीलाई । क्रुर समयको दुश्चक्रले हाम्रो सम्बन्धको डोरी चुँडाएपछि एक्लै हुत्तिएर आज म नितान्त एक्लो यी अक्षरका सामु उभिएको छु ।

नुनिला आँशुले आँखा धुमिलिएर अक्षरहरु किरमिर हुन्छन् । आफुले आफैलाई सम्हालेर धुमिल दृश्यमै एकोहोरिन्छु । त्यही अक्षरबाट भविता उज्ज्वल, स्निग्ध र कञ्चन रुपमा मुस्कुराउँछिन् । कहिले बाघछापे लडाकु ड्रेसमा स्वचालित बन्दुक बोकेर हाँस्छिन् । कहिले स्कुल ड्रेसमा । आकर्षक अनुहार, सुडौल जिउडाल, सेतो कमिजको तल नीलो मेड्डी, नीलो मेड्डीको तल सुनौला खुट्टामा चप्पल पड्काउँदै हिँडेकी भबिता । वेदनाको करेन्टले हृदयमा झड्का दिन्छ र आँखामा असारे मनसुन बढ्छ । निधारको भार हत्केलाले थामेर लामो उच्छवास फाल्छु र काभ्रागाउँतिरबाट आएको चिसो हावा फोक्सोमा भरेर मनसुनको कुहिरो भगाउने प्रयास गर्छु ।

भैगो ! यी कुरा यहीँ छाडिदिउँ । यस भन्दा अझ पहिलेको कहानी बताउँछु म ।

बिस्फारित नयनलाई जबरजस्त माथि माथि धकेल्छु । देखिन्छ– काटनेगाउँ, मन्घा, नान्टीबाङ, मसिना धुरी, माझिङधुरी, मुलीबथान र अझ वर देखिने रनेथाप्ला । हो, खम्बा ठडाएझैँ लाग्ने भिरालो भोङ्करभीरको शिरको सानो टाकुरा नै रनेथाप्ला हो । स्कुलको कोठामा लेखिएका अक्षरको असली कहानीको विजारोपन त यही रनेथाप्लाबाटै भएको हो, करिब अ–ढाई दशक अगाडि ।

दृश्यपानपछि फर्केर म त्यही याममा डुब्छु ।

प्रतिबन्ध गरिएको वर्खेघाँसलाई फगामगाउँले फुकुवा गरेपछि गजूल निवासी क्षत्री समुदायका केही किसानहरु गाईगोठ सार्न लेक चढ्थे । तिनै हुलभित्र भबिताका बुवा आमा पनि मिसिएर हरेक वर्षको बर्खेघाँसमा गोठ लिएर जान्थे । रनेथाप्लाका कान्लेबारीभरि केही महिना त गौपालक किसानहरुले भरिन्थे ।

सानै थिएँ त्यतिखेर म । सानै थिइन् उनी पनि । उसको भाषा मैले नबुझ्ने, मेरो भाषा उसले नबुझ्ने । कलिलो बालमन, निष्पाप सोँच– भाषा नबुझे पनि बालक्रियाकलाप र अबोधपनाको हुटहुटीले हामीलाई नजिक्याएर कसरी कसरी समीप्यता बढाइदिएथ्यो कुन्नी ? खाम भाषिका बोल्ने हामीलाई उनीहरुले ‘पर्बते बाजे’ भन्थे । हामी उनीहरुलाई ‘खसान्टे’ भन्थ्यौँ, कारण उनीहरु खसभाषीका थिए । हामी दुई पर्बते र खसान्टे वालमनबीच अचम्मैको सम्बन्ध झाँगियो । हाम्रो चुलोमा उसिनिएको आलु भबितालाई असाध्यै मन पथ्र्याे । मलाई पनि उसको टावामा बनेको सेतो गहुँको सुख्खा रोटीले गज्जबैले लोभ्याउँथ्यो । उसिनेको आलु डल्ला र गहुँका सुख्खा रोटी टुक्रा एकले अर्कासँग जोडिने पुल बनेको थियो ।

