• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माघ २६ को सम्झनाः उमेश थापा मारिएको दिन यस्तो थियो घोराही




एउटा जुलुसलाई घोराहीको तुलसीपुर चोकमा प्रहरीले हस्तक्षेप गरेपछि जुलुस दामोदर चोक घुमेर हालको सहिद उमेशचन्द्र थापा मार्ग प्रवेश गर्दै थियो, हाल रेडियो मध्यपश्चिम रहेको अगाडिको सडकमा एकाएक सेनाको बख्तरबन्द गाडी आएर गोली चलाउन थाल्यो ।

एक जनाको मृत्यु भयो भने एक जना गम्भीर घाइते भए । यसरी लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापा मारिएको र कृष्ण गिरी घाइते भएको पन्ध्र बर्ष पुगेको छ । अहिलेको पुस्ताले घोराहीको केन्द्र सहिद गेट र सहिद उमेशचन्द्र मार्ग भनेर चिन्छन् तर २०६२ माघ २६ गते त्यो त्रासदीपूर्ण घोराही गोलीकाण्ड धेरैले थाहा नपाउन सक्छन्, त्यसैले पन्ध्र बर्ष पुरानो इतिहास सम्झने प्रयास गरिएको छ ।

गोली काण्डमा तत्कालीन त्रिभुवननगर नगरपालिका–११ निवासी ४५ वर्षीय थापाको निधन भएको थियो । स्वर्गद्वारी प्रेसका प्रोप्राइटर एवं नेकपा एमालेका दाङ जिल्ला परिषद् सदस्य थापा सहिद हुनुभएको थियो भने कांग्रेसका क्षेत्रीय सदस्य गिरीलाई तत्कालीन महेन्द्र अस्पताल घोराहीमा सामान्य उपचारपछि तत्काल नेपालगञ्ज लगेर उपचार गरिएको थियो । उहाँ लामो उपचारपछि मात्रै फर्कनुभएको थियो ।

मावि काठेकोलमा शाही सरकारले गराएको नगर निर्वाचन चल्दै थियो । त्यसको बिरोधमा घोराहीमा बिरोध प्रदर्शन गरिएको थियो । तुलसीपुरचोकबाट दामोदर चोकहुँदै एउटा जुलुस त्यसतर्फ आइरहेको थियो भने हालको सहिद गेट (तत्कालीन जिविस रोडचोक)मा आन्दोलनकारीहरुको कोणसभा भइरहेको थियो । जुन कोणसभालाई एमालेका रोल्पा जिल्ला सचिव राजकुमार कक्षपतिले सम्बोधन गरिरहेको बोल सिमलबुटानेर गोली चलेको थियो ।

थापा र गिरीको जुलुस ठूलो पनि थिएन । तुलसीपुरचोकबाट सोझै सहिदगेट आउन प्रहरीले हस्तक्षेप गरेपछि घुमेर आउन थालेको सानो समूहमा थियो त्यो, जसमा झण्डै एक दर्जनको सहभागिता थियो ।

प्रत्यक्षदर्शीहरुका अनुसार सेनाले बिनाकुनै चेतावनी एक्कासी गोली प्रहार गरेको थियो । गोली प्रहारपछि ज्यान बचाउन भाग्ने क्रममा थापा र गिरी सिमलबुटाअगाडि पुग्नेबित्तिकै गोली लागेको थियो । अन्य व्यक्तिहरु भागेर ज्यान बचाउन सफल भएका थिए । नजिकैका २ वटा घरमा दुईदर्जनजति गोली लागेका छन् थिए भने सिमलको रुखमा पनि गोलीले प्वाल पारेको थियो । घटनास्थलमा खसेका गोलीका खोकाहरु केहीबेरपछि आएका सुरक्षाकर्मीहरुले टिपेर लगेका थिए ।

दिउँसै राज्यको तर्फबाट भएको त्यसप्रकारको घटनापछि दिनभर घोराही बजार आतंकित र सन्त्रस्त रह्यो । बजारभित्र गोली चलेपछि नजिकको निर्वाचनकेन्द्र बालमन्दिरका निर्वाचन कर्मचारीहरुमा भागाभाग मच्चिएको थियो । सेनाको गोलीद्वारा थापा मारिदा परिवाजन काठमाडौंमा थिए ।

