• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यातायात भाडामा ब्रमलुटः साढे ६ किलोमिटरमा ८५ रुपैयाँ




यातायात व्यवसायीहरुले नोबल कोरोना भाइरसका कारण यातायातमा बृद्धिभएको ५० प्रतिशत भाडा घटेपनि यात्रुसंग मनोमनी ढंगले भाडा असुल्दै आएका छन् । नेपाल सरकारले लडकडाउन खुकुलो पारेसंगै बृद्धिभएको गाडी भाडा घटाएपनि यातायात व्यवसायीहरुले यात्रुहरुसँग मनोमानीत तबरले भाडा उठाउँदै आएका छन् ।

सवारी साधनले जताततै चर्काे भाडा उठाउँदै आएको पनि थुप्रै जनगुनासाहरु सुनिन थालेका छन् । भाडादरको समस्या कुनै एक ठाउँको मात्र नभएर यो देशभरका यात्रुहरुको हो । गृह प्रशासनले तोकेको भाडादर यातायात व्यवसायीहरुले लागु नगर्दा यात्रु वर्गहरु प्रत्यक्ष मारमा परेका हुन् । यस्तो हुनुमा राज्य व्यवस्थाको फितलो नीति नियम तथा नियमन र नियन्त्रण गर्ने सम्बन्धित निकायहरुको बेवास्ता हो । त्यसैको गतिलो उदहरणको पात्र बनेको छ शहिद मार्ग अन्तर्गत पर्ने होलेरी– डुब्रिङ सडकखण्ड ।

रोल्पाको दक्षिणी भूभागको रुन्टीगढी गाउँपालिकामा पर्ने होलेरीदेखि डुब्रिङबसम्म जोड्न मोटर बाटोको भाडादर ८५ रुपैयाँ तोकिएको छ । सवारी साधनले होलेरी–डुब्रिङसम्मको साढे ६ किलोमिटर कच्ची सडकखण्डको भाडादर ८५ रुपैयाँ उठाउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय रोल्पाले तोकेको भाडादर हेर्ने हो भने सवारी साधानले प्रतिकिलोमिटर ५ रुपैयाँ बढी भाडा असुल्दै आएका छन् । भाडाको विषयमा व्यापक जनगुनासो आएपछि प्रशासनले गतवर्ष यातायात व्यवसायीहरुसँग छलफल गरेर भाडादर समायोजन गरेको भएतापनि सवारी साधनले कच्ची सडकमा महंगो भाडा असुल्ने गरेको पाइन्छ ।

कच्ची सडकखण्डको प्रतिकिलोमिटर ८ रुपैयाँ तोकिदिएको भएपनि सवारी साधनले नियम बिपरित भाडा असुल्ने गरेको स्थानीयहरुको गुनासो गरेका छन् । सवारी साधनले होलेरी देखि डुब्रिङसम्मको साढे ६ किलोमिटर मोटर बाटोलाई १०÷११ किलोमिटर छ भनी महंगो भाडा उठाउने गरेको पनि स्थानीयहरुको भनाई छ ।

रुन्टीगढी गाउँपालिका ६ का स्थानीय युवा तथा समाजसेवी कमल बोहराले बसका चालक तथा सह–चालकहरुले महंगो भाडा उठाउदै आएको बताए । सवारी साधनले कच्ची सडक खण्डमा तोकिएको भाडादर भन्दा बढी रकम उठाउँदा आफूहरु प्रत्यक्ष मारमा परेको र यो सरासर नियम विपरित भएको समेत उनले बताए । होलेरी–डुब्रिङ दुरीका हिसाबले नजिक भएको भाडादरको बारेमा बेलाबखत जनगुनासहरु आइरहदा÷गरिहँदा पनि सम्बन्धित निकायहरु भने देखेपनि नदेखजस्तो र सुनेपनि नसुनेजस्तो गरेर बसेको उनको भनाई छ ।

सोही ठाउँका स्थानीय युवा तथा बिहानी जागरण युवा क्लबका अध्यक्ष केशरबहादुर रावतले डुब्रिङ–होलेरीसम्म छोटो दुरी भएतापनि बसको भाडादर यात्रुहरुको ढाड सेक्नेगरी मंहगो भएको बताए । डुब्रिङमा दैनिकजसो फरक–फरक बसहरु आउने भएकाले झनै भाडादरमा एकरुपता नभएको र यात्रुवाहकले यात्रुसँग मनपरी ढंगले भाडा उठाउने गरेको समेत उनले बताए । सवारी साधनको फरक–फरक भाडादरका कारण कतिपय यात्रुहरु भाडा महंगो भयो भनि बसको प्रयोग नगरी पैदल हिड्ने गरेको उनको भनाई छ ।