“अक्कल बाजे, कुकुर छेकिराख्नु है ।”– हरेक बिहान उनी मेरो गोठमा आउँथिन् ।

“आ क्या… टोक्नुहुन्न ।”– धौ धौ सम्झेर जिब्रो बटार्थेँ म ।
खित्का छाडेर हाँस्थिन् भबिता । म कुकुर छेक्थेँ र उनी गोठभित्र छिर्थिन् ।

आलु उसुन्थ्यौँ । नुन खुर्सानीसित खान्थ्यौँ पेटभरि । फेरि उनको गोठ पुग्थ्यौँ सँगसँगै । थालभित्र छोपिएको रोटी दिन्थिन् । यो दैनिकी हाम्रा बाल्यजीवनका अमूल्य लीला थियो । बालशुलभपनाका बालक्रिडा र बाल्यसन्तुष्टि अचम्मैले घनिष्टतामा मौलायो । अहिले सम्झन्छु, मेरो आलु र उनको रोटीमा प्रेमजलको अचुक मोहनी पनि थियो कि ?

दिउँसो ठुला मान्छेसँग गाईको पछि पनि सँगै हुन्थ्यौँ । माटो खोर्सेर, झारपात बटुलेर बालसंसारको रचना गरेर आफैमा भुल्थ्यौँ । ढोकायो पातलाई गाग्रो बनाएर पानी भर्ने नक्कल गरेथेँ । भनिन्– “पानी भरेर आउनुभयो ?” मैले भनेँ– “अँ आउनुभयो ।”

खितिति हाँसिन् उनी । बोलिन्– “अक्कल बाजे, म तिमीलाई हाम्रो कुरा सिकाउँछु है ।” एक दिन दुई दिन गरी उनले मलाई सिकाउँदै गइन् आफ्नो भाषा ।
“टल हैन तल है… बुली हैन भोलि ।”

“बस्ने गर हैन घर… ढनबाँडुर हैन धनबहादुर ।” यस्तै यस्तै ।

आज म जुन भाषामा कहानी फुकाउँदैछु हो, यो भाषा जीवनमा पहिलो पल्ट उनै भबिताले सिकाएकी हुन् ।

महिनाको अन्तमा उनका बुवा आमाले औलोतिर गोठ सार्ने भए । त्यस दिन अँध्यारो मुख बनाएर आँखा टिलपिल टिलपिल गराईन् र हात हल्लाइन् । मलाई पनि भित्र कतै कोमलो भागमा दुखिरहेको थियो । मेरो नजिक डौडेर आइन् र भनिन्– “अब त हाम्रो भाषा सबै जानिसक्यौ, हन्डो ? नबिर्सनु नि फेरि ।”
जवाफमा रुन्चे मुख लिएर हल्का मुस्कुराएँ । उनको अनुहारमा हेरिरहेँ एकोहोरो ।

अर्को वर्ष म स्कुल जान थालेपछि भबितासँग भेट नहुने कुराले दुखित थिएँ । तर खुशीको सञ्जोग जु¥यो । बनमाथिको बन्देज यस वर्ष फगामले छिटो फुकुवा ग¥यो । स्कुलको वर्खेबिदा सकिनुपूर्व नै रनेथाप्लामा गोठहरु भरिए ।

अघिल्लो वर्षमाझैँ सुचारु भयो हाम्रो बाल्यलीला । फेरि उसिनिएको आलु डल्ला, सेतो गहुँका सुख्खा रोटी टुक्रा साटिए । उही गाईग्वाला, उही बाल्यसंसारको अदभूत रचना रनेथाप्लामा फेरि दोहोरिए । सायद केही अज्ञात अर्थोक जिनिस पनि आत्माभित्र नमेटिने गरी साटिए, रचना गरिए ।

त्यही रचनाको सिलसिलामा भनेकी थिइन्– “अब हामीले एकले अर्कोलाई साथी भन्ने है ।” यही क्रमदेखि उनले साइनो बदलिन्, उनको शिरको रिबन फेरेजस्तै । अबोध बाल्यवस्थामै वा जुँगा नआउँदै पाएको बाजे साइनो गुमाउनुमा मलाई केही गुनासो थिएन, भनिदिएँ– “हुन्च, म पनि साठी बन्चु ।”
“साठी हैन साथी !… हन्डो ?”– माथिको खागला भञ्ज्याङ जस्तै छयाङ्गै खुलेकी थिइन् ।
सामुहिक हर्षोल्लास खित्खितायौँ ।

