विभिन्न तीन राजनीतिक दलले घोराहीमा मंगलवार राष्ट्रिय स्वाधीनताको पक्षमा प्रदर्शन गरेका छन् ।
भारतले नेपालको भूभागहुँदै सडक निर्माण गरेर उद्घाटन गरेपछि नेपालमा यसको चर्को बिरोध हुँदै आएको छ । यसैक्रममा राष्ट्रिय जनमोर्चा, नेकपा माले र नेकपा क्रान्तिकारी माओवादीले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।
भौतिक दूरी कायम गरेर तुलसीपुरचोकमा उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए । कार्यक्रमका वक्ताहरुले नेपाली भूभागमा भारतले सडक निर्माण गर्नु अतिक्रमणको नग्न रुप भएको बताएका थिए । अहिले आफूलाई राष्ट्रवादी शक्तिको दाबी गर्ने दलको सरकार रहेकाले यसलाई अवसरको रुपमा लिएर भारतले बर्षौदेखि कब्जामा राखेको नेपाली भूभाग फिर्ता लिनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्यले देशको भूभागमा बिदेशीले परेड खेल्दा नेपाल सरकारले कानमा तेल हालेर बस्न नहुने बताउनुभयो । नेकपा मालेका सचिव नेत्रप्रकाश पाण्डेले यो सरकार राष्ट्रवादी हो भने देशको भूभाग फिर्ता गर्न चेतावनी दिनुभयो ।
नेकपा क्रान्तिकारी माओवादीका सेक्रेटरी रामजी चौधरीले खुट्टा नकमाएर अघि बढ्न सरकारलाई आग्रह गर्दै जनता साथ दिन तयार रहेको बताउनुभयो ।
कार्यक्रम सञ्चालन राजमो दाङका सदस्य सुशील पोख्रेलले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।