• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृषि उत्पादन बढाउन रुकुमपश्चिमको नयाँ कदम, सबै स्थानीय तहले गरे बैंकसँग सम्झौता




रुकुम पश्चिमका कृषकहरुले सहुलियत ऋण पाउने भएका छन् । विभिन्न कृषि उद्यमका लागि जिल्लाका कृषकहरुले विभिन्न बैंकबाट सहुलियत व्याजदरमा ऋण पाउने भएका हुन् ।

कृषिमा व्यवशायिकता बढाउदै उत्पादनमा बृद्धि गर्ने र आयआर्जनमा सुधार गर्न जिल्लाका ६ वटै स्थानीय तहहरुले विभिन्न बैंकहरुसंग सहुलियत ऋणका लागि सम्झौता गरेका छन् । चौरजहारी नगरपालिकाले राष्ट्रिय वाणिज्य बैंक, मुसीकोट नगरपालिका र आठबीसकोट नगरपालिकाले ग्लोबल आईएमई बैंक, बाँफिकोट गाउँपालिका र त्रिवेणि गाउँपालिकाले लक्ष्मी बैंक तथा सानीभेरी गाउँपालिकाले सनराईन बैंक संग सम्झौता गरेका छन् ।

पूर्व गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को पहलमा ६ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले बैंकहरुसंग सम्झौता गरेका हुन् । बैंकहरुले नेपाल सरकार सहुलियत कर्जा प्रवाह सम्बन्धि कार्यविधि २०७७ अनुसार सम्झौता वमोजिम ऋण उपलब्ध गराउने छन् । ब्याजदर बैंक अनुसार फरक फरक हुने छ । ५ देखि १० प्रतिशत व्याजदरमा ऋण उपलब्ध हुने स्थानीय तहहरुले बताएका छन् ।

जिल्लाका लागि कृषि नै समृद्धिको आधार भएकाले कृषिमा लगानि बढाउनका लागि यस्तो कदम लिईएको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए । ‘कृषिबाटै समृद्धिको सपना देखेका छौं, त्यसलाई साकार पार्नका लागि कृषिमा लगानि बढाउन खोजेका हौं,’ उनले भने, ‘सहुलियतमा ऋण लगानि गर्न बैंकहरु तयार भएका छन्, अव कृषिमा लगानि बढ्छ, यसले जिल्लावासीको आर्थिक स्थितिमा सुधार आउँने विश्वास लिएका छौं ।’

एक समुहलाई १० लाख सम्म ऋण

सहुलियत ऋणका लागि ५/५ जनाको सहकार्य समुह गठन गरिने छ । उक्त समुहलाई बढीमा १० लाखसम्म ऋण उपलब्ध हुने आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खवहादुर केसीले बताए । समुहको निर्णय अनुसार उक्त ऋण सदस्यहरुले व्यक्तिगत रुपमा खर्च गर्न पाउँने छ । एक व्यक्तिले २ लाखसम्म ऋण लिन पाउँने नगर प्रमुख केसीले बताए । सहकार्य समुहले कस्ता उद्यम गर्ने हो त्यसका आधारमा ऋण उपलब्ध हुने छ ।

यसरी प्राप्त हुने ऋण उत्पादन मुलक कृषिमा लगानि हुने छ । ‘भैंसि पालन, बाख्रा पालन, तरकारी खेति, वीउ उत्पादन, फलफुल उत्पादन, मसला उत्पादन जस्ता उत्पादन मुलक काममा ऋण लगानि हुने छ नगर प्रमुख केसीले भने ।’ यो ऋण जिल्लाका सबै ३० हजार घरधुरीलाई नै उपलब्ध गराउने गरी सोचिएको स्थानीय तहहरु बताउँछन् । कृषि उत्पादनमा जोडिन चाहने जो सुकैले पनि कार्यक्रम सहित स्थानीय तहमा आएमा उनिहरुलाई ऋणका लागि बैंकमा स्थानीय तहहरुले बैंकमा सिफारिस गरी पठाउने छन् ।

स्थानीय तहले कृषकलाई ऋणका लागि सहयोग गर्नुका साथै कृषकले उत्पादन गरेका उपजको बजारीकरण, मल, वीउ तथा उपकरणमा समेत सहयोग गर्ने जनाएका छन् । ऋण असुलिमा समेत स्थानीय तहले बैंकलाई सघाउने छन् । कुनै समुहले ऋण लगेर फिर्ता नगरेमा समुहमा रहेका सदस्यहरुको चल तथा अचल सम्पतिबाट अथवा सम्झौता अनुसार बैंकहरुले असुल उपर गर्ने छन् ।

कृषि क्रान्तिका लागि यो कदम चालिएको पहलकर्ता प्रतिनिधि सभा सदस्य ‘प्रभाकर’ले बताए । ‘यो ठुलो जोखिम हो, हामिलाई थाहा छ, तर सुनौलो भविष्यका लागि जोखिम मोलेका छौं, हामि सफल पनि हुने छौं, उनले भने ।’ जोखिम छ भनेर हात बाँधेर बस्ने अवस्थामा आफुहरु नभएकाले सिंगो जिल्ला र जिल्लावासीका लागि जोखिम लिएको उनले बताए । यो जोखिमलाई अवसरका रुपमा परिणत गर्दै कृषि क्रान्तिलाई सफल पारी छाड्ने उनको ठोकुवा छ ।

जिल्लाका स्थानीय तहहरुले पनि अप्ठ्याराका विचबाट अगाडि बढ्दै राम्रो प्रतिफल निकाल्न ध्यान केन्द्रीत गर्ने बताएका छन् । मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले परम्परागत कृषिलाई अव आधुनिक र व्यवशायिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । समाजवादको जग निर्माणमा आफुहरु रहेको र कृषिमा सहुलियत ऋणले जिल्लाको कृषिले मुहार फेर्ने उहाँको दाबि छ ।

Facebook Comments