दिनचर्या र साहचर्य पूर्वबत बित्यो, जसरी अघिल्लो वर्ष बित्यो ।

“तिमी स्कुल यही कपडा लाएर जान्छौ ?”– मेरो शरिरमा पहिरिएको अल्लोको बल्लामा औँलाले इङ्गित गर्दै भनिन् । उतर दिएँ– “अँ ।”
“मेरो त अर्कै ड्रेस छ ।”

“ए ! हो र ?”
‘ड्रेस ।’ यो मैले बुझिन । सोध्ने आँट पनि गरिन ।
यस पछि सात वर्र्षसम्म पनि हाम्रो भेट भएन ।

मैले भबिताको अनुहारलाई मानस्पटलमा सात वर्षको स्कुले जीवनले कतै पुरिसकेको थिएँ । जसै गजुल स्कुलको आठ कक्षामा पहिलो दिन नितान्त नौला र बिरानो अनुहार लिएर पछाडिको बेञ्चमा बस्न गएँ । पहिले कक्षाशिक्षकले घर सोध्दा भनेको थिएँ– “जेलबाङ ।”

सबैको ध्यान मतिर थियो । अघिल्लो लाइनको बेञ्चमा बसेका पाँच जना केटी मध्ये एउटीले घरी घरी मतिर नजर हानेर घोँच्थी । कता कता देखे जस्तो अथवा सपना जस्तो लाग्थ्यो मलाई । दिनभरि दिमागमा घुमिरह्यो, ‘कहाँ पो देखेथेँ….।’

साँझ बिदापछि म छात्रबासतिर मोडिन लागेको थिएँ ।

“बाजे साथी !”
यो आवाज सुनेर मुन्टो घुमाएँ ।

एक हुल केटीका हुलबाट अघि कक्षामा नजरको तीर हानिरहने उनै चुलबुली केटी मलाई जिस्काउँदै भनिन्– “तिम्रो कुकुरले टोक्नुहुन्छ कि ?”

खितिति हाँसे सबै । किशोरी हाँसोका पर्राले घोचिएँ । मेरो अभिमान डगमगायो र असमन्जसतामा कडा नजर उनीहरुतिर तेर्साएँ । सबै आआफ्ना बाटो लागे । उनै केटी साथीहरु भन्दा केही कदम पछि रहिन् र मतिर फर्केर मुसुक्क हाँसिन् ।

यो हाँसोले मलाई स्मृतिको धुमिल चित्रभित्र कतै घुमाइरह्यो । ‘बाजे’ ‘साथी’ ‘कुकुरले टोक्नुहुन्छ’– कानमा दोहोरियो । स्मृतिको भुमरीमा ढुन्मुनिन्छु । ओहो ! सम्झे सम्झे । दिमागमा बिजुली चम्केझैँ रनेथाप्ला झुल्कियो । हो त यो हाँसो उनै भबिताको हाँसोसित ठ्याक्कै मिल्छ, काट्टीकुट्टी मिल्छ ।

लामो निन्द्राबाट ब्युँझेजसरी अन्तरमनको पर्दामा रनेथाप्लाको बाल्ययाम उभिन्छ । सात वर्ष पहिले पुग्छु एकाएक । बात मार्छु बालमनको त्यो निस्पाप, निस्कलंक र पवित्र क्रियाकलापसँग । बाल्यजीवनको अमूल्य लीला, बाल्यक्रिडा र बालसन्तुष्टिमा पुग्छु । उसिनेको आलु डल्ला र सेतो गहुँका सुख्खा रोटी टुक्रा उज्जर बन्छ आँखामा । कानमा गुञ्जन्छ– ‘अब त हाम्रो भाषा सिकिसक्यौ, हन्डो ?’ जड बनेर एकोहोरिएँ– अर्धमुस्कानको मुद्रामा । बोली फुटेन मुखबाट ।

