• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाविरुद्ध सरकार थप आक्रामक, तेस्रो बरियताका नेता पक्राउ




नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पक्राउ पर्नुभएको छ । बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा‍बाट बुधबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्रचार्यले जानकारी दिनुभयो ।

त्यस क्षेत्रमा चन्द समूहको गतिविधि बढेको थाहा पाएसँगै बिहानदेखि हामीले सर्च अपरेसन चलाइएको र त्यसैक्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सो क्रममा सो समूहले निर्माण गरेको हाइ प्वाइन्टहरु समेत भत्काइएको ललितपुर प्रहरीले जनाएको छ । अग्लो अग्लो ठाउँमा निगरानीका लागि हाइ प्वाइन्टहरु बनाएर ट्रेनिङ सेन्टर सञ्चालन गरेको सूचनापछि गस्ती बढाइएको प्रहरीको दाबी छ । पक्राउ पर्ने बास्तोला विप्लव नेकपाभित्र तेस्रो बरियताका नेता हुनुहुन्छ । पहिलो बरियतामा विप्लव र दोस्रो बरियतामा खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’पछि उहाँ तेस्रो बरियताको नेताको हुनुहुन्छ ।

केही समयअघि सम्पन्न भएको केन्द्रीय समिति बैठकले कमाण्ड संरचना खारेज गर्दै चार सदस्यीय केन्द्रीय सचिवालय बनाएको थियो । त्यसमध्ये बास्तोला पनि एक जना हुनुहुन्छ । केपी ओली प्रधानमन्त्री र रामबहादुर थापा गृहमन्त्री भएपछि विप्लव नेकपामाथि प्रतिबन्ध लगाएर सरकारले दमनको नीति लिएको थियो ।

पछिल्लो राजनीतिक घटनाक्रमसँगै ओली सरकार सबैतिरबाट एक्लो बन्दै गएपछि विप्लव नेकपामाथि संवादको नीति लिनसक्ने राजनीतिक वृत्तमा आंकलन गरिएको थियो । तर, प्रधानमन्त्री ओली र गृहमन्त्री थापा दुबै विप्लवमाथिको दमनको नीति बढाएर लैजाने मनस्थितिमा देखिएको यो घटनाबाट बुझ्न सकिने सो पार्टीका एक नेताले बताए ।

‘केही दिनअघि संवादका लागि सम्पर्कसूत्र स्थापित गर्न आग्रह गरिएको थियो’– एक नेताले भने– ‘तर, तेस्रो बरियताका नेता नै गिरफ्तार गरिएपछि अब संवादको कुनै संभावना रहेन, बरु ओली सरकारविरुद्ध ध्रुवीकरण तीब्र पार्दै प्रगतिशील शक्तिहरुसँगको मोर्चाबन्दी बढाउनेतिर नै हामीलाई यो घटनाले प्रेरित गर्नेछ ।’ पछिल्लो समय विप्लव नेकपाले अन्य क्रान्तिकारी घटकहरुसँग सहकार्य गरेर वैज्ञानिक समाजवादको पक्षमा ध्रुवीकरण अभियान शुरु गरेको छ ।

ओली सरकारको पछिल्लो कदमलाई निरंकुश र फासीवादी भन्दै त्यसको विरुद्धमा खडा गरिएको संयुक्त मोर्चामा विप्लव नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, ऋषिराम कट्टेल नेतृत्वको नेकपा र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रहेका छन् ।

सत्तारुढ नेकपामा आएको विवादसँगै प्रचण्ड–नेपाल पक्ष विप्लव नेकपाप्रति ओली पक्षको तुलनामा लचक देखिएकाले यो पक्षसँग पनि सहकार्यका लागि छलफल हुनसक्ने विप्लव नेकपाका एक नेताले बताए । ‘सबै शक्तिले अघि सारेका रणनीति र कार्यनीतिको समग्र समीक्षा गर्दै क्रान्तिकारी र अग्रगामी शक्तिहरुबीच ब्यापक ध्रुवीकरणको आधार तयार हुँदैछ, बास्तोला पक्राउ प्रकरणलाई पनि हामीले यसैरुपमा बुझेका छौं ।’

Facebook Comments