• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकार महासंघ दाङको साधारणसभाः सञ्चारकर्मी र सञ्चारमाध्यमले पाउने सेवा सुविधा जिल्लाबाट प्रदान गर्न माग




नेपाल पत्रकार महासंघ दाङ शाखाको २८ साधारणसभाले दश बुँदे समसायिक प्रस्ताव पारित गरेको छ । साधारणसभामा महासंघका पूर्वजिल्ला उपाध्यक्ष नरेन्द्रको संयोजकत्वमा सुशील बस्नेत, संगीत बस्याल, नारायणी रजौरे र रञ्जिता शर्मा रहेको मस्यौदा समितिले प्रस्तुत गरेको प्रस्ताव पारिएको हो ।
प्रस्तावको पूर्ण पाठः

नेपाल पत्रकार महासंघ दाङ शाखाको २८ औं साधारणसभाद्वारा पारित समसामयिक प्रस्ताव

१– विश्व समुदायसँगै नेपाल र नेपाली पत्रकार पनि कोरोना संक्रमणबाट प्रभावित भइरहकाले प्रभावकारी उपचारका लागि अग्रपंक्तिमा खट्ने पत्रकारहरुका लागि पहिलो चरणमै कोभिडविरुद्धको खोपको ब्यवस्था गर्न यो साधारणसभा सरकारसँग माग गर्दछ ।

२– विभिन्न बहानामा लामो समयदेखि कार्यरत सञ्चारकर्मीलाई कामबाट निकाल्ने, सेवा सुविधा रोक्ने, न्यून पारिश्रमकमा काम गराउने लगायतका समस्या नरोकिएकाले पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षाका लागि गम्भीर बन्न र सबै सञ्चारकर्मीलाई उचित सेवासुविधासहित पारिश्रमिक उपलब्ध गराउन सञ्चारमाध्यमहरुलाई यो साधारणसभा आग्रह गर्दछ ।

३– प्रदेश र स्थानीय तहहरुमा निर्माण भइरहेका सञ्चार कानून सञ्चारमाध्यम र सञ्चारकर्मीमैत्री नदेखिएको मात्र नभई कतिपय सवालमा संविधानको प्रस्तावनामै सुनिश्चित पूर्ण प्रेस स्वतन्त्रताको प्रावधानसँग बाझिनेसमेत देखिएकाले सञ्चार कानूनलाई सञ्चारमैत्री बनाउन र त्यस्ता कानून निर्माणमा पत्रकारिता क्षेत्रका सरोकारवालाहरुको समेत राय लिने ब्यवस्था मिलाउन सम्बन्धित पक्षलाई यो साधारणसभा आग्रह गर्दछ ।

४– मुलुक संघीयता कार्यान्वायनको चरणमा छ तर सञ्चार क्षेत्रमा अझै पनि संघीयताको अनुभूति नभइहरेको बेला सूचना विभागबाट प्राप्त हुने कतिपय सेवा सुविधा जिल्ला हुलाक कार्यालयबाट प्रवाह गर्ने सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले नीतिगत निर्णय गरे पनि ब्यवहारतः जिल्ला हुलाकहरुलाई त्यस्तो अधिकार प्रत्यायोजन नगरी सामान्य कामका लागि पनि जिल्ला हुलाकबाट लिएका निवेदन प्रदेश र संघमा पठाउने प्रावधान राखिएकाले यस्तो अवरोध हटाएर पत्रकार र सञ्चारमाध्यमले पाउने सम्पूर्ण सेवा सुविधा सबै जिल्ला हुलाकहरुबाट प्रदान गर्ने गरी पूर्ण अधिकार प्रत्यायोजन गर्न यो साधारणसभा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग माग गर्दछ ।

