• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पहिरोले बगायो झुपडीका सपनाः बृद्धबृद्धा र अनाथ बालिका सहाराबिहीन




मलाइ यतिबेला बरोबर नेपाली साहित्यका अग्रणी नाटककार बालकृष्ण समले लेखेका श्लोकहरु ‘दुःखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझै दुःख दे’ को याद आइरहेकोछ ।


हृदयमा लागेकोछ यिनी श्लोकहरु बालकृष्ण समले मात्र साहित्यका लागि लेखेको स्वैरकल्पना होइन । नाटककार समले यी श्लोकहरु लेखिरहँदा नेपालका दुरदराजमा लुकेर रहेका यिनै दुःखी मनुवाहरुको करोडौ पीडाका पोकाहरु फुटेका थिए ।


अझ भन्न मन लाग्छ ती दिनदुखिहरुका दर्दनाक दुखहरु पढेर बालकृष्ण समले यी श्लोकहरु लेखेका हुन् । मानव जीवन हो कसैले सुख मात्र भोग गर्छ भने कसैको निधारमा दुःख बाहेक अरु केही हुँदोरहेनछ । विधिको बिडम्बना वा भाग्यको दोष कसैलाई एक पछी अर्को बज्रपात निरन्तर परिरहने रहेछ ।


दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ सागिनेमा एउटा सानो बस्ति छ । बस्तीको तल्लो छेउ मकै बारीको बिचमा एउटा सानो छाप्रो । त्यहि छाप्रोको नजिकै मुडो सिरानी लाएर अर्धचेत अवस्थामा पल्टीएका छन ६१ बर्षिया वृद्ध बेबुराम नेपाली ।


अलि तल छिमेकीको घरमा अचेत प्राय नै भएर पल्टीएकी छिन उनकी ६० बर्षीय श्रीमती । बेबुलाल पल्टिए नजिकै उनको सानो छाप्रो आधा पहिरोले पुछिएको अवस्थामा छ । त्यो छाप्रो नजिकै बाटुली र उनका छोरीहरुका कपडा र चप्पलहरु यततत्र छरिएका छन् । साँझपख खाना खाएर भोलिलाई माझ्न राखेका जुठा भाँडाहरु पनि यसै छरिएका छन् । घर वरपरको वातावरण स्तव्ध छ ।

कारण आज बेबुलालको घरमा बज्रपात परेको छ । झन्डै एक बर्ष अगाडी आफ्नो बुढेसकालको सहारा छोराले संसार छाडेर गए । छोराले संसार छाडेर गएपनि २ नातिनी र बुहारीको मुख हेरेर बसेका ती वृद्ध दम्पत्तीलाई बाटुलीले दिनभर अरुको काम गरेर दुइ छाक टार्ने गरेकी थिइन ।


पाल्ने सहारा छोराले संसार छाडेर गएको आलो घाउ सुक्न नपाउदै फेरी ती दम्पतीले अर्को सहारा बुहारी र फूल जस्ती नातिनीलाई पनि गुमाएका छन् । अहिले उनको परिवारमा परेको बज्रपात समन गर्न ती दम्पतीलाई निकै कठिन भइरहेको छ ।


सपना जस्तो लाग्छ बेबुलाललाई बुहारी र नातिनीले आफुहरुलाई छाडेर गए भन्ने कुरा । घटना बारे भक्कानिदै भन्छन – ”राती खाना खाएर एकैछिन पारिवारिक कुराकानी गरिउ, अनि खाना खाने कोठामा हामी बुढाबुढी सुतिउ । सानी नातिनी र बुहारी अर्को कोठामा गए ।

राति अलि अबेरदेखि पानी पर्न थाल्यो , लगातार पानी परिरहेपछि केहि हुन्छ कि भन्ने त्रास त लागेको थियो ,त्यस्तै रातको तीन बजेको हुँदोहो, गररको आवाज आयो, कहाँ के भयो भनेर लाइट बालेर बाहिर निस्किए, बुहारी सुत्ने कोठा पुरै पहिरोले पुरिएको थियो, बुहारी र नातिनी जिउदो छैनन् भन्ने लाग्यो अनि, कोठामा गएर बुढीलाई उठाए, घर देखि पर डाँडामा गएर उज्यालो नहुन्जेल बसिरहयौ, जव उज्यालो भयो अनि छिमेकीलाई खबर गर्न गयौ । छिमेकीहरु बिहान ६र७ बजे सम्म जम्मा भए अनि बुहारी र नातिनीको मृत शरिरलाई बाहिर निकाले ।”


भक्कानिदै यी शब्दहरु निकालिरहदा बेबुलालका चाउरिएका गालामा आँसुका धाराहरु बगिरहेका थिए । किशोरावास्था भर्खरै पार गरेकी बाटुली २३ बर्षको अवस्थामा नै बिधुवा भएकी थिइन् । आफ्ना दुइ छोरीहरुको अनुहार हेरेर वृद्धव्रिद्दा सासु ससुरा पालेर बस्ने सहास गरेकी बाटुलीका सपना पनि पहिरो संगै पुछिएर गए ।


