• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जब मध्यरातमा गाडीमा च्यापिएका चालकको भयो उद्धारः तीन घण्टापछि पाए लामाले नयाँ जीवन उपहार





कुलदीप न्यौपाने

घोराहीका सक्रिय युवा एवं सिस्ने अनलाइनकर्मी हिमाल महरा गए राति चितवनबाट घोराही आउँदै हुनुहुन्थ्यो । घोराही प्रवेश गर्नैलाग्दा कटुवाखोलानेरको दृश्यले उहाँलाई झस्कायो । रातको ११ बजे चिसो बढिरहेको थियो तर सडकबाट टिप्पर पल्टेको वा कुनै व्यक्ति जीवन रक्षाको माग गर्दै कराइरहेको दृश्यले उहाँ सबै बिर्सेर उद्धारमा लाग्नुभयो तर एक्लै केही लागेन ।

त्यतिबेलासम्म धेरै गाडीका चालक, सहचालक र यात्रु जम्मा भइसकेका थिए तर उद्धार गर्ने आँट कसैलाई आएन । प्रहरीले खबर पाउनका साथ वडा प्रहरी प्रमुख दिनेश रिमाल र जिल्ला ट्रफिकका प्रहरी नायब निरीक्षक उत्तम जिसी घटनास्थलमा पुग्नुभयो । तत्काल अन्कित भाडा पसलबाट क्रेन मगाइयो । गाडीमा च्यापिएका चालकको दुःखाइका कारण चित्कार बढ्न थालेपछि वडा प्रहरी प्रमुख रिमालले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्यकर्मी बोलाएर दुःखाइ कम गर्ने सूइ लगाउन लगाउनुभयो ।

त्यतिबेलासम्म हिमाल महराले फेसबुकपोष्ट गरिसक्नुभएको थियो । सो पोस्ट देखेर हामी पनि केही गर्न सकिन्छ कि भनेर दाई दिपेन्द्र न्यौपाने र म गाडी निकालेर घटनास्थल पुग्यौं । झण्डै एक किलोमिटरको दूरीमा सवारी दुर्घटना भएको र कुनै व्यक्तिको जीवन रक्षाको याचनामा कराइरहेको सूचना पाएर हामी मस्तसँग सुत्न चाहेनौं र चाँडोचाँडो घटनास्थल पुग्यौं ।

हामी पुग्दासम्म केही पनि काम भएको थिएन । कसरी निकाल्ने भन्ने योजना मात्रै गरिदै थियो । गाडी अफ्ट्यारो ठाउँमा भएकाले चापिएको मान्छे निकाल्न निकै गाह्रो थियो, त्यो पनि रातको समयमा ।

क्रेनले तानेर निकाल्न सम्भब नभएपछि ग्रेन्डर मेसिनले चापिएको भाग काट्न लागियो । यतिबेलासम्म रातिको १ बजिसकेको थियो । केही भाग काटेर हाम्रो गाडिमा भएको इलेक्ट्रोनिक चेन पुलीको मद्दतले चापिएको भागलाई छुटाउन सफल भयौं । १ः१५ मा ड्राइभरलाई निकाल्न सफल भयौं ।

गए राति ट्राफिक चोकको कटुवा खोलानजिक दुर्घटनामा गाडीमै च्यापिएका चालक मकवानपुर हेटौडाका सूर्य लामाले यसरी तीन घण्टापछि नयाँ जीवन पाउनुभयो । उहाँ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरी आज घर फर्किसक्नुभएको छ ।

सगरमाथा सिमेन्ट कारखानाको चुन ढुङ्गा बोकेको टिप्पर घोराही नवलपुर जोड्ने पुल नजिक दुर्घटना भएको हो । स्थानीयका अनुसार चालक लामाले मेरो गाडी बिग्रेको छ भाग्नुस है भन्दै बिस्तारै गुडाएका थिए । तर, भन्दाभन्दै गाडी पल्टियो र चालक च्यापिए ।

सहचालक फाङ हाले पनि चालक लामा भने गाडीमै च्यापिनुभएको थियो । प्रदेश राजधानीको जिल्ला सदरमुकामभित्रै दुर्घटना हुँदा पनि उद्धार गर्ने कुनै उपकरण नहुनुको पीडा राम्रैसँग झल्कियो यो घटनामा पनि । धन्न वडा प्रहरी प्रमुख र जिल्ला ट्राफिक प्रमुखको सुझबुझपूर्ण नेतृत्व तथा हामी केही युवाहरुको जोखिम मोल्ने साहसका कारण उहाँको ज्यान बाँचेको छ । अब यसरी स्रोत साधनको अभावमा उद्धार हुन नसकेर कसैले दुःख पाउनु नपरोस् ।

Facebook Comments