कोरोनाका कारण भारतमा अलपत्र परेका नेपाली मजदूरहरुले उद्धार गरेर नेपाल लैजान माग गरेका छन् ।
भारतको हरियाणा राज्यको पन्चकुल्लामा मात्रै साढे दुइ सय नेपाली रहेका छन् । रोजगारीको सिलसिलामा रोल्पा त्रिवेणी गाउँपालिका १५० जना, रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नम्बर ११ मोराबाङका १० जना र दाङका विभिन्न स्थानिय तहमा स्थायीरुपमा बस्ने करिब १०० जना भन्दा बढी मजदूर रहेका छन् ।

भारत सरकारले देशलाइ लकडाउनको घोषणा गरेपछि कामविहीन भएर अलपत्र परेका उनीहरुले तत्काल उद्धारको माग गरेका छन् ।
रोल्पा त्रिवेणी गाउँपालिका ७ का कबिराम डाँगीले २ वर्ष अगाडि नै गएकादेखि लकडाउन हुनुभन्दा केही समय अगाडि मात्र गएका रहेको बताउनुभयो ।
आफू त्यहाँ गएर सबैभन्दा निम्नस्तरको काम होटेलमा भाँडा माझ्नेदेखि घर घरमा पुगेर गाडी सफा गर्ने र कोठीमा खाना पकाउने तथा झाडुपोछा लगाउने काम गर्ने गरेको नेपालीहरु बताउँछन् । यसमा काम हुँदा मात्रै पैसा आउने र कोठा भाडामा बस्नुपर्ने भएकाले अहिले गास, बासको समस्या भएको उनीहरुको गुनासो छ ।

नेपालीहरुले मजदूरी गर्ने होटेलहरु सबै बन्द छन् भने घरमा मालिकहरुले कोरोना भाइरस सङ्क्रमणको डरले काममा राख्न मान्दैनन । अलिअलि पहिले कमाएर बचाएको पैसा पनि डेढ महिना लकडाउनका कारणले बसेर खादा सबै सकिएको उनीहरुले गुनासो गरेका छन् । घरका परिवारले पैसा पठाइ दिन सक्ने अबस्था नभएको र भारतस्थित नेपाली राजदूताबासले पनि कुनै रेस्पोन्स नगरेको नेपालीहरुको गुनासो छ ।
मालिकले दिनरात कोठाभाडा मागेर हैरान पारे पनि आफूहरु तिर्नसक्ने अवस्थामा नरहेको डाँगीले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको डरसँगै गास, बासको समस्या पिरोलिंदा नेपालीहरु निकै पीडामा छन् ।
गुजारा चल्नै गाह्रो भएपछि आधा पेट खाएर बाँच्नुपर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । डाँगीका अनुसार भारतमा कोरोना भाइरसको महामारी छिटै हट्ने सम्भावना पनि छैन, त्यसैले अब नेपाल फर्कनुको विकल्प छैन ।
आफूहरुलाई नेपाल फर्काए निश्चित अवधि क्वारेन्टाइनमा बस्न तयार रहेको नेपालीहरुको भनाइ छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
