• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कथाः ९/९९ की मेरी सुत्केरी आमा !




९/९९ अर्थात गर्भमा ९ महिना र आमाको काखमा ९९ दिन हुर्काएपछि मेरी आमाले मलाई छोडेर गएकी हुन् । आमाले छोडेर गएदेखि मेरा आँखा सुत्केरी आमाका स्तनजस्तै विना कारण बेलाबेलामा रसाई रहन्छन् । हो, आमा ! सुत्केरी भएको ९९ दिनमै छोडेर जाने आमा र बच्चा दुबैको पीडा म एक्लै भोगिरहेको छु । तिमिले छोडेर गएदेखि मलाई भेट्न आउने जो कोहीले पनि बिचरा तीन महिनाको दूधे बालक भन्दै ममाथि दया प्रकट गर्छन, जुन कुरा मलाई पटक्कै मन पर्दैन् ।

ममाथि कसैले रिस देखाएको भए, डाहा गरेको भए, म पनि उनीहरुको भन्दा ठूलाठुला आँखाले हेर्ने थिएँ । उनीहरु ममाथि दया, करुण होइन बदलामा डाहा गर्ने थिए । हो, आमा ! कोही मेरो भाग्य सम्झेर मौन रहन्छन् । उनीहरुको आँखामा पनि आँसु छरपस्ट देखिन्छ । तर उनीहरु पनि तिमी जस्तै छन् । आफ्नो बहादुरी देखाउन चाहन्छन्, डाको छोडेर रुन सक्दैनन् । मलाई थाहा छ, उनीहरु पनि मान्छे हुन, उनीहरुको पनि मन छ, आफन्तपन छ ।

हो ! जुन पीडा म आफूले भोगिरहेको छु, त्यो कुरा उनीहरुले फील गर्न सक्दैनन् । देखेकै भरमा आँसु बगाउछन् भने म अनुमान मात्र लगाउन सक्छु उनीहरु आफ्नै पीडाले कति तड्पिएका होलान् ? कति रोएका होलान् ? तिमीले मलाई छोडेर गएदेखि घर परिवारले मात्र होइन, मलाई भेट्न आउने जोकोहीले पनि मलाई मर्नबाट बच्चाउन गाई, भैँसीको दुध लिएर आउछन् । उनीहरुले दिएको दूधले भोक त मेटिन्छ, तर प्यास मेटिदैन । मलाई मेरै आमाको दूध चुसेर प्यास मेटाउन मन छ ।

मेरो यस्तो स्वभाव र यो हालत देखेर मेरा आफन्तको कुरा काट्न नसक्नेहरु मेरो प्यास मेटाउन हिजोअस्ति मात्र सुत्केरी भएकी छिमेकी बच्चाकी आमाको मुख मेरो आमाको तस्बिरले छोपिदिन्छन् । साडी ब्लाउज मेरै आमाको लगाएर मलाई दुध चुसाउन लाग्छन् । अपसोच, मेरा ओठहरु ती महिलाका दूध चुस्न मान्दैनन् बरु काप्न थाल्छन् । मभन्दा दुई बर्षले जेठी मेरी दिदी आमालाई राम्रो सङ्ग चिनेकी छ । म उसको आँखामा हेर्छु, जहाँ एउटा कथाको ठूलो पुस्तक छ । तर, ती आँखा कुनै पनि शब्द बोलिरहेका छैनन् । मेरी दिदी र ती बच्चाकी आमा मात्र होइन, उपस्थित सबै जना मौन रहन्छन् । एकछिनको मौनतापछि म आफै बोल्न शुरु गर्छु ।

मेरो भाग्यमा आमाको दूध चुस्न लेखेको रहेन्छ भने मलाई यसमै छाडिदेउ । तिमीहरुसँग अलिकति भए पनि मानवता छ भने, माया भन्ने छ भने, गाई भैसीको दूध पिलाएर घर न घाटको नबनाउ । तिमीहरु आफुलाई खुब महान सम्झिन्छौ होईन? मेरो आमा पनि म जस्तै तड्पिएकि छन् । सक्छौ भने मलाई मेरो आमा सङ्ग भेट गराईदेउ । म मेरी आमाको काखमा निदाउन चाहन्छु । मेरै आमाको दुध चुसेर प्यास मेटाउन चाहन्छु । मेरी आमा यो संसार छोडेर गएकी छैनन् ।


तिमीहरुले भनेजस्तै ज्यूदी मेरी आमालाई संसार छोडेको कसरी सम्झ्यूँ ?
तिमीहरु समाज नै होइन, मेरी आमालाई म तीन महिनाको हुँदा छोडेर जाने बनाउने ?
कस्तो प्रकृतिको सिर्जना गर्यौ ?
कस्तो समाजको निर्माण गर्यौ ? कस्तो संस्कार बसाल्यौ ?