यसरी घोषणा गरियो प्रथम सहिद
शान्तिपूर्ण आन्दोलनको क्रममा घोराहीमा सेनाद्वारा मारिनुभएका एमाले कार्यकर्ता उमेशचन्द्र थापा माघ १९ पछि सञ्चालित शान्तिपूर्ण आन्दोलनको पहिलो शहीद भएको दलहरुले घोषणा गरेका थिए । तत्कालीन सात दलले शान्तिपूर्ण आन्दोलन चलाएको भए पनि सो क्रममा कोही मारिएको थिएन । त्यसअघि मंसिर ७ गते नै माओवादीसँग १२ बुँदे समझदारी भइसकेको भए पनि आन्दोलन संयुक्त भइसकेको थिएन । सोही बर्ष चैत २४ गतेदेखि भने माओवादी र सात दलले संयुक्त आन्दोलन घोषणा गरेका थिए ।

थापाको हत्यापछि तत्कालीन नेकपा एमाले राप्ती अञ्चल समन्वय कमिटी तुलसीपुरले प्रेस विज्ञप्ति जारी गरी थापालाई आन्दोलनका प्रथम शहीद घोषणा गरेको थियो । राप्ती अञ्चल इञ्चार्ज प्रकाश ज्वाला र दाङ जिल्ला सचिव रेवतीरमण शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा शहीद थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो ।

यसैगरी एमाले दाङका सचिव रेवतीरमण शर्मा, नेका दाङका सभापति वीरकेशरी गौतम, नेका प्रजातान्त्रिक दाङका सभापति मोहनलाल ओली, जनमोर्चा नेपाल दाङका सदस्य काशीनाथ पोख्रेल र बाममोर्चा दाङका महेन्द्र कतिलाले संयुक्त प्रेस विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गर्नुभएको थियो । सो शाही सरकारले गराएको नगर निर्वाचनबाट बलिभद्र राणालाई मेयर निर्वाचित भएको घोषणा गरिएको थियो ।

अन्य ठाउँमा झडप, केही घाइते

सरकारद्वारा घोषित नगर निर्वाचनलाई बहिष्कारको नीति लिएका सातदलले सोही दिन घोराहीमा आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गर्दा एकदर्जन नेता कार्यकर्ता घाइते भएका थिए । संयुक्त जनआन्दोलन संयोजन समिति दाङद्वारा निर्वाचनका दिन आयोजना गरिएको शान्तिपूर्ण विरोध ¥याली घोराहीको ट्राफिकचोक, पुरानो बैंकरोड हुँदै तुलसीपुरचोकमा आउँदा प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रहरी हस्तक्षेपबाट नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य शालिकराम भण्डारी, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य सुष्मा शर्मा घिमिरे, एमालेका देवी पोख्रेल, अम्बिका पोख्रेल, एमाले रोल्पाका उपसचिव मानबहादुर बाठा, नेपाली कांग्रेसका बमबहादुर डि.सी., नेपाल महिला संघकी जिल्ला सचिव पुष्पा श्रेष्ठ, सरस्वती गौतम, तीला शाह, रीमा नेपाली, दिलीप पोख्रेल, जितेन्द्र नेपालीलगायतका नेताकार्यकर्ताहरु घाइते हुनुभएको थियो ।

हस्तक्षेपका क्रममा प्रहरीले आन्दोलनकारीले बोकेका ब्यानर, झण्डा खोसेर लगेको थियो भने पर्चाहरु च्यातिदिएको थियो । प्रहरीले तुलसीपुरचोकमा रहेका घरहरुबाट हेरिरहेका सर्वसाधारणलाई समेत ढुंगाले हानेर धपाएको थियो ।

आन्दोलनकारीले प्रहार गरेको ढुंगाबाट तीनजना प्रहरी घाइते भएका थिए । झडपपश्चात् सुपरचोकमा पुगी आन्दोलनकारीले कोणसभा गरेका थिए भने कोणसभालाई नेपाली कांग्रेसका भीमप्रकाश खड्का र एमालेका केशव न्यौपानेले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अनेरास्ववियूका जिल्ला अध्यक्ष विवेक श्रेष्ठले गर्नुभएको थियो ।

Facebook Comments