आकर्षक अनुहार, सुडौल जिउडाल, सेतो कमिजको तल नीलो मेड्डी, नीलो मेड्डीको तल सुनौला खुट्टामा चप्पल पड्काउँदै पाइला बढाइरहेकी उनै भबिताको यौवनिक उर्वशीत्वलाई हेरिरहेँ । कति आकर्षक कपडा ? सात वर्षअघि रनेथाप्लामा नबुझेको ‘ड्रेस’ यही स्कुलमा आएपछि आज बल्ल बुझेँ ।

अनि रनेथाप्लामा बिकसित हुन नपाएको मित्रताको रहस्य पनि यहीँ बुझेँ । तीन वर्षको स्कुलेजीवनमा रनेथाप्लामा नकोरिएको प्रेमिल कहानी पनि कोरियो ।

गाईग्वाला बन्दा नरचिएको अज्ञात रचना पनि रचियो । सपना जस्तै रंगीन भएर ऊसितको तीन वर्षे बिपना किशोरावस्थाको स्कुलेआँगन बाटो भएर हिँड्यो ।
ओहो ! एक हुल केटाकेटीको कोलाहलले म बिथोलिन्छु । सपना जस्तो गहिरो बिगतबाट झल्याँस्स यथार्थतामा उभिन्छु ।

सामुन्नेको काठका अक्षरलाई छाडेर स्कुलको भित्तैभित्ता हत्केलाले छाम्दै अगाडि बढ्छु । चारैतिर आँखा डुलाउँछु । यतिबिधि लामो समयको अन्तरालपछि पनि उस्तै देख्छु– रातामाटा, कोट, कुँडापानी । बायाँतिर मिझिङ, खुमेल, लुम्पुजा, सातदोबाटो, गोडमारे, निपाने उसै गरी अडिग चेहरामा छन् ।

फर्केर म स्कुलपछाडिको अमिलो बोटनिर थचक्क बस्छु ।

कोठाका ती दुई अक्षर पनि मसँगै बस्न आएझैँ लाग्छ । अक्षरभित्रबाट मेरा आँखामा भबिता निस्केर मुस्कुराउँछिन् । वर्तमानबाट उछिट्टिएर म भूतकालको रसातलमा डुब्छु फेरि ।

अन्तरआत्मामा म भबितासँगको सम्वादमा पुग्छु ।

“तिमी कति जिद्दीवाली है, हेडसरको कुरा नसुनेर उफ्री उफ्री लालसलाम भनी कराउने ।”

जवाफमा उनी बोल्दैनन् । मुस्कुराउँछिन् मात्र ।

सम्झन्छु, म आउनु भन्दा केही महिना अगाडि स्कुलमा भएको अखिल र नेविसंघबीच भएको हुलदङ्गा । मुद्दा मामिला चलेपछि तितर बितर भएको अखिल सँगठन र नेविसंघका साथीहरुको उच्च मनोवल । घटनापछि स्कुलका बिद्यार्थी दुई खेमामा बिभक्त थिए । र, मास्टरहरु पनि दुई धारमा थिए । मुद्दा खेपेका विद्यार्थी पलायन भए भने मास्टरहरु त्यहीँ । बिहानको स्कुले लाइनमा राष्ट्रियगानपछि हेडसरले भन्थे– “विद्यालयलाई राजनीति अखडा हैन, विद्याको मन्दिर बनाऔँ ।” तर कक्षाकोठामा जाने आदेशपछि एउटा समबेत आवाजले स्कुल बुलन्द हुन्थ्यो ।

“लालसलाम ।”
“जय नेपाल ।”

अनियन्त्रित स्कुलेभीड आआफ्ना कक्षातिर डौडिन्थे । जे गरे पनि यो आवाज रोकिएन । उनलाई भन्छु– “यो भीडमा सब भन्दा तीखो स्वर तिम्रै हुन्थ्यो भबिता ।”

उसै गरी मुस्कुराउँछिन् भबिता । बोल्दिनन्, सिर्फ नजरले जवाफ फर्काउँछिन्– ‘ठीकै गरेकी थिएँ ।’

“मलाई नेविसंघका साथीले लाती हान्दा कसरी ढुङ्गा उठाएकी थियौ है । अनि दुई सँगठन पक्षधरमा खेलाडी बिभक्त भएर भलिबल खेल्दा तिमी कसरी हुटिङमा चिच्याएका थियौ नि ?”