रुन्टीगढी गाउँपालिका ६ का वडा अध्यक्ष एवं पालिका प्रवक्ता जगतबहादुर घर्तिले सवारी साधनको भाडाको विषयमा एउटा कार्यदल नै बनेर अगाडि बढेको बताए । भाडा सम्बन्धी कार्यदलले पालिकास्तरिय सबै ठाउँको दुरी मापन गरी पालिकामा बुझाएको समेत उनले बताए । सबै सडक खण्डको दुरी मापन विवरण पालिकामा बुझाएको भएतापनि विभिन्न कारणबस छलफलको प्रक्रिया अगाडि बढ्न नसक्दा कार्यान्वयनको पाटोमा लैजान ढिला भएको उनको भनाई छ ।

रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले कच्ची सडकहरुको भाडादर महंगो भएको गुनासाहरु आइरहेको बताए । पालिकास्तरिय कच्ची बाटो सवारी साधनले मनोमानित ढंगले भाडा उठाएको विषयमा यातायात व्यवसायी तथा बस व्यवसायी समितिहरुसँग छलफल र समन्वय गरी तत्काल भाडादर घटाउने उनको भनाई छ ।

त्यसैगरी राप्ती यातायात बस व्यवसायी समिति घोराही शाखा प्रमुख भूपबहादुर रावतले गतवर्ष जिल्ला प्रशासन कार्यालय रोल्पाले तोकेकै भाडादर लागु गरेको बताए । रोल्पामा भाडादर समायोजन गर्ने क्रममा कहिकतै छुटेको भए पुनः भाडादर समायोजन गर्ने पक्षमा आफूहरु सकारात्म नै रहेको उनले बताए ।

रोल्पा जाने बसहरु घोराहीबाट छुट्ने भएकाले हामीले यहाँ प्रायः बुकिङ्गको सहजीकरण गर्ने र भाडादर जलजला व्यवसायी समितिले गरेको प्रस्ताव नै लागु गर्दै आएको र यदि कतै सवारी साधनले महंगो भाडा लिएको भए त्यसको छिट्टै समाधानको पाटोमा जाने उनको भनाई छ ।

उता जलजला बस व्यवसायी समिति रोल्पा जिल्लाका अध्यक्ष तेज बिक्रम रावतले किलोमिटरको हिसाब भाडादर महंगो भएको बताए । रुटपरमिट नभएको ठाउँमा केही प्रतिशत भाडा मंहगो हुने गरेतापनि होलेरी–डुब्रिङको भाडा अनावश्यक मंहगो भएको र त्यसालाई तत्काल यातायात व्यवसायीहरुसँग समन्वय गरी भाडा घटाउने उनले बताए । गतवर्ष जिल्ला प्रशासन कार्यालय रोल्पाले तोकेको कच्ची सडक खण्डामा प्रतिकिलोमिटर ८ रुपैयाँ भाडादर भन्दा बाहिर गएर भाडा लिने गरेको भए त्यो सरासर राज्यको नियम विपरित भएको र सो समस्या चाँडै समाधान गर्ने उनको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राणाले प्रशासनले तोकेको भाडादर भन्दा बढी भाडा उठाउने सवारी साधनलाई कारबाही दाहेरामा ल्याउने बताए ।

भाडाको विषयमा गतवर्ष भएको निर्णय अनुसार शहिदमार्ग बाहेकका सबै कच्ची सडक खण्डमा बसका लागि प्रतिकिलोमिटर ८ रुपैयाँका, साना गाडीका लागि प्रतिकिलोमिटर ८ रुपैया ५० पैसाको दरले भाडा कायम भएको हुँदा नियम विपरित भाडा असुल्ने सबै सवारी साधनलाई कारबाही गरिने र सम्बन्धित यातायात बस व्यवसायीहरुसँग छलफल गरी तोकिएको भाडादर कायम गर्न लगाउने उनको बताए ।

Facebook Comments