हजारौं दुखका पोकाहरु खोल्दै बेबुलाल अगाडी भन्छन – “म सुकुम्बासी हौँ, यो धर्तीमा मेरो आफ्नों नाममा कहिँ कतै एक टुक्रा पनि सम्पति छैन, बिष्टहरुका घरमा सिलाइ गरेर आफ्नो जीवनका ६ दशक काटेको मान्छे म, अब त सिलाउन पनि आँखा देख्दैन के कसरी पेट पाल्ने रु हामी त अब केहि दिनमै भोकले मर्छौं होला ।”
जीवनमा आफ्ना बाआमा को किरिया गरेका बेबुलालले बिधिको बिडम्बना एक बर्ष अगाडी आफ्नो छोराको किरिया बसे अहिले फेरि बुहारी र नातिनीको काज किरिया गर्नु पर्दा आफुलाई संसार कै अभागी ठानेका छन् । तर नियतिको चोट सहनु भन्दा कुनै विकल्प छैन यी वृद्ध दम्पतीको । सहयोगी हातहरुको सहयोगको अपेक्षामा डाँडा माथिको घाम भएर बाँच्ने सहास बटुलेका छन् बेबुलाल ।

पाँच बर्षमै आमा बाबु गुमाइउने एलिसा

यता एक बर्ष अगाडी मात्र बाबु गुमाएकी पाँच बर्षीय एलिसालाई थाहा छैन आफ्नी आमा र बहिनीले पनि उनीलाई छोडेर गए भन्ने कुरा । दुइ दिन अगाडी मात्र आमाले मामाघर पुर्याएर छोडेकी एलिसालाई आमा र बहिनीले सदाका लागि छोडेका हुन् भन्नेकुरा अझैं थाहा छैन ।


केहि दिन मामाघरमा बस्ने रहरले मामाघर आएकी एलिसालाई आफ्ना बाआमा र बहिनीले छाडेर गएपछि अब उनि एक्लै भएकी छिन । राम्रो संग बोल्न नै नजान्ने बाल्यावस्थामा एक्लै भएकी एलिसाको पहिरोले बगाएर आमा संगै बहिनीलाई बगाएपछी सुन्दर भविष्यको सपना पनि संगै बगेको छ ।


नातीनीको भविष्य बारे केहि सोच्ने नसकेका बेबुलाल भन्छन मेरो छोरा र बुहारीको चिनो नातिनीलाई मैले पाल्छु । तर बोलेर मात्र भएन नातिनीको लालानपालन गर्ने र पढाउने कुनै सामर्थ्य छैन बेबुलाल संग ।

शीघ्र राहतले केही सहज
बेबुलालाको हृदय पहिले जस्तै भक्कानिएको छ । उनि निशव्द छन् । केहि बोल्न खोज्छन हृदयबाट मूल नै फुत्दैन । आज बेबुलालाको घरमा चरचरी चिरिएको आलो घाउमा थोरै मल्हम लागेको छ ।


बेबुलालाको घरमा परेको बज्रपातले उनीलाई बाँच्ने आश नै मरिसकेको थियो । अरुले नै दया कृपा गरेर दिएको बारीमा सानो छाप्रो बनाएर बसेका बेबुलालाको परिवारमा अनायासै परेको बज्रले उनि सोच्न सक्ने अवस्थामा नै थिएनन । तर एक्कासी साक्ष्यात भगवान बनेर आए प्रमुख जिल्ला अधिकारी ।


घटना सुने लगतै पीडितलाई राहत उपलब्ध गराउन तदारुकता देखाएका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जिल्लाको बिपत ब्याबस्थापन कोषबाट रु तीन लाख नगद, लत्ता कपडा र चालम तेल लगेर घरमै पुर्याउदा बेबुलाललाई आलो घाउमा मल्हम पट्टीको अनुभूत भएको छ ।


राम्रो संग बोलिनै नफुरेकी टुहुरी नातिनी पाँच बर्षीय एलिसा नेपालीलाई समेत पठनपाठन र रेखदेखको जिम्मा बाल कल्याण समिति मार्फत गर्ने प्रतिवद्दता प्रमुख जिल्ला अधिकारीले गरेपछि बेबुलाललाई प्रमुख भगवान भएर आएको अनुभूत भएको छ ।


यो धर्तीमा आफ्नो वा आफ्ना परिवारको नाममा कहिँ कतै एक टुक्रा सम्पत्ती नभएका बेबुलालालाई आफ्नै गाउँमा जमिन खरिद गरेर घर बनाइदिने प्रमुख जिल्ला अधिकारीको प्रतिबद्दता पछी बेबुलालाको आलो घाउमा थोरै मल्हम लागेको छ । तर पनि ऋण लागोस तर दिन नलागोस भन्ने नेपाली उखान झैं छोरा ,बुहारी र नातिनी गुमाउनुको अकल्पनीय पीडाबाट बेबुलाललाई कहिल्यै तंग्रिन सक्छु जस्तो लागेको छैन ।

Facebook Comments