उसै तवरमा मुस्कुराउँछिन् ।

अन्तरसम्वादमा फेरि म बोल्छु– “भबिता तिमीले मलाई काफल खान भनी आफ्नो घर लगेको त बिर्से छैनिउ हगि ! ठाँटी, डी, कुवापानी, कोट हुँदै मलाई कसरी पानीपोखरी पु¥याएकी थियौ है । घरमा तिम्रो हजुरबुवाको मुखले नभने पनि तीखा आँखाले कसरी डसेथ्यो मलाई– ‘मगर हौ घरभित्र नपस्नु ।’ तिम्ले बुढो हजुरबुवाको सामु देवकोटाको कविता सुनाएकी थियौ नि– ‘मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन’ भनेर । अँ, हरेक दिन किन तिम्ले मलाई गुलियो सुन्तला ल्याइदिन्थ्यौ हँ ? अनि माग्थ्यौ रनेथाप्लाको मीठो आलु, हैन ? हो त यो भन्दा अरु केही नै गुलिया र मीठा पल थिए, जसको अभिब्यक्ति सुन्तला र आलुमा प्रकट पो गथ्र्यौँ कि ?” लामो स्वास फेरेर भन्छु– “रनेथाप्लाको जस्तै सेतो गहुँका सुख्खा रोटी ल्याइदिन्नौ अब ?”

भबिता बोल्दिनन् फेरि पनि ।

“पहिलो दिनको स्कुलबिदापछि तिम्रा साथीहरुसित मलाई कसरी हेपेको नि ? रनेथााप्लामै छाडेको बाजे किन भन्यौ त नि ?”– म सुरिँदै जान्छु । मन भित्र भित्रै आन्तरिक बोली अनबरत झर्छ– “स्कुलको दोस्रो दिन मसित माफी मागेकी थियौ ‘सरी अक्कल रनेथाप्लाको गोठमा बनेको साथी नै हौ हामी ’ भनेर ।”
कुनै नाटकमा पर्दा लागेझैँ यो सिलसिला यहीँ छोपिन्छ ।

कल्पनामा तीन वर्षको अन्य क्रियाकलापलाई यहीँ छाडेर सोँचाईको रफ्तार तेस्रो वर्षको अन्तिम दिनका दृश्यमा अल्झिन्छ ।

त्यही अमिलाको बोटमा साथीहरुको पछाडि बसेर पढिरहेको हुन्छु । कसैले थाहा नपाउने गरी मेरो पिठ्युँमा सानो ढुङ्गाले प्याट्ट निशाना लगाउँछिन् । हेर्छु, हातमा किताब उठाएकी हुन्छिन् । आँखाले सँकेत गर्छिन्, जाउँ भनेर ।

म निर्निमेष हेरिरहन्छु, आकर्षक अनुहार, सुडौल जिउडाल, सेतो कमिजको तल नीलो मेड्डी, नीलो मेड्डीको तल सुनौला खुट्टाका पाइला चाल्दै भबिता सिद्धथानतिर सोझिन्छिन् । म हेरिरहन्छु मात्र, प्रतिक्रियावीहिन । पारि कालो पत्थरनेरको सुरुङ्छेउँ पुगेपछि हातको किताबले आउ भन्ने सँकेत गर्छिन् । भुईँको किताब टिपेर उठछु । नीलो मेड्डी हल्लाउँदै पाइला चाल्छिन् उनी ।

अघिपछिको लामो दुरी तर नजिकको भावनासँगै पाइला चाल्छौँ । सिद्धथानको एकलो रुखफेँदमा सम्मुख पारेर बस्छौँ ।

