• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपश्चिममा समृद्धिका अभियान थाल्ने यस्तो छ जिससको मार्गदर्शन




स्थानीय तहको निर्वाचन भएको ४२ महिना पूरा भयो । स्थानीय तहका प्रतिनिधिहरुले २०७४ जेठको पहिलो हप्ता पदभार ग्रहण गरेका थिए । ३ नगरपालिकाका प्रमुख\उपप्रमुख, ३ गाउँपालिकाका अध्यक्ष\उपाध्यक्ष, ७३ वडाका अध्यक्ष तथा सदस्यहरु । त्यसको झण्डै ६ महिनापछि जिल्ला समन्वय समिति रुकुमपश्चिमले पनि पूरा पदाधिकारी पाएको थियो ।

जिल्ला समन्वय समितिका पदाधिकारी, नगर\गाउँपालिकाका प्रमुख÷उप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, प्रदेश सभा सदस्य सहितको जिल्ला सभा छ । तीन वर्षको अवधिमा ५ वटा जिल्ला सभा भए । समन्वय समिति प्रमुखको अध्यक्षतामा हुने सभाको पाँचौ बैठकले नीतिगत मार्गदर्शन तय गरेको छ । गत चैत्र १७ र १८ गते सम्पन्न हुनुपर्ने सभा कोरोनाको कारण यही असोज २४ मा सम्पन्न भएको थियो ।

जिल्लाको समग्र विकास र समृद्धिका लागि भन्दै सभाले दुई खण्डमा मार्गदर्शन तयार पारेको छ । खण्ड १ मा २२ बुँदा छन् भने मार्गदर्शन खण्ड २ मा १४ बुँदा छन् । यी सबै बुँदा विकास निर्माणदेखि सामाजिक रुपान्तरणका लागि सहयोगी हुने निष्कर्ष छ । मार्गदर्शनले कोरोना महामारी, विकास निर्माण, सामाजिक चेतनाका विषय उठान गरेको छ । यो शिक्षा, स्वास्थ्य, रोजगारमा केन्द्रीत गरिएको छ । ‘हालसम्मको काम, गतिविधि र विकास निर्माणको गतिलाई ध्यान दिइएर पाँचौ जिल्ला सभाले नीतिगत मार्गदर्शन जारी गरेको छ,’ समन्वय समिति प्रमुख राजकुमार शर्माले भन्नुभयो, ‘यसैमा टेकेर काम गर्ने र समृद्धितर्फ अघि बढ्ने अपेक्षा सभाले गरेको छ ।’ शर्माका अनुसार जिल्लाभरको विकास निर्माण र सामाजिक रुपान्तरणको अभियानमा यही मार्गदशनलाई आधार मानेर सम्पूर्ण गतिविधि गरिने छ ।

मार्गदर्शनमा कोरोनाको प्रभाव बढ्दै गइरहेको अवस्थामा दैनिक जिवन यापनमा सहजता ल्याउन आवश्यक्ता अनुसार टोलैपिच्छे ७ वा, ९ वा ११ घरपरिवार समेटेर महिलाको नेतृत्वमा सहकार्य इकाई बनाएर कार्य सम्पादन गर्ने उल्लेख छ । वडा स्तरमा सरकारको काम र योजनालाई प्रभावकारी बनाउन सामाजिक नेतृत्व निर्माण गर्न सामाजिक रुपान्तरण तथा सुधार समिति र रोजगार, उत्पादन तथा विकास निर्माण समिति बनाएर खटाइने पनि मार्गदर्शनमा प्रष्ट पारिएको छ । सामाजिक रुपान्तरण र सुधार समितिका २० वटा कार्यक्षेत्र तोकिएको छ । सबै कुराको समग्र विकास, व्यवस्थापन र प्रवद्र्धनका लागि कार्यक्षेत्र समेत निक्र्योल गरिएको प्रमुख शर्माले बताउनुभयो ।

पटक पटकको छलफल र भएक गरेका कामको आधारमा जिल्ला सभा यो निष्कर्षमा पुगेको शर्माको भनाई छ । यो समितिले विशेष गरी समाजमा रहेका कुरिती, विकृति, विसंगति निर्मुल, राम्रा, सकारात्मक, प्रेरणादायी कामको प्रचार प्रसार र प्रर्वद्धन गर्ने छ । सबैप्रति सबैले दायित्व बोध गर्ने र त्यसरी व्यवहार गर्ने बानिको विकासलाई पनि यसको कायक्षेत्र भित्र राखिएको छ । समाजका रहेका जातिय, बर्गिय,लिंगिए विभेदको अन्त्य, बाल विवाह, बहु विाह, अनमेल विवाह, महिला हिंसाको अन्त्यका लागि पनि यो समितिले नेतृत्वदायी भूमिका खेल्ने परिकल्पना गरिएको छ ।