५– स्थानीय तहका सार्वजनिक सूचनाहरु अहिले पनि स्थानीयस्तरका सञ्चारमाध्यममा नदिएर काठमाडौंकेन्द्रित सञ्चारमाध्यममा पठाउने परिपाटीले स्थानीय नागरिक सूचना पाउनबाट वञ्चित भइरहेको, त्यस्ता सूचना बाहिर पठाउने नाममा अनियमितता भइरहेको र स्थानीयस्तरका सञ्चारमाध्यम सूचना प्राप्त गर्ने अवसरबाट वञ्चित भइरहेकाले सार्वजनिक सूचना जिल्लाबाहिर पठाउन रोकेर जिल्लाकै सञ्चारमाध्यममा समानुपातिकरुपमा वितरण गर्ने ब्यवस्था मिलाउन सबै स्थानीय तहसहित सम्बन्धित पक्षसँग यो साधारणसभा आग्रह गर्दछ ।

६– सञ्चारकर्मीको क्षमता बृद्धि तथा सञ्चारमाध्यमको गुणस्तर बृद्धिलगायतका क्षेत्रमा नीति निर्माण र कार्यान्वायनका लागि प्रदेशस्तरमा आम सञ्चार प्रतिष्ठान तत्काल गठन गर्न यो साधारणसभा लुम्बिनी प्रदेश सरकारसँग माग गर्दछ ।

७– लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) तोक्ने प्रदेशसभाको निर्णयको यो साधारणसभा हार्दिक स्वागत गर्दै प्रदेशसभा र प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गर्दछ । साथै प्रदेशसभा, प्रदेश सरकारलगायतका संरचना र सेवा यथाशीघ्र स्थायी राजधानीबाट शुरु गर्न पनि यो साधारणसभा प्रदेश सरकारसँग माग गर्दछ ।

८– दाङमा जुनस्तरमा जनसंख्याको सघनता बढिरहेको छ, त्यसलाई लामो समयसम्म धान्ने गरी समग्र जिल्लाको भौतिक तथा मानवीय विकासको गुरुयोजना बन्न सकिरहेको छैन । भौतिक पूर्वाधार, वस्ती विकास, खेती तथा औद्योगिक क्षेत्रको वर्गीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण, खानेपानी र सिंचाइ, पर्यटन विकासलगायतका क्षेत्रमा जिल्लाको दीर्घकालीन गुरुयोजना बनाएर साझा अवधारणाका साथ अघि बढ्न जिल्ला समन्वय समिति र दशवटै स्थानीय तहलाई यो साधारणसभा ध्यानाकर्षण गराउँदछ । साथै दिगो विकासलाई टेवा पुग्ने गरी पत्रकारिताको क्षेत्रबाट भूमिका निर्वाह गर्न यो साधारणसभा प्रण गर्दछ ।

९– लमही–घोराही–तुलसीपुर सडकलाई २०६५ सालमै मन्त्रिपरिषद् बैठकबाट सहिद कृष्णसेन इच्छुक मार्ग नामाकरण गरिए पनि यसको कार्यान्वायनमा तदारुकता नदेखाउने बरु बेलाबेला यो सडकको अरु नै नामाकरण गर्ने सरकारी निकायबाटै प्रयास गरिएको पाइएकाले नेपाल सरकारको सो निर्णयको पुनःस्मरण गराउँदै सहिद कृष्णसेन इच्छुक मार्ग कार्यान्वायनलाई जिल्लाबासीकै साझा दायित्वको रुपमा लिन राजनीतिक दल, सरकारी निकायलगायत सबैमा यो साधारणसभा आग्रह गर्दछ ।

१०– पछिल्लो समय राष्ट्रिय राजनीतिमा देखिएको संकटले सबै क्षेत्र प्रभावित भइरहेको छ । यसप्रकारको उतारचढावले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिधिनित्वजस्ता उपलब्धि नै संकटमा पर्ने खतरा आउने भएकाले संविधानको सही कार्यान्वायन र गणतन्त्रको रक्षाका लागि यो साधारणसभा सबै पक्षलाई गम्भीर बन्न आग्रह गर्दछ ।

Facebook Comments