धेरै बेरसम्म नीजि जीवन र आसन्न आँधीबेहरीबारे गम्भीर छलफल गर्छौँ । देशभक्तिभाव र राष्ट्रप्रेम अनि शोषण, दमन, वर्गीय विभेद र संघर्षबारे गहन विचार र दृष्टिकोण पोख्छौँ । अझ आफ्नो प्रेमप्रसँगबारे रोचक सम्वाद पनि भए ।

अघिल्लो रात कुनै झुपडीमा माओवादी नेताले दिएको प्रशिक्षणले हाम्रो जीवनपद्धतिमा क्रमभङ्ग गर्न लागिरहेको थियो । पढाईको बाटो या संघर्ष अथवा जनयुद्धको बाटो ?

पछिल्लो बाटो लिने निर्णय गरेका थियौँ ।

मैले भनेँ– “त्यसो भए अब पढाई छाड्ने नै भयौ त ?”

“युगको माग, देशको आवश्यकता र हाम्रो जिम्ेवारीको सामु यो गौण हो ।”

“एसएलसी दिएर गए पनि हुने ।”– फेरि भनेँ मैले ।

“ठीक छ त्यो पनि दिउँला” उनी अडिग र उत्साहित थिइन्– “तर अब अध्ययन किताबमा हैन, वास्तबिक जीवनमा गर्दैछौँ । आम शोषित पीडित जनतालाई जागरुक बनाउनु छ । अँध्यारोमा पिल्सिएका निमुखालाई न्यायको उज्यालो दिनु छ ।”

“बाटो निकै अप्ठ्यारो छ, जीवन… ।”

“जीवनलाई गौरव र अमरत्वको कसीमा राखेर हेर्नुपर्छ,” मेरो कुरा बीचैमा कातेर भनिन्– “बाटो अप्ठ्यारो छ, भविष्य उज्ज्वल छ । जीवन ढल्न सक्छ हामीले उठाएको युगविचार ढल्दैन, मर्दैन ।”

लामो छलफल भयो हाम्रो । उनकै भूमिका हाबी थियो त्यहाँ । उद्देलित र लालायित थियो हाम्रो मन अघिल्लो रातको प्रशिक्षणको भाषणले । एउटा ठोस निचोड भयो– भावना र विचारका, वर्तमान र भविष्यका, अठोट र दृढताका । अन्तमा निष्कर्षमा पुगेका थियौँ– “जनयुद्धमा हेलिने… मरे नि सँगै बाँचे नि सँगै ।”

निकै खुशी थिइन् यस बेला, विहानीका आभा जतिकै उज्यालिएकी ।

मुस्कुरायौँ । आँखा जुधायौँ । हात मिलायौँ । अँगालोमा बेरिएर कुममा हत्केलाले थपथपाईरह्यौँ निकै बेरसम्म । भिन्नै उत्साह, जोश र उमङ्ग थियो ।

कल्पनामा म सिद्धथानको त्यो क्षणमा डुबेको थिएँ । बेसी नै हराएछु बिगतमा ।

“सञ्चो छैन बावु ।”

यो बोलीले एकाएक झस्किन्छु म । चौरमुनिको बृद्ध बुवा रहेछन् । उहिलेकै जस्तो मिठास बोली थियो । समयले उसको अनुहारमा अरु धर्काहरु कोरेर मुझा पारिदिएछ । तर बोलीको मिठास र मिजासपनामा उस्तै आत्मीयता र उस्तै भावना । हड्बढाउँदै बोल्छु– “ह…हजुर ठीकै छु बुवा ।”

ओहो ! उफ !! म त यति एकोहोरिएछु कि सबैसित निरपेक्ष बनेर झोक्राइरहेछु । बिगतका स्मृतिलाई छाडेर, मुहारको पसिनालाई पुछेर बुवासित आफ्नो बारेमा बताउँछु । परिचय गर्छु । सम्झेर बुवा सुशिल पारामा मुस्कुराएर बोले ।

निकैबेर पछि फेरि म स्कुलतिर मोडिन्छु ।

“मरे नि सँगै बाँचे नि सँगै”– अनायासै कानमा गुञ्जिन्छ यो कसमयुक्त आवाज । सोँच्छु, समयले यो कसम गलत साबित गरिदिएको छ । न उनी बाँचिन्, न म नै मरेर शहिदको उपाधी पाएँ । म बिनाको उनको शहादत अथवा उनी बिनाको मेरो बँचाई । यही सत्य माथि उभिएर आज नितान्त एकलो यो स्कुलको सामु हाजिर छु । अप्ठ्यारो बाटो त हिँडियो, उज्ज्वल भनिएको भविष्य नै आजको वर्तमान थियो । आफैलाई थाहा छैन, म उज्यालोमा छु कि अँध्यारोमा ?