सुत्केरी आमाको दुध छोराले चुस्न पाएको छैन् । मेरी आमा जँहा छिन्, त्यहाँको समाज पनि तिमीहरु भन्दा कम छैन । कोही आमा मरेको छोरालाई दूध चुसाउन ल्याउँछन त कोही आमा मरेकी गाइको बाछीलाई । हो ! मेरी आमा पनि मजस्तै अटेरी छन् । कसैको भोक मेटाउन उनी पाप गर्न सक्दिनन् । जुन दिन मलाई छोडेर गइन, त्यो दिनदेखि धेरै कुरा बुझेकि छन् । पाप धर्म सोच्न लागेकी छन्, माया ममताभन्दा ठुलो कुरा केही नहुदो रहेछ भन्ने बुझेकी छन् । धेरै दिन भैसक्यो, मेरी आमाका दूध कसैले छुन समेत पाएको छैन ।

सुत्केरी आमाका दूध हुन्, रसाउन छोडेका छैनन् । दुबै स्तन उत्तिकै रसाएका छन् । मेरी आमाको नाइँ नास्ति देखेर कर गरिरहन पनि कसैले सकेनन् । आजभोलि आमाको स्तनबाट दुध आफै बग्छ, जसरी मेरा आँखाबाट क्षणक्षणमा बर्खायामको झरीजस्तै आँशु बगेको छ । थाहा छैन, मेरा कलिला ओठले दूधको साटो आँशुको थोपा चुस्दा स्तनदेखि तल्लो शरीरको कुन कुन भागले आफै रसाउने मेरी आमाको दूधसँगस्पर्श गरिरहेको छ ।

मेरी आमाले मलाई छोडेर जादा म सानै थिएँ । उनले जेजस्तो भने पनि म जवाफ फर्काउन सक्ने थिइनँ । रोइकराई गरेको हुँ । उनीले दूध चुस्न नपाएर कराएको सम्झिन् । म मेरी आमालाई छोड्न नसक्ने भएर छट्पटिएको थिएँ । एउटा तीन महिनाको दूधे बालकका लागि आमा नै सबथोक थियो, आमा नै संसार थियो । तर, उनलाई कुनै प्रवाह थिएन किनकि उनीले जे गरिरहेकि थिइन, त्यो सही छ भन्ने थियो, कमसेकम ती दिनहरुमा ।

आज सबथोक देखेकी छन् यद्यपि फर्किन सजिलो छैन् । मेरी आमा बुझ्ने थिइन, जबसम्म म उनको गर्भमा थिएँ । तर, बिस्तारै तिमी समाजको हावाबाट उनी पनि अछुतो हुन सकिनन् । नौनौ महिना पेटमा बच्चा हुर्काउँदा कति गाहे भयो होला ? कति हेरचाह गर्नु पर्यो होला ? कति दुःख सहनु पर्यो होला ? सबथोक सहेर बसिन् ।

तिमीहरु कति पापी रहेछौ ?
कति निष्ठुरी रहेछौ ?
कति निर्दयी रहेछौ ?


आमाको अनुहार हेरेर तिमी जस्तै बनाउने बेलामा एकचोटी किन सोचेनौ ? मेरी आमाको पेटमा गर्भ छ भनेर ? म हुर्किरहेको छु भनेर ? हुन् त तिमीजस्ता पापी, अपराधि, बैगुणी र मानवता नै नभएको मान्छेसँग गुनासो गर्नुको के अर्थ छ होला र । म गर्भमा नै तुहेको हेर्ने ठूलो रहर थियो होला ताकि तिमीले गाड्ेको गिद्दे नजरमा तिमी सफल हुने थियौं । तिम्रो स्वार्थ पूरा हुने थियो । मेरी आमाले आमा हुनुको र्कतब्य अधूरै राखे पनि ममाथि ठूलो गुण लगाएकी छन् । तिमिहरुले मेरी आमाको गर्भ तुहाउन खोज्दाखोज्दै पनि मलाई जन्म दिएकि छन् । भन्नेहरुले त भन्लान म मेरो बाबाको रगत हो । ठिक छ ! म सहमत छु । तर मेरी आमाविना म रगत नै हुन्थे, यदि आमाले नौ महिना गर्भमा नहुर्काएको भए ।

तिमीहरुले मेरी आमालाई मेरो जन्मपछि पनि छोडेनौ किनकि तिम्रो एक निश्चित स्वार्थ थियो । तिमीहरु चाहन्थ्यौ, म एक आमा गुमाएको टुहुरो भएर बाँचु । तिमीहरुलाई मेरी आमा चाहिएको हो । फकाएर, लोभ लालच देखाएर, अनेक सपना देखाएर या खोसेर जसरी भए पनि तिमीलाई आफ्नो स्वार्थ पूरा गर्नु थियो । तिमीले आफ्नो स्वार्थ पूरा गर्ने सोंचमा मेरी आमा एउटा बच्चाको आमा हुन् भन्ने कुरा पनि किन बिर्सियौ ? एउटी १९/२० वर्षकी तरुणीसँग गर्ने ब्यबहार किन गर्यौं ?

