विश्व कोरोना भाइरसको संकटसँग जुझिरहेको छ । यो बेलामा अधिकांश जनता लकडाउन पालना गरेर घरभित्रै बसिरहेका छन् तर कसैले त सेवा पनि गरिरहेका छन् । तुलसीपुर बजारस्थित सहुलियत जुस बार एण्ड रेष्टुरेन्टका सञ्चालकद्वय नन्दकुमार डाँगी र भुपेन्द्र डाँगीले यस्तै सेवाको नमूना देखाएका छन् ।

लकडाउन शुरुदेखि उनीहरुले एक हप्तादेखि नियमित दैनिक एकदेखि दुइ सयसम्मलाई खाजा, पानी र जुस खुवाउँदै आएका छन् भने मास्क पनि वितरण गर्दैआएका छन् ।

कोरोनाका कारण विश्वभरि नै संकट आएको र त्यसका विरुद्ध नेपाल सरकार तथा नेपाली जनता पनि लडिरहेकाले यो लडाइलाई सहयोग गर्न आफूहरुले जोखिम लिएर भए पनि यो अभियान चलाएको नन्दकुमार डाँगीको भनाई छ ।

‘हामीले दैनिक एकदेखि दुइ सयसम्मलाई सेवा दिइरहेका छौं’– सडकमा अलपत्र पारेका यात्रुलाई खाजा पानीको अभाव देखेर यो अभियान शुरु गरेका हौं, इम्युनिटी पावर बढाउन पनि सहयोग होस् भनेर जुस पनि दिने गरेका छौं । सडकमा धेरै नागरिक मास्कविना देखेपछि मास्क पनि दिन थालेका छौं ।’

यो सबै सेवा दिन उनीहरुलाई दैनिक १० देखि १५ हजार रुपैयाँ खर्च लाग्छ तर पनि अभियान निरन्तर जारी छ ।

‘पसल बन्द गर्नुपर्दा घाटा छ, चार जना मजदूरलाई तलब र खानपिनको ब्यवस्था आदि छँदैछ तर पनि हामीले यो संकटको बेला केही योगदान गर्नुपर्छ भनेर दैनिक १० देखि १५ हजार लगानी गरेर सेवा गरिरहेका छौं, सामान्य अवस्थामा पैसा त कमाइहालिन्छ तर यस्तो संकट कमै आउने गर्दछ, त्यसैले पनि हामीले यो बेलामा सेवा गर्नुपर्छ भनेर अभियान थालेका हौं’– भाइ भुपेन्द्र डाँगीले भन्नुभयो ।

सडकमा भेटिने धेरै अलपत्र यात्रुले केही दिनदेखि नखाएको बताउने गरेका छन्, जसले गर्दा पनि यी दुइभाइलाई सेवा गर्न अझ उत्प्रेरिरत गरेको छ ।

कोही घरभित्र बस्ने र कोही सडकमा अलपत्र अवस्थामा रहेको देख्न नसकेर पनि उनीहरुले अभियान थालेका हुन् ।

त्यस्तै ड्यूटीमा खटेका सुरक्षाकर्मीलाई पनि सेवा दिने गरिएको छ । ज्यान जोखिममा राखेर सुरक्षामा खटिएका सुरक्षाकर्मीको सम्मानका लागि खाजा, जुस र पानीको ब्यवस्था गरिदिएको नन्दको भनाइ छ ।

हरेक दिन दिउँसो २ देखि ५ बजेसम्म सेवा दिने गरिएको छ । त्यसको तयारीका लागि चार मजदूरसहित उनीहरु विहानदेखि खटिन्छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