यसको साथसाथै हरेक वडा तथा टोलमा रोजगार उत्पादन तथा विकास निर्माण समिति बनाइने छ । यसले आर्थिक उत्पादनसँग जोडिने गतिविधि गर्ने छ । सहकार्य समूह, महिला समूह, कृषि समूह, दलित, महिला, जनजाती तथा बेरोजगार श्रमशक्तिलाई संगठित गरी रोजगार स्वरोजगामा जोड्ने गरी यो समिति परिचालन हुने शर्माले बताउनुभयो । हरेक वडामा १ सय जनाको श्रम सहकारी गठन र परिचालन, युवा एकता संगठनको लागि रोजगार र उत्पादन क्षेत्रको खोजि, आपूर्ति र बजारीकरण, उद्योग स्थापनामा समेत यो समिति सक्रिय हुने परिकल्पना मार्गर्शनले गरेको छ । हरेक समितिमा महिलाको सहभागितालाई बढाउने, दलित, विपन्न तथा पछाडी पारिएकाहरुलाई अवसर दिएर नेतृत्वमा स्थापित गराउने सम्मको सोच मार्गदर्शनले राखेको छ ।

हरेक पालिका तथा वडामा लिइएका लक्ष प्राप्तीका लागि अभियानको घोषणा समेत गरिएको छ । आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरण अभियान तय गरिएको छ । ‘उत्पादन रोजगार एवं आर्थिक विकासका साथ समृद्धितिर अघि बढौं, सामाजिक, साँस्कृतिक रुपान्तरण र विकास गर्दै समाजवादको आधार तयार पारौं’ भन्ने नारा सहित यो अभियान थालिएको हो । अभियानको क्रममा सरकार र सरकारी निकायको संस्थागत कार्यमा सुदृढिकरण, तिब्र आर्थिक वृद्धि र रोजगारी सृजना, सामाजिक, साँस्कृतिक रुपान्तरण, जनदिशा लागु गर्दै जनसम्बन्ध सुदृढिकरण गरिने छ । जनननियन्त्रित सरकार सञ्चालन, गैरसकारी संस्थाहरुको व्यवस्थित र प्रभावकारी परिचालन, अनुगमन, समन्वय र सहकार्य पनि यो अभियानको प्राथमिकतामा छन् ।

जिल्ला सभाले मार्गदर्शन खण्ड २ मा सुझावात्मक कुरा धेरै लेखेको छ । यस अवधिमा भए गरेका कामकाज, काम सञ्चालन, समन्वय, सहकार्यको तौरतरिकापछि सुझाव दिइएको छ । हरेक कामकाजको क्रममा आइपर्ने असजिलालाई सहजिकरणका लागि सभाबाटै नीतिगत मार्गदर्शन मार्फत सुझाव र सल्लाह दिइएको प्रमुख शर्माले बताउनुभयो । जिल्लामा स्थायी माटो परीक्षणको ल्याब स्थापना गर्ने प्रदेश सरकारलाई माग गर्ने, ढुंगा, गिट्टी, बालुको अवैध उत्खनन बन्द गरी सबै पालिकाबाट कानून बनाई कार्यान्वयन गर्ने, मदिरा तथा सुर्तिजन्य पदार्थको उत्पादन र उपयोगलाई कडाई गर्ने, व्यवस्थित वस्तिको विकास गर्ने, मिचिएका सार्वजनि जग्गा तथा सडक खाली गराउने कुरा यसमा उल्लेख छ ।

चालु आर्थिक वर्षमा निर्माण हुने विकासका हरेक योजना आयोजनाको सम्झौता पहिलो चौमासिक भित्र सक्ने, समयमा नीति, नियम र निर्देशिका प्राप्त नहुँदा विकास निर्माण समस्या भएकाले समयमै यी काम गर्नका लागि संघ र प्रदेश सरकारलाई ताकेता गर्ने पनि जिल्ला सभाबाट पास गरिएको मार्गदर्शनमा उल्लेख छ ।

सबै जिल्लाबासीका आर्यआर्जनमा बृद्धि, चेतना निर्माणलाई पहिला प्राथमिकतामा राखेर जिल्ला सभाबाट महत्वपूर्ण निर्णय पारीत भएको प्रमुख शर्माले बताउनुभयो । जिल्ला सभामा सबै पालिकाका प्रमुख\उपप्रमुख, अध्यक्ष\उपाध्यक्ष तथा सांसदहरु समेत रहेकाले यो मार्गदर्शन कार्यान्वयनमा सबैको क्रियाशिलता हुने विश्वास शर्माले व्यक्त गर्नुभयो । जिल्ला सभा, जिल्ला समन्वय समिति र सबै पालिकालाई मार्गदर्शन अनुसार काम भइरहेको छ कि छैन भनेर खरबारी गर्ने अधिकार सम्पूर्ण जिल्लाबासीलाई दिइएकाले यसतर्फ जिल्लाबासी सचेत हुनुपर्ने समेत उहाँले बताउनुभयो ।

तीन वर्षको कामको समिक्षा पछि जिल्ला सभा नीतिगत मार्गदर्शन तय गर्ने त्यसैका आधारमा सम्पूर्ण गतिविधि सञ्चालको निष्कर्ष आएको प्रमुख शर्माले बताउनुभयो ।

Facebook Comments