आमा ! तिमीलाई बिहे गर्ने मण्डपको तामझामदेखि केही समय तिम्रो यति धेरै हेरचाह गर्ने छन्कि त्यो तिम्रो कल्पनाभन्दा पनि बाहिरको छ । तर, ती मान्छेको स्वार्थ भनेको तिमीाई बिहे गरेर आफ्नो सन्तानको नासो राख्नु हो । तिमीले समयमै किन बुझिनौ ? आज ममाथि जति ठूलो अन्याय र पाप गरेका छन् भोलि तिमीमाथि पनि त्यस्तै किसिमको ब्यबहार गर्नेछन् । तिमीले समयमै किन सोचेकि छैनौ ? आजको तिम्रो नयाँ घर भोलिको नर्क जस्तै भयो भने ? तिमीलाई के कुराको कमी थियो ? भौतिक सम्पतिले त्यो नयाँ घर यो घरभन्दा सम्पन्न छ होला तर आज तिमीलाई नै सोध्न मन लागेको छ आमा, भौतिक सम्पतिले खुशी मिल्दो रहेछ त ?


तीन महिनाको दूधे बालक छाडेर गएकि तिमी आफैले जन्माएको यो छोरालाई बिर्सिसक्यौ ?
तिम्रो छोरो साथ नपाएर भौता्रिएको छ, एक्लै तड्पिएको छ, तिमी खुशी छौ ?
इज्जत, मान, सम्मानको कुरा गर्ने तिमी आफ्नै निर्णयबाट के सिक्यौ ?
नयाँ घरमा यो सब थोक मिलेको छ ?

प्रश्नहरु यति धेरै छन्कि एकपछि अर्को तछाडमछाड गरेर आउँछन् । धेरै प्रश्नहरुको जवाफ आफैभित्र कुण्ठित गरेर राखेको छु, किनकि आशा छ एक दिन सबै प्रश्नहरुको जवाफ तिम्रै मुखबाट सुन्न पाउने छु ।

हो आमा ! मैले पनि ठूलो भुल गरेको छु । म तिम्रो गर्भमा हुँदा, तिमीलाई अपरिचित मान्छे भेट्न आउदा बेला बेलामा तिम्रो छातिमाथि मेरा हुर्कदै गरेका खुट्टाले हिर्काउनुपथ्र्यो ताकि तिमीले बिर्सने थिइनौ पेटमा बच्चा हुर्किदै छ भन्ने कुरा । गर्भ बसेको १/२ महिनासम्म तिमीले गर्भको महसुस नगरेकि पनि हुन सक्छ्यौ । म पनि त खुट्टाले हिर्काउन सक्ने भइसकेको थिइनँ । हुर्किदै जाँदा म कोमलखुट्टाले हिर्काउनसक्ने अवस्थामा थिएँ । तर मेरी आमाप्रति ठूलो बिश्वास थियो । पेटमा ८/९ महिना पुगेको बच्चाले म हुर्किदै छु भनेर खुट्टाले हिर्काउन जरुरी देखिनँ । त्यति मात्र होइन, आफैलाई जन्म दिन लागेकी मेरी आमामाथि नै शंका गर्नुपर्छ भन्ने कहिल्यै सोचिनँ ।

तर, आज सबथोक भत्किएको छ । पीडा सबैको एक्कै हुदो रहेछ आमा ! कोही आफू जन्मिएको केही दिनमै आमा स्वर्गबास हुनुको पीडाले तड्पिएका छन् । म मेरी आमा यो संसारमा हुँदाहुदै पनि आमा गुमाउनुको पीडाले तड्पिएको छु । छोरालाई जन्म दिने अनि छोडेर जाने मेरी आमा पनि उस्तै । एउटा बच्चाको आमालाई नयाँ दुलही बनाएर आफ्नो घरमा भित्रयाउने ती मान्छे पनि उस्तै ।

हिजो मान मर्यादा र इज्जत सम्झेर पुरानो कपडा लाउँदा र घरकै मिठो मसिनो खादा तिमीलाई गरिब भनी हेप्ने यो समाज पनि उस्तै । आज नयाँ घरमा बस्दा इज्जत र नैतिकतामाथि प्रश्न उठाउने त्यो समाज पनि उस्तै । तिमी यहि धर्तिमा हुदाहुदै पनि म एक टुहुरो भएर बाँचेको छु । तिमीले जे जस्तो गरे पनि मलाई तिम्रो साहृै याद आउछ आमा । तिम्रो याद र मायाले दिनरात तड्पिएको छु । बिछोडको पीडा छोडेर जानेले बुझ्न नसकिने रैछन् आमा ।
आज तिमी जहाँ छ्यौं, त्यहाँ खुशी छ्यौ आमा ?
के तिमीलाई मेरो अलिकति पनि माया लाग्दैन ?
अलिकति पनि याद आउदैन् आमा ?
म कुरेर बसेको छु । एक दिन तिमीलाई मेरो याद आउने छ । मेरो माया पनि लाग्ने छ । तिमी फर्केर पुरानै घरमा आउने छ्यौ ।

Facebook Comments