उनको जीवन त ढल्यो । नढल्ने, नमर्ने भनिएको युगविचार भनेकै आज उनलाई काठको अक्षरमा मैले पढ्नु या उनीबिना यहाँ म बिह्वल मन लिएर भोक्र्याउनु ? अथवा केही थान नेताहरु साँसद या मन्त्री हुनु या घाइते गाउँ र गाउँले मन अभावमै धसिनु ? वा गाउँको अनुहारमा औसत विकासरेखा कोरिनु या सिँगो राज्यसंरचनामा भएको परिवर्तन ?

यो परिवर्तन म जस्ता भुईमान्छेका लागि हो कि हुनेखाने र चल्तापुर्जावालाको लागि ? माझधारमा भ्रमित छु ।
युद्धकालका भीषण, जर्जरपूर्ण र सँगीनमयी जीवनमरणका दिनहरु सम्झन्छु । सम्झेर आधा गौरवान्धित आधा बिक्षिप्त हुन्छु ।

सिद्धथानको कसमपछि हामी छापामार बनेर मृत्युसँग पौठेजोरी खेल्यौँ । प्रहरी चौकी र सेना क्याम्प माथिका थुप्रै आक्रमणमा सहभागी बन्यौँ । सेनासँगको ठुला ठुला लडाईहरुमा एकाकार थियौँ । थुप्रै युद्धमोर्चाहरुमा इतिहास रच्यौँ । यस भित्र धेरै कथा उपकथाहरु छन । उकाली ओरालीहरु छन् । जीवन र मृत्युका दर्दनाक कहानीहरु छन । बिजय र पराजयका भोगाईहरु छन ।

दोस्रो पटक रुकुम खारामा सेनाक्यम्पमाथि आक्रमण ग¥यौँ । त्यो पनि असफल भयो । पिछा गरिरहेका सेनालाई डलसिँगेमा पूनःआक्रमण गरियो । त्यहाँको हवाईआक्रमणमा भबितालाई एचएमजीको गोली लाग्यो । भर्खरै बोल्छिन्झै लाग्ने उनको पार्थिव शरीरलाई माटोले पुर्नु पर्दा मुर्छा पर्ने गरी मन बिरक्तिएको हो । आँशु झारेको थिएँ, संसारै भिजाउने गरेर ।

अँ, त्यही लडाईमा कमाण्डिङ गरिरहेका प्रिय कमाण्डर पनि अहिले छैनन् । मनिमारेचौरमा सेनाको हवाईआक्रमणमा एचएमजीकै गोली लागेर हाम्रो सामु ढलेका थिए । कुनै समय यही स्कुलमा भबिता र मलाई पढाएका दिन सम्झन्छु । उनै कमाण्डरका अनुहार देख्छु कोठाभरि झलझली । उही मधुर बोलीमा निराश नहुने प्रशिक्षण दिएझैँ लाग्छ । आदेश दिएझैँ लाग्छ । काशन गरेझैँ लाग्छ ।

मोबाइलको क्यामेरामा कोठाभित्रको काठमा लेखिएका उही दुई अक्षरलाई कैद गर्छु ।

फोटामा अक्षर हैन उनै भबिता मुस्कुराएको देखिन्छ । भबितासँगै प्रिय कमाण्डर पनि उभिएको देख्छु ।
“लालसलाम”– मनमनै भन्छु र फटाफट ओरालो लाग्छु ।

१५ चैत्र, २०७६
शितलादेवी, पोखरा ।

